– राजेश मिश्र

“ए इयारजी १ हउ मुद्दा मोकदमा के फैसला का भइल ? काल्हुवे नु फैसला होखेवाला रहे, ना ?” अर्थात् “ए साथी भन्नुस् न, उक्त मुद्दाबारे फैसला के भयो ? हिजै फैसला हुनेवाला थियो, होइन र !” खेतको आलीमा बसेर पानीविना जलिरहेको धानबालीकोे पीडामाझ कृष्णले सुदामासँग सुदामामाथि परेको मुद्दाको फैसलाबारे जान्ने जिज्ञासा प्रकट गरे। घटनाबारे कृष्णलाई थाहा थियो। यद्यपि फैसलाको दिन पत्नीको उपचारको लागि काठमाडौं गएकाले अन्तिम नतीजा थाहा थिएन।

कृष्ण र सुदामा एकअर्कालाई लत्ताकपडा आदानप्रदान गरी बाल्यकालमैं विधिपूर्वक ‘इयारजी’ अर्थात् मित बनेका थिए। उनीहरू एकअर्काको दुःखसुखमा सधैं साथ हुन्थे।

सन् १९८० को दशकमा रिलिज भएको हिन्दी फिल्म दोस्तानाको “बने चाहे दुश्मन जमाना हमारा, सलामत रहे दोस्ताना हमारा” गीतको मर्म आज अपवादबाहेक लुप्तप्रायः छ। वर्तमान परिवेशमा सामाजिक सञ्जालमार्फत एकले मित्रताको अनुरोध पठाउने र अर्कोले तुरून्तै स्वीकार गर्ने प्रणाली मित्रताको पर्यावाची कदापि बन्न सक्दैन। उहिले एकअर्काको अनुहार मिल्दोजुल्दो भएमा वा आचारविचार र व्यवहार मिलेमा मित बन्ने चलन थियो। लत्ताकपडा आदानप्रदान गरी विधिपूर्वक मित बनिन्थ्यो। मित बन्नु जति सजिलो छ, निर्वाह गर्नु उत्तिकै कठिन। उहिले मित बनेपछि एकअर्काको दुःखसुखमा साथ दिने मानसिकता स्वस्फूर्त अङ्कुरित हुन्थ्यो। मित्रता आजको जस्तो नाफा र नोक्सानमा आधारित थिएन।

०००

फैसलाबारे घटनाका भुक्तभोगी साथी सुदामाले बताइरहँदा कृष्णको आँखा रसाउन थालेको थियो। सुदामाले आँसु नदेखून् भनेर उनी कहिले धानबाली त कहिले आकाशतर्फ हेर्थे। केही बेरपछि धानबालीको बियोग ओझेल भई घटनाको कथा–व्यथामा उनीहरू घोत्लिए।

सुदामा एकजना व्यवसायीको पसलमा नियमित दूध पु–याउँथे। उनले एकाध गाई पालेका थिए। दूध र दही बिक्री गरेर खेतीपातीको लागि बीउ र मलखादसँगै थोरै भए पनि उनको आर्थिक परिपूर्ति हुन्थ्यो। घरगृहस्थी चल्थ्यो। एक दिनको कुरा हो, व्यवसायीले सधैं विश्वास गरेर दूध लिए पनि यसपटक जाँच गर्नुपर्छ भन्ने कुरा गरे। सुदामाले हुन्छ भने।

व्यवसायीले जब दूध तौल गरे, तब तौल अलि कम भयो। व्यवसायी आक्रोशित भए। तथानाम सुनाए। वर्षौं देखि दूध लिइरहेकोले त्यति बराबरको क्षतिपूर्तिको दाबीसहित व्यवसायीले मुद्दा दायर गरे। मुद्दा अदालतसम्म पुग्यो। सुदामालाई न्यायाधीश समक्ष पेश गरियो। कृष्णलाई यहाँसम्म सबै कुरा थाहा थियो। त्यस कारण अन्तिम फैसला के भयो भन्न कृष्णले सुदामासँग आग्रह गरे।

सुदामाले आदालतमा भएको बहस सविस्तार सुनाउँदै भने–“न्यायाधीशले प्रश्न गर्न थाले।” उनले सोधे, “तपाईंले दूधको तौल गर्न के प्रयोग गर्नुहुन्छ ?” मैले जवाफ दिएँ–“श्रीमान्, मसँग तौल्ने साधन छैन। यद्यपि म दूध तौलेर वहाँलाई दिन्छु।” न्यायाधीशले अचम्म मान्दै सोधे “जब तपाईसँग तौल गर्ने साधन नै छैन भने दूधको तौल कसरी गर्नुहुन्छ ?”

मैले जवाफ दिएँ–“श्रीमान् उहाँ एक व्यवसायी हुनुहुन्छ। लामो समयदेखि म उहाँको पसलबाट पिना खरीद गर्दै आइरहेको छु। वहाँले सधैं मलाई अढाई किलो पिना दिनुहुन्छ र म वहाँलाई सोही पिनाको वजनको दुई गुणा दूध दिंदै आएको छु। महीनाको अन्त्यमा हिसाब किताब गरेर पैसाको लेनदेन गरिन्छ। यो जवाफ सुनेर व्यवसायी छक्क परे।” सुदामाले आफूलाई मुद्दामा जितको खुशी भन्दा व्यवसायीले आफूसँग छलकपट गरेकोप्रति बढी दुःख लागेको भावना व्यक्त गरे।

अघिदेखि ध्यानपूर्वक सुनिरहेका साथी कुष्णले भने–“हामीले हाम्रो जीवनमा अरूलाई छल, दुःख, इमानदारी, भूmट वा वफादारी जे दिन्छौं, त्यहीं पाउँछौं।” कुरैकुरामा उनीहरूलाई समय बितिको पत्तै भएन। सूर्यको प्रकाश बिस्तारै कडा हुँदै गइरहेको थियो।  

०००

सधैंझैं आज पनि कृष्ण र सुदामा आआफ्नो खेत हेर्न सरेहमा गएको बेला भेट भएका थिए। मल र पानीविना जलिरहेको धानबालीको अवस्था देखेर मानौं धानबाली होइन, उनीहरूको ह्दय जलिरहेको थियो। उनीहरूसँग कृषि कार्य गर्ने उपक्रमसँगै श्रम गर्ने क्षमता असीम थियो। तर त्यतिले मात्र कृषि कार्यको प्रतिफल प्राप्त गर्न सकिंदैन्थ्यो। श्रम गर्ने क्षमता जति भए पनि सिंचाइको सुविधा, बीउ र मलको उपलब्धता समयमा नभएसम्म कृषि क्षेत्रबाट उचित उब्जनी लिन नसकिने कुरा गरिरहेका थिए। कृषिकार्यको लागि आवश्यक प्रमुख संसाधन नै सरकारमा निर्भर छ। त्यसका लागि सरकारको मुख ताक्नुको विकल्प छैन। उनीहरूले किसानको मर्म र सरकारको रवैयालगायत दुःखसुखका विविध कुराहरू खेतको आलीमा बसेर एक अर्कासँग साझा गरिरहेका थिए।

उनीहरूले साउनको पहिलो साता धान रोपेका थिए। भदौको १८ गतेसम्म धान रोपेको झन्डै डेढ महिना भइसकेको थियो। बाल्यकालबाट युवा अवस्थामा प्रवेश गरिरहेको धानबालीलाई पानी र मलखादको आवश्यकता थियो। पेट भर्ने देखि औषधि उपचार तथा बालबच्चाहरूको शिक्षा आदि अन्नबालीको उब्जनीमा निर्भर थियो। बाली नभए जीवन निर्वाह कसरी हुन्छ ? भन्ने पीडाले उनीहरूलाई पिरोलिरहेको थियो।

०००

प्रत्येक वर्ष जलस्रोत तथा सिंचाइ विभागमार्फत सरकारले अरबौं रुपियाँ खर्च गरिरहेको छ। पर्सा, बारा र रौतहटको कुरा मात्र गर्ने हो भने सिंचाइको लक्ष्य पूरा गर्न नारायणी सिंचाइ आयोजना तथा भूमिगत सिंचाइ कार्यालय आदि सरकारी अङ्ग अस्तित्वमा छन्। तर सिंचाइ प्रणाली किन प्रशंसायोग्य छैन ?

गण्डक नहरको मरम्मत–सम्भार तथा ट्युबवेल जडान आदि कार्यमा प्रत्येक वर्ष रकम खर्च भइरहेको छ। यद्यपि किसानहरूले समयमा पानी नपाउनुभन्दा दुर्भाग्यपूर्ण अवस्था अरू के हुन सक्छ ? करोडौं खर्च गरी प्रत्येक वर्ष जडान भइरहेका ट््यूबवेलको पानीले कति हेक्टर जमीन सिंचाइ हुँदो हो ? अझ कति सङ्ख्यामा ट््यूबवेल जडान भए खेतीपातीको लागि पानीको अभाव हुने छैन ? खेतीयोग्य जमीनको तथ्याङ्क हुँदाहुँदै पनि कहिलेसम्म वा कति वर्षभित्र सिंचाइ प्रणालीको दुरवस्था र मलको अभाव हल हुन सक्छ ? लगायत विषयमा गम्भीर हुनु आवश्यक छ। सिंचाइ, बीउ र मल आदिको अभावले युवा पुस्ता कृषि कार्य प्रति आकर्षित नहुनुको विविध कारणहरू मध्ये यो पनि एक हो।

किसानको लागि खेत नै सदन हो, जहाँ किसानहरू आलीमा बसेर कृषि र घरायसीलगायत विविध अन्तर्विरह एकअर्कासँग साटासट गर्ने गर्दछन्। सदनको सुरक्षार्थ खटेका सुरक्षाकर्मीझैं आली खेतको सुरक्षा कवच हो। सदनमा सभामुख, प्रधानमन्त्री, मन्त्री र सन्त्री देखि सबै तहका प्रतिनिधिहरूको प्रतिनिधित्व भएझैं आलीको सुरक्षा घेरामा अन्नबाली विराजमान हुन्छ। खेतको सिमानाको सुरक्षासँगै सिंचाइ गर्दा पानीलाई घेरेर खेतमा राख्छ। पक्ष र विपक्षले सदनमा ताली ठोकेझैं हावाको दिशामा धानबाली यताउति हल्लिरहेको हुन्छ।

०००

कृष्ण र सुदामाले धानबालीको कुरा गरिरहँदा लाग्थ्यो धानबालीले पानी र मलको अभावले आफू जलिरहेको पीडा उनीहरूसँग व्यक्त गरिरहेको थियो। किसानको सदन अर्थात् खेत कहिल्यै किसानसँग छलकपट गर्दैन। उसलाई जे आवश्यक छ, त्यो समयमा पूर्ति गर्ने हो भने खेतले उब्जनी नदिने कुरै हुँदैन। कृष्णले सुदामासँग भने–“चलीं इयारजी घरे। घाम बहुत कडा बा।” उनीहरूको पीडा सरकारले नबुझे पनि शायद प्रकृतिले बुझिसकेको थियो। त्यसैले बिहीवारदेखि पानी परिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here