मरणोपरान्त आँखा दान गरेका दुईजनाको आँखाको नानीबाट अर्का दुईजनाले संसार हेर्ने अवसर पाउँछन् । रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालको प्राविधिक टोलीले मरणोपरान्त आँखा दान गरेकी ८४ वर्षीया गङ्गादेवी कादमियाको फागुन २८ गते र त्यसअघि फागुन २३ गते वीरगंज महानगर–९ का ६० वर्षीय अशोककुमार शर्माको आँखाको नानी निकालेको थियो । दुवैजनाले मरणोपरान्त आँखा दान गरेकाले उनीहरूको परिवारका सदस्यहरूले मृतकको इच्छा पूरा गरेका हुन् । आँखा दान गर्नेहरूको सङ्ख्या थुप्रै छ । जीवित रहँदा आँखा दान गर्नेहरूको तथ्याङ्क अद्यावधिक नभएकोले आँखा दानको सङ्ख्यामा वृद्धि हुन नसकेको हो । एकताका आँखा दान गर्ने अभियान सञ्चालन गरिएको थियो । सो अभियानमा थुप्रैले मरणोपरान्त आँखा दान गर्ने इच्छा देखाएका थिए । अहिले मरणोपरान्त आँखा दान गरेकाहरूको कुनै पनि संस्थासँग तथ्याङ्क छैन । तथ्याङ्क अद्यावधिक भएकाहरूका परिवारका सदस्यहरूले पनि मृतकको इच्छा अनुसार आँखा दान कार्यलाई प्राथमिकता दिएको पाइँदैन । त्यसैले मृत्यु भएका व्यक्तिको बारेमा आँखा अस्पताललाई सूचित गर्ने, आँखाको नानी निकाल्न सहयोग गर्ने जस्ता कामहरू यदाकदा मात्र भएको सुन्न पाइन्छ ।
पछिल्लो समय यसै महीनाको एक साता अवधिमा आँखा दानका दुईवटा समाचार प्रकाशित भए । लामो समयको अन्तरालमा आँखाको नानी निकालिएको स्वयं रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालका प्राविधिकहरू बताउँछन् । अहिले पर्सा जिल्लामा एकपछि अर्को आँखा अस्पताल सञ्चालनमा आएका छन् । उनीहरूको एकमात्र लक्ष्य मुनाफा मात्र कमाउनु रहेको छ । भारतबाट आँखाका बिरामीहरू बढी मात्रामा आउने र उनीहरूको आँखाको शल्यपरीक्षण गर्दा बढी मुनाफा आर्जन हुने भएकोले केही वर्ष अघि एकपछि अर्काे आँखा अस्पतालहरू खुले । यस अवधिमा खुलेका आँखा अस्पतालहरूले आँखा दानको अभिभारा भने ग्रहण गरेका छैनन् । मोतीबिन्दुका बिरामीहरू लक्षित आँखा अस्पतालहरूको सेवा छ । सबैभन्दा पुरानो नारायणी अस्पतालको आँखा अस्पतालले पनि अहिलेसम्म यो कार्य गरेको छैन । आँखा दान गर्नेहरूको आँखाको नानी सञ्चय गर्ने बैंकको पनि मधेस प्रदेशमा अभाव छ । अहिले यहाँ हुने गरेका आँखादानका घटनामा आँखाको नानी राख्न तिलगङ्गा आँखा अस्पतालको सहारा लिनुपरेको छ । जसरी रक्तदान महादान हो, त्यसरी नै मरणोपरान्त गरिने अङ्गदानहरू पनि महादान नै हुन् । नेपालमा अहिले आँखा, मिर्गौला, कलेजो र फोक्सो दान गर्ने बढ्दो छ ।
मिर्गौला दानको लागि परिवारका तीनपुस्तेमध्ये हुुनुपर्छ । अन्यले मिर्गौला दान गर्न सक्दैनन् । तर आँखा, कलेजो, फोक्सो भने जोकोहीले जोकोहीलाई रगत सरह दान गर्न सक्छन् । रगतबाहेक आँखा, कलेजो र फोक्सो दान मरणोपरान्त गरिन्छ । मस्तिष्क मृत्यु भएका तीनजनाको कलेजो र फोक्सो नेपालमा प्रत्यारोपण भएको छ । दुर्घटनामा परेका मानिसहरूमध्ये मस्तिष्क मृत्यु भएकाहरूको अङ्ग प्राविधिक सल्लाहमा प्रत्यारोपण हुन सक्छ । नेपालमा बर्सेनि हजारौं मानिसको दुर्घटनामा मृत्यु हुने गर्छ । त्यसमध्ये आधा मानिसको मस्तिष्क मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ । तर यसरी मृत्यु भएकाहरूको मिर्गौला, कलेजो र फोक्सो प्रत्यारोपण हुन सक्छ तर अहिलेसम्म यो अभ्यासमा पनि हामी सफल हुन सकेका छैनौं ।