• राजेश मिश्र
प्रीत रङ लहङ्गा, सबुज रङ चोलिया ।
प्रीत रङ लहङ्गा
प्रीत रङ लहङ्गा, सबुज रङ चोलिया ।
लाल रङ चुनरी रङ्गइबो हो रामा, पिया घर अइहे–२
चैत मासे चोलिया रङ्गइबो हो रामा, पिया घर अइहे–२
कर सिङ्गार, आँगन भई ठारी ।
कर सिङ्गार
कर सिङ्गार, आँगन भई ठारी ।
हँसी–हँसी पिया के रिझइबो हो रामा, पिया घर अइहे–२
चैत मासे चुनरी रङ्गइबो हो रामा, पिया घर अइहे–२
यो चैतावर भाकाको लोकगीत हो । वसन्तु ऋतुको प्रभावले सराबोर मनोभाव चैतावर लोकगीतहरूमा प्रशस्त पाइन्छन् । उपरोक्त लोकगीतको पहिलो पङ्क्तिमा एक पत्नीले चैत महीनामा प्रेमको रङमा लहङ्गा, हरियो (सबुज) रङले चोली र रातो रङले दुपट्टा रङ्गाउने कुरा व्यक्त गरेकी छन् । साथै, दोस्रो पङ्क्तिमार्फत उनले चैत महीनामा पतिदेव आउँदा शृङ्गार गरी आँगनमा उभेर हाँसी–हाँसी रिझाउने आशय व्यक्त गरेकी छन् ।
वसन्तभावलाई सम्बोधन गर्ने चैतावर लोकगीतको प्रत्येक शब्द र पङ्क्तिहरू तरङ्ग उत्पन्न गर्ने खालका हुन्छन् । यो तरङ्ग अङ्गअङ्गमा प्रवाहित नहुने कुरै हुँदैन । वसन्त ऋतुमा उत्पन्न हुने भावनात्मक मनोविज्ञान चैतावर गीतहरूमार्फत प्रकट गरिएको पाइन्छ । यी गीतहरू अपवादबाहेक सरल शब्दहरूको संयोजनमा सृजना गरिन्छ । यी गीतहरू केवल गुनगुनाएर पनि यसको भाव स्वयम् महसूस गर्न सकिन्छ ।
होलीको समापनसँगै चैत महीना प्रारम्भ हुन्छ । चैत र वैशाख (मध्य मार्चदेखि मध्य मे) वसन्त ऋतु अन्तर्गत पर्छ । वसन्त ऋतुमा बोटबिरुवाहरूमा नयाँनयाँ पात, कोपिला, फूल र फल अङ्कुरित हुने क्रम शुरू हुन्छ । यस महीनामा मौसम न बढी चीसो, न बढी तातो हुन्छ । ब्रह्म मुहूर्तको शिरशिरे हावासँगै आँपको मोजर, चमेली र महुवा आदि फलफूलको सुगन्धले वसन्त ऋतुको गरिमा व्यक्त गर्छ । यद्यपि चैत महीना हावाहुरीसँगै चट्याड्ढो गडगडाहट र असिना–पानीको प्रकोप उत्तिकै रहन्छ ।
यसैगरी, हिमाली क्षेत्र लालीगुराँस फूलले ढकमक्क हुन्छ । टुसा पलाउने र बिस्तारै फक्रँदै प्राकृतिक स्वरूप धारण गर्ने बेला हो योे । सेताम्य हिमालमा राताम्य लालीगुराँसको आकर्षकले मन लोभ्याउँछ ।
मधेसको सेरोफेरोमा होली पर्वको राति चैतावर गीत गाएर समापन गर्ने परम्परा सदियौंदेखि निरन्तर छ । चैतावर लोकगीत चैत महीनाको आगमनको सूचक र पर्यायवाची पनि हो । हिन्दू पञ्चाङ्ग अनुसार चैत महीनाको कृष्ण पक्ष (१५ दिन) चालू वर्ष तथा शुक्ल पक्षको एकम् तिथिदेखि नववर्षको शुभारम्भ हुन्छ । यो महीनाका अनेक महत्वहरूमध्ये मधेसी लोकजीवनमा “चैता/चैतावर’ लोकगीत अभिन्न अङ्ग मानिन्छ । भोजपुरीभाषीहरूमाझ चैतावर गीतको बिछट्टै महत्व छ ।
एकाध दशक अघिको परिवेश स्मरण गर्ने हो भने चैत महीनामा गाउँगाउँमा चैतावर गीतसङ्गीतको गुञ्ज मनग्यै सुन्न पाइन्थ्यो । गृहस्थ जनजीवन दिनभरि काममा व्यस्त हुन्थ्यो । अनि रातिको बेला खाना खाएर निश्चित स्थानमा लोकगायकहरूको समूह भेला हुन्थ्यो । चैतावर गीतको आनन्दमा सराबोर हुने श्रोताहरूको त्यति बेला बाहुल्यता थियो । मध्यरात्रिसम्म चैतावर गायन–वादन हुन्थ्यो । मनोरञ्जनको अद्भुत परिदृश्य त छँदै थियो, चैतावर लोकगीतहरू स्वछन्द र समग्र समुदाय एकथलोमा बसेर गीतको माध्यमबाट प्राकृतिक गुणको वर्णन सुनेर आनन्दविभोर हुने माहोल थियो ।
चैत महीनामा चराहरूले प्रजननका लागि गुँड बनाउन थाल्छन् । वसन्त ऋतु चरम सीमामा हुने भएकोले यस महीनालाई ‘मधुमास’ पनि भनिन्छ । चैता गायकहरूले चैतावर गीतलाई लोकगीत मान्छन् भने कतिपयले यसलाई शास्त्रीय सङ्गीतको स्वरूप भन्छन् । पुराना पुस्ता होस् वा नयाँ, सबै खाले गायक र श्रोताहरूले अहिले चैतावर गीतको अवस्था पहिले जस्तो नरहेको बताउँछन् ।
वर्तमान समयमा चैतावर गीतको पुस्तान्तरण सुस्त रहेको कुरा स्पष्ट छ । त्यसैगरी, नयाँ पुस्ताका युवाहरूको सामाजिक सञ्जाल र संसाधनमा बढ्दो लिप्तताले परम्परा सङ्कुचित हुँदै गइरहेको तर्क गर्ने जमात पनि छ । उहिले प्रायःजसो गाउँहरूमा चैतावर गाउने मण्डली हुन्थ्यो । तर अहिले बचेखुचेका सीमित गायक र मण्डलीको अस्तित्व रक्षा गर्ने दायित्वबोध नहुँदा भविष्यमा चैतावर माहोल स्मरण गर्नुबाहेक विकल्प नहुने कतिपयको ठहर छ ।
विभिन्न कारणले चैतावर गीत लोप हुने अवस्थामा रहेको कुरा ठम्याउन कठिन छैन । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय लोकसंस्कृतिको संरक्षण गर्ने अधिकार प्रदत्त गरेको छ । यद्यपि अपवादबाहेक मधेस प्रदेशमा स्थानीय लोकसंस्कृतिको संरक्षण गर्ने दायित्व कहालीलाग्दो छ । स्थानीय सरकार सञ्चालन ऐनले समेत प्रत्याभूत गरेको अवस्थामा जनप्रतिनिधिहरू चासोविहीन हुनु विडम्बनापूर्ण दुर्भाग्य हो । यसतर्फ स्थानीय तहहरू चासोशून्य रहेको आममानिसहरूको बुझाइ अकाट्य छ । अन्य जिम्मेवारीसँगै लोकसंस्कृतिको संरक्षण गर्न सकिन्छ । समाजमा संस्कृतिको असीम अनुभूति प्रवाह गर्न सकिन्छ । तर यसको लागि संस्कृतिपरक कर्तव्य आवश्यक हुन्छ ।
एकातर्फ लोकसंस्कृतियुक्त कार्यक्रमहरूको आयोजना नहुने र अर्कोतर्फ भाइरल हुने होड तथा मनोरञ्जनको नाममा सामाजिक मर्यादाविरुद्ध क्रियाकलाप फैलिंदै गइरहेकाले वास्तविक तŒव विलीन हुने क्रम चिन्तनीय छ । त्यस कारण पुख्र्यौली संस्कृति र संस्कार स्थापित गर्नको लागि स्थानीय तहहरूले आलोपालो यस्ता कार्यक्रमहरूको आयोजना गर्नु नितान्त जरुरी छ । पर्सा जिल्लाको कुरा गर्ने हो भने यहाँ १४ वटा पालिका छन् । एक महीनामा एकपटक यस्ता कार्यक्रमको आयोजना गरे पनि एउटा पालिकाको पालो १४ महीनामा एकपटक आउँछ । सरोकारवाला सबैले आफ्नो मौलिक संस्कृतिप्रति छातीमा हात राखेर एकपटक सोचौं त ।
कानून छ तर कार्यान्वयन गर्ने चासो अपवादबाहेक छैन । तर हामीले सकारात्मक भएर सोच्ने हो भने आँट गरे अवश्य हुन्छ । यसो भयो भने संस्कृति मात्र जोगिंदैन, बरु नयाँ पुस्तामा संस्कृतिप्रति प्रेमभाव अङ्कुरित र हस्तान्तरण हुने सम्भावना प्रबल हुन्छ । मानवीय स्वभाव अनुसार हामी जे बढी देख्छौं/सुन्छौं त्यसैप्रति मानसिकता एकाकार हुन्छ, चाहे त्यो सकारात्मक होस् वा नकारात्मक । अहिले त्यसै भइरहेको अवस्था छ, सकारात्मक मनोरञ्जनप्रति कसैको चासो छैन भने नकारात्मक मनोरञ्जनको प्रभाव समाजमा हाबी हुँदै गइरहेको अवस्था छ ।
यसै सेरोफेरोमा गरिएको कुराकानीको संक्षिप्त अंश प्रस्तुत छ :–
उपेन्द्र उज्ज्वल (लोकगायक)
“बितले फगुनवा से हो चइता अइले हो रामा,
सखिया सहेलिया खेलेली झाका झुमर हो रामा…।”
उपरोक्त गीत पुस्तान्तरण हुँदै आएको र गाउँघरमा प्रचलित चैतावर गीत हो । नेपालको दक्षिणी भूभाग र छिमेकी भारतको बिहार तथा उत्तर प्रदेश राज्यमा चैता, चैती र चैतावर भनिन्छ । यी गीतहरूले मुख्यरूपमा वसन्त ऋतु र चैत महनिाको महिमा वर्णन गर्छन् । पुस्तान्तरण हुँदै आइरहेको एक अर्को चैतावर गीत छ–
“हम तोहसे पुछेनी छोटकी ननदिया हो रामा,
चोलिया के बानवा से, हो कइसे टुटले हो रामा…।”
चैतावर गीत प्रायःजसो ‘दीपचण्डी’ वा ‘रागताल’मा गाइन्छ । तर कतिपय गायकहरूले ‘सितारवाणी’ वा ‘जलाद त्रिताल’मा पनि गाएका छन् । आधुनिक समयमा यो परम्परा विलुप्त हुँदै गएको अवस्था छ । उहिले गाउँघरमा चैता जमघट हुने गरेको थियो । त्यहीं जमघटबाट नयाँ पुस्तामा चासो जागृत र समयक्रमसँगै हस्तान्तरित हुन्थ्यो । अहिले संस्कृतिभित्रको क्रियाकलापमाथि संस्कृतिबाहिरका क्रियाकलापहरू हाबी हुँदै गएका छन्, जुन रोकिनुपर्छ । चालकविहीन गाडीझैं वर्तमान अवस्था छ । त्यस्तो गाडीको न दिशा न गतिको ठेगान भएझैं लोकसंस्कृतिको संरक्षण पनि दायित्वविहीन अवस्थामा छ । स्थानीय गायक र गीतको मनोबल बढाउने प्रवृत्ति शून्य अवस्थामा छ । चैतावर गीतहरूको सङ्कलन र संरक्षणका साथै नयाँ पुस्तामा ऊर्जा प्रवाह हुने गतिविधि वाञ्छनीय हुन्छ । यस कुरामा स्थानीय तहलगायत चौतर्फी सहयोग र सहकार्यको खाँचो छ । यसप्रति स्थानीय तहका जिम्मेवार जनप्रतिनिधिहरूले कर्तव्यबोध गर्नु वाञ्छनीय हुनेछ ।
आमोद गुप्ता, (अध्यक्ष, भोजपुरीया उडान)
चैतावरका अनेक गीतहरू छन् । बाल्यकालदेखि गाउँघरमा सुन्दै आइरहेका गीत अहिले न्यून हुँदै गइरहेको अवस्था छ । चैत महीनामा राम जन्मजयन्ती मनाइने भएकोले चैतावरको विरह गीतसँगै सीताराम, राधाकृष्ण र शिवपार्वतीको वर्णनसमेत सुन्न पाइन्छ । जस्तै “शिवबाबा गइलें उत्तरी बनिजिया, लेअइले भँगिया धतुर्वा हो रामा” निकै चर्चित चैतावर गीत हो । लोकगीतहरू प्रायःजसो पुस्तान्तरण हुँदै आइरहेकाले गीत कसले र कहिले सृजना गरेका हुन् भन्ने कुरा ठम्याउन मुश्किल छ । यद्यपि सरोकारवाला निकायहरूले यसको सोधीखोजी गरी लुप्त कृतिहरूको संरक्षण गर्ने दायित्वबोध हुनु जरुरी छ ।
चैतावर गीतमा अचम्मको लय पाइन्छ । यो पढ्नुभन्दा पनि गायकहरूको स्वर र वाद्ययन्त्रको तालमा सुन्दा असाध्यै कर्णप्रिय लाग्छ । हारमुनियमको सुर र ढोलकको तालमा चैतावर गीतको तरङ्ग कान हुँदै मुटुभित्र प्रवेश गर्न बेर लाग्दैन । यस्तो गीतले असीम आनन्द प्रदान गर्छ । यसको संरक्षण र संवद्र्धनतर्फ स्थानीय तहले दायित्वबोध गर्नुका साथै सामाजिक सक्रियता अपरिहार्य छ । अर्को कुरा पालिकाले बेलाबेला लोकगायकहरूको जमघट गराउनुका साथै गायन, वादन कार्यक्रमको आयोजना गर्नुपर्छ ।