पर्साका सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको ४४ वर्षको कलिलो उमेरमा निधन भयो । उनको निधन यस कारण स्तब्धताको कारण बन्यो कि उमेर कलिलो, हँसमुख, राम्रो कामलाई सघाउने भनेर होइन कि बुझेर सहयोग गर्न तत्पर रहने स्वभावले गर्दा । फेरि प्रतीक परिवारका लागि यो बज्रपात सरह नै भयो । एक दिनअघि मात्र उनले प्रतीकको वार्षिक समारोहको विशिष्ट अतिथिको रूपमा पुरस्कार वितरण गरेका थिए । एक दिन मसँग भनेका थिए, तपाईंहरूको ज्येष्ठ नागरिक पार्कमा खरपातहरू निकै उम्रेका रहेछन्, म जवानहरूलाई पठाएर सफा गर्न लगाइदिन्छु । मैले नाइँ भन्दा एक छिन खिन्न देखिए । मैले उनको शङ्का समाधान गर्दै भनें–महानगरपालिकाले त्यहाँ दुईजना पाले खटाएको छ, यो उनीहरूको काम हो । तपाईंले सहयोग गरिदिंदा उनीहरू अल्छी बन्छन्, फेरिफेरि जवानहरू आइदिऊन्, सफा गरिदिऊन् भन्ने बानी बस्छ । अनि उनको अनुहारमा सन्तुष्टि देखिएको थियो । प्रहरी भन्नेबित्तिकै, त्यो पनि सशस्त्र (अर्थात् दङ्गा प्रहरी) मानिसमा एउटा कठोर छवि बन्छ, त्यसविपरीत प्रउ सुमनमा कुनै समाजसेवीको झझल्को पाइन्थ्यो ।
मुखले कसैको प्रशंसा गर्नुभन्दा सरोकार भएको व्यक्तिको भावनाको कदरजस्तो मानवीयता केही होइन । सबैलाई कम्तीमा वीरगंजवासीलाई थाहा भएको कुरा हो, ज्येष्ठ नागरिक सङ्घ वा प्रतीक र प्रतीक संलग्न रहेको कुनै पनि कार्यक्रम समयमा शुरू हुन्छ । म प्रायः भन्ने गर्थें यो कार्यक्रममा सहभागीहरूको सदाशयता हो । हामीले यसका लागि विशेष अनुरोध गर्नुपर्दैन । त्यस दिन अर्थात् उनको निधनको एक दिन पहिले ९ः३० बजे प्रतीकको वार्षिकोत्सव थियो । त्यसै दिन बिहान ८ देखि ९ बजेसम्म ज्येष्ठ नागरिकको स्वास्थ्य परामर्श कार्यक्रम पनि थियो । तर प्रेषणकर्ताले भूलवश कसैकसैलाई ९ बजेको समय लेखेर ह्वाट्सएप गरिदिएका रहेछन् । ९ बजेको खबर प्रउ सुमन र प्रजिअ हीरालाल रेग्मीलाई प्राप्त भएको रहेछ । म बाहिर निस्कँदा ८ः५७ भएको थियो । मुसुमुसु हाँस्दै दुवै अधिकारीले मलाई अभिवादन गर्दा मैले समय त ९ः३० हो भनें । थपलिया सरले होइन, हामीले ९ बजेको निम्ता पाएका छौं । ल, ल कार्यक्रम शुरू गरिहाल्नुप¥यो । द्विविधा थियो मेरोअगाडि । मुख्य अतिथि थिए, वीरगंजका मेयर र उनलाई त मैले नै फोनबाट ९ः३० को खबर गरेको थिएँ । मेयर भनेपछि राजनीतिक व्यक्ति, ढिलो हुनु स्वाभाविक ठानेको थिएँ । लाचार कार्यक्रम शुरू गरियो, यस आशयका साथ कि आधा घण्टा त गफ गरेरै बिताइदिन्छु । भयो पनि त्यस्तै र मेयर राजेशमानजीको उपस्थिति पनि ठ्याक्कै समयमैं भयो ।
थपलिया सर वीरगंज आएदेखि नै ज्येष्ठ नागरिकको कार्यक्रममा समयप्रति ज्यादै चनाखो देखिएका थिए । पहिलोपटक सहभागिताको लागि फोन गर्दा, त्यति बेला हाम्रो प्रत्यक्ष्F परिचय पनि थिएन–मलाई थाहा छ, तपाईंहरूको कार्यक्रम समयमा शुरू हुन्छ । आउन पाइनँ भने बेग्लै कुरा हो, अन्यथा समयमैं आउँछु भन्ने जवाफ अन्तसम्म कायम राख्ने सदाशयी व्यक्तिलाई गुमाउँदाको व्यथा शब्दमा कसरी व्यक्त गर्न सकिएला १ हुनत प्रसङ्ग उनीसँग जोडिएकोले मात्र, होइन भने वीरगंज आउने सरकारी तहका प्रत्येक उच्च अधिकारीहरूले हाम्रो समयक्रान्तिको लाज राखिदिएका छन् । ती सबैप्रति आभार व्यक्त गर्दै असमय निठुर कालको गाँस बनेका प्रउ सुमन थपलियाको सम्झना अक्षुण्ण राख्दै अब कहिले त्यो हँसिलो अनुहार देख्न नपाउने पीडाका साथ हार्दिक श्रद्धाञ्जलि !