लहान (सिराहा), ७ भदौ/रासस
आशादेवी पासवानलाई अचेल सबेरै घाम झुल्किनुभन्दा अगाडि आँखा मिच्दै साथीहरूलाई जम्मा गरी हुल बाँधेर खुट्टी खोलाको किनारमा शौच गर्नुपर्ने विवशता हटेको छ । घरनजीकै सामुदायिक शौचालय बनेसँगै सिराहाको लहान नगरपालिका–५ बलुवा टोलकी आशादेवीजस्तै यहाँका नागरिकको दैनिकीमा परिवर्तन आएको छ ।

आफ्नै टोलमा बनेको शौचालयमा सुरक्षितरूपमा दिसापिसाब गर्न पाएपछि आशादेवी बाहिर शौच गर्नुपर्ने चिन्ताबाट मुक्त भएकी छन् । अलि पर खोला किनारमा बिहान झिसमिसेमैं शौच गर्न जाँदा लाग्ने समय अब उनी घरधन्दामा बिताउँछिन् । सामुदायिक शौचालय बनेपछि आशादेवीजस्तै मुख्यगरी यहाँका गृहिणी महिलाको समयको बचत मात्र भएको छैन, कसैले देख्छ कि भनेर किस्ताबन्दीमा डराइडराइ दिसा बस्नुपर्र्ने बाध्यता पनि हटेको छ ।

सतचालीस परिवार बस्दै आएको बलुवा टोलमा अधिकांश व्यक्ति सुकुमबासी दलित समुदायका छन् । उनीहरूसित न शौचालय बनाउने जग्गा छ, न त लगानी गर्ने पैसा । “घरमा शौचालय नहुँदा धेरै दुःख भोग्नुपर्ने बाध्यता थियो । झिसमिसे अँध्यारोमैं खुला दिसा बस्नुपर्दा कीरामिरा तथा सर्पको डर थियो,” आशादेवीले भनिन्, “अझ झरी पर्दा र खोलामा आएको बाढीले त झन् शौच गर्न कहाँ जाने होला भन्ने चिन्ता हुन्थ्यो । अब नजीकै शौचालय बनेपछि यो समस्याबाट मुक्ति पाइयो ।”

‘वाटर एड नेपाल’को प्राविधिक सहयोग र दलित जनकल्याण युवा क्लब, लहान नगरपालिका, नेपाल खानेपानी संस्थान, लहानको संयुक्त साझेदारीमा सञ्चालित ‘विकन परियोजना’अन्तर्गत टोलमा सामुदायिक शौचालय सञ्चालनमा आएपछि बाहिर खोला किनारतिर खुला शौच गर्नुपर्ने बाध्यताको अन्त्य भएको हो ।

चार वर्षअघि नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरियो । खुला दिसामुक्तको मानक पूरा गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश भनी घोषणा गरिए पनि त्यसले मधेसका दलित तथा गरीब बस्तीलाई छुनै सकेन । लहान वडा नं ५ का निवर्तमान अध्यक्ष मोहम्मद सुलेमान अन्सारी भन्छन्, “यस समुदायमा सबै सुकुमबासी छन् । उहाँहरूसँग जग्गा अभावले घरमा शौचालय बनाउने कुरा भएन । नदी किनारमा खुला ठाउँमा शौच गर्न बाध्य थिए । यो ठाउँमा सामुदायिक शौचालय बनाइदिनुप¥यो भनी नगरपालिका र विभिन्न सङ्घसंस्थालाई बारम्बार अनुरोध गरिरह्यौं र अहिले आएर हाम्रो पहलकदमी सार्थक बनेको छ ।”

यसअघि टोलवासीले शौचालय बनाइदिने आश्वासन मात्र पाएका थिए । “जो आए पनि नाम लेखेर जान्थे,” स्थानीय नीरादेवी पासवानले भनिन्, “टोलमा घरभन्दा राम्रो शौचालय बन्छ होला भनेर त सोचेको पनि थिइनँ । टोलमा कसैले घर दिन्छु, कसैले घरैघर चापाकल दिन्छु भन्थे, तर उहाँहरूले (दलित जनल्याण) त साँच्चिकै नै यति राम्रो चर्पी बनाइदिनुभयो,” खुशी हुँदै उनले भनिन् ।

स्थानीयका अनुसार पहिला–पहिला बलुवा टोलमा मुख छोपेर हिंड्नुपर्ने अवस्था थियो । नदीको किनारमा एक लाइनमा महिला तथा अर्को लाइनमा पुरुष शौच गर्न बसेका हुन्थे । पहिले जताततै दिसापिसाब मात्र देखिने बलुवा टोलमा शौचालय बनेपछि गाउँँ सफा भएको छ । सरसफाइले स्थानीयको स्वास्थ्यमा सुधारसमेत आएको छ । शौचालय अभावमा घरवरपर जथाभावी दिसापिसाबका कारण झाडापखाला, आउँ, टाइफाइडलगायत रोगले सताउने भएपनि अहिले कमी आएको स्थानीय बताउँछन् ।

दलित हकअधिकारको क्षेत्रमा काम गर्ने दलित जनकल्याण युवा क्लबले गरीब, निमुखा र दलितको जीविकोपार्जनको लागि विगतदेखि नै उल्लेखनीय कार्य गर्दै आएको बताउँछन्, क्लबका कार्यकारी निर्देशक विनोदकुमार विसुन्के । दलित बस्तीमा शौचालयको अभाव देखेपछि उक्त समस्यालाई सामधान गर्न उक्त कार्य अगाडि बढाएको उनले जानकारी दिए ।

लहान–५ का अध्यक्ष मोहम्मद अब्दुल करिमले शौचालयको अभावमा खुला ठाउँमा शौच गर्न बाध्य र समाजमा पछाडि पारिएको यस क्षेत्रलाई आफ्नो पहिलो प्राथमिकतामा राखेर काम गरिएको बताए । सामुदायिक शौचालय तयार भइसकेपछि लहानका प्रमुख महेशप्रसाद चौधरीले भने, “घरभन्दा राम्रो शौचालय बनेको छ, यसको संरक्षण गर्नु हामी सबैको जिम्मेवारी हो ।”

शौचालय अपाङ्गतामैत्री छ । १४ वटा शौचालय ४७ परिवारले प्रयोग गर्छन् । उनीहरूले ‘बलुवा टोल सामुदायिक शौचालय मर्मतसम्भार समिति’ गठन गरेका छन् । शौचालयको स्थायित्वका लागि भन्दै प्रयोगकर्ताले मासिक शुल्क प्रतिघर रु एक सयका दरले सङ्कलन गर्ने गरेको र उक्त रकम शौचालयमा प्रयोग भएको बिजुलीको महसूल तिर्न तथा शौचालय व्यवस्थापनमा खर्च गरिने समितिका सचिव किरणकुमारी पासवानले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here