सर्लाही, ७ भदौ/रासस
सर्लाहीको बाग्मती नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयले शिक्षासँगै सीप र स्वरोजगारमूलक कार्यक्रम सुरुआत गरेका छन् ।

‘सीपविनाको शिक्षा ज्योतिविनाको आँखा’ जस्तै हुने जनाउँदै बाग्मतीका सामुदायिक विद्यालयले शिक्षासँगै सीप र स्वरोजगारमूलक कार्यक्रम शुरू गरेको जनजागरण माविका प्रधानाध्यापक बद्रीप्रसाद पोखरेलले बताए । उनका अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालन भएका विद्यालयले पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत पशुपालन तथा कृषिजन्य पदार्थको उत्पादनमा विद्यार्थीलाई जोडेका छन् भने अन्य विद्यालयले आफैंले नयाँ खालका सीप विकासका कार्यक्रम सञ्चालन गरेका हुन् ।

सो कार्यक्रम अन्तर्गत कुखुरा तथा खसी पालन, तरकारी तथा फलफूल उत्पादनका साथै च्याउ उत्पादन गर्ने कार्यक्रम सञ्चालन भइरहेका र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागू हुन बाँकी रहेका विद्यालयमा गमला बनाउने, पातका टपरी बनाउने, सिलाइकटाइ लगायतका सीप विकास र अर्थाेपार्जनका कार्यक्रम शुरू गरिएको बाग्मती नगरपालिकाको शिक्षा शाखा प्रमुख मीनप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार सैद्धान्तिक शिक्षाले मात्र बालबालिकालाई दक्ष बनाउन नसकिने भएकाले सीप र स्वरोजगारसहितको व्यावहारिक शिक्षामा बाग्मती नगरपालिकाभित्र रहेका माविस्तरका सामुदायिक विद्यालयले चासो राखेका हुन् ।

सोही कार्यक्रम अन्तर्गत रहेको पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत केही विद्यालयमा यस्ता कार्यक्रम सञ्चालन भएका छन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालन नभएका विद्यालयले आन्तरिक व्यवस्थापनमा स्वरोजगारमूलक तथा सीपमूलक कार्यक्रम शुरू गरेका नगर शिक्षा शाखाका ओमबहादुर कार्कीले बताए ।

जनवाल कल्याण माविले पहिलो चरणमा कक्षा ६ देखि १० सम्मका इच्छुक १५ जना विद्यार्थीलाई शिक्षासँगै सीप र आयआर्जनमा जोडेको प्रधानाध्यापक प्रकाशबहादुर जिम्वाले बताए । जनवाल कल्याण माविले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि पटकपटक फाराम भरेको भएपनि स्वीकृत नभएपछि विद्यालयले आफ्नै पहलकदमी र आन्तरिक व्यवस्थापनमा सीपमूलक कार्यक्रम शुरू गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टङ्कबहादुर बोहराले बताए । उनका अनुसार छात्रछात्रालाई सिमेन्टेड गमला निर्माण गर्न सिकाउन थालिएको हो ।

विद्यालयका छात्रछात्राले तयार गरेको गमला गाउँँघरमा बिक्री वितरण गरिने र बाँकी रहे नगरपालिकाको समन्वयमा बजार व्यवस्थापन गर्ने आश्वासन शिक्षा शाखा प्रमुख उपाध्यायले बताए ।

यस किसिमको अध्ययन–अध्यापनले विद्यार्थीलाई व्यावहारिक ज्ञान र सीप प्राप्त गर्न सहज हुनुका साथै उनीहरूले पढ्दै कमाउँदै गर्दा आम्दनीसमेत गरिरहेका बाग्मती नगरपालिकाका उपप्रमुख लीलाकुमारी मोक्तानले बताइन् । गरीबका छोराछोरी पढ्ने सामुदायिक विद्यालयमा कापीकलमसमेत किन्न नसक्ने अवस्थाका अभिभावकलाई यस प्रकारका कार्यक्रम सञ्चालन हुँदा निकै राहत मिल्ने उनको भनाइ छ ।

नगरपालिकाले योजना नै बनाएर नगरको शिक्षाको गुणस्तर सुधार गर्नुका साथै विद्यार्थीलाई सीप र आयआर्जनसँग जोड्ने काम शुरू गरेको बाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापाले बताए । उनका अनुसार कोरा किताबी ज्ञानले सीप नसिकाउने र सीप नसिके आयआर्जन नहुने हुँदा नगरका हरेक मानिसलाई आफ्नो क्षमता अनुसारको आयआर्जनमा जोड्ने योजना नगरपालिकाले बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here