अहिले नेपालका राजनीतिक दलहरू एकपछि अर्को आआफ्ना नेता, कार्यकर्ता, समर्थक तथा आम मानिसको भीड जम्मा गर्दै राजनीतिक कुम्भ ‘राष्ट्रिय महाअधिवेशन’मा रमाइरहेका छन्। नेकपा एमालेको महाकुम्भ चितवनमा सम्पन्न हुन लागेको छ। अब नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र तथा राष्ट्रिय प्रजातन्त्र पार्टी लहरै आआफ्नो कुम्भ आयोजना गर्न कस्सिएका छन्। यी पार्टीहरूको राष्ट्रिय अधिवेशनले नेतृत्व चयन गर्ने हुँदा यसले कुनै–कस्तै चेतावनी र सतर्कताको अवहेलना मात्र गर्नेछ। भनिरहनुपर्दैन अधिवेशनमा आफ्नो शक्ति प्रदर्शन गर्न सबै दलले न्वारानदेखिको बल लगाउने नै छन्। यो स्वाभाविक हो, तर विश्वमा भर्खर देखापरेको ओमिक्रेन नाम दिइको कोरोनाको नयाँ र भयावह भेरिएन्ट देखा परेको छ। यसको मारकशक्ति  डेल्टा भेरिएन्टभन्दा पनि बढी हुने स्वास्थ्यविज्ञहरूले बताइरहेका छन्। द अफ्रिकाबाट प्रसारण भएको यस भेरिएन्टले सर्वशक्तिशाली मुलुकको सर्वसम्पन्न राज्य न्युयोर्कमा मानिसहरूलाई सङ्क्रमित पार्न थालेको छ। कतिसम्म भने शुरूको कोरोनाकालमा लामो समयसम्म रोगको बेवास्ता गरेको अमेरिकाको सो राज्यका गभर्नरले तत्काल लकडाउन गर्ने घोषणा गरेका छन्।

न्युयोर्क राज्यले झन्डै दुई महीनासम्म राज्यमा सङ्कटकाल नै घोषणा गरेको छ। किनकि कोभिड–१९ को यो नयाँ संस्करणले पहिले पूर्ण खोप लिइसकेका व्यक्तिलाई पनि सङ्क्रमित गर्न सक्ने सामथ्र्य राख्दछ। यसको भयावहताको यसै कुराबाट अनुमान लगाउन सकिन्छ कि अहिलेसम्म बेलायतलगायत थुप्रै मुलुकहरूले दक्षिण अफ्रिका आउने र जाने हवाईजहाजहरूमा प्रतिबन्ध लगाइसकेका छन्।  दक्षिण अफ्रिका नेपालभन्दा धेरै टाढा छ, हाम्रो प्रत्यक्ष्F उडान पनि छैन भनेर बेवास्ता गर्नुहुँदैन। किनकि आज विश्व यति साँघुरिइसकेको छ कि हिजो द अफ्रिकामा भएको व्यक्ति अन्य जहाज भएर पर्सिपल्टै नेपाल पुग्न सक्छ। हाम्रो स्वास्थ्य सतर्कता निकै फितलो छ। जनता त अल्लारे छ नै, सरकार पनि चनाखो र सतर्क छैन। बितेको दुई चरणको कोरोनाकालमा सरकार सतर्क भएको भए, देशमा यति मानिसको ज्यान जाने थिएन। देशमा कुनै पनि सङ्क्रामक रोग भित्रिन नदिन क्वारेन्टिन नै पहिलो अस्त्र हो। जसको नेपालमा कुनै सहुलियत छैन। देशको तराई क्षेत्रका विभिन्न  नाकाहरूमा बन्न लागेका १२ वटा होल्डिङ सेन्टर पनि निर्माण कम्पनीको समयमा काम नगरिदिने रोगले गर्दा अधूरै छन्। त्यति मात्र पनि भइदिएको भए नेपाल प्रवेश गर्ने मानिसलाई क्वारेन्टिनमा राख्ने र परीक्ष्Fणपश्चात् अनुकूलताबमोजिम नेपाल प्रवेश गर्न दिन सजिलो हुन्थ्यो। यो त यति खतरनाक भेरिएन्ट छ कि पूर्ण खोप लिएको प्रमाणपत्रलाई पनि आधार मानेर कसैलाई देशभित्र पस्न दिने जोखिम लिन सकिंदैन।

यस्तै बेला राजनीतिक पार्टीहरूको तारन्तार महाधिवेशनहरू भइरहेका छन्। यथास्थितिमा कुनै डर छैन, तर कुनै ओमिक्रेन सङ्क्रमित पनि यस भीडमा सामेल हुन पुग्यो भने त्यसको भयावह नतीजा हुन सक्छ। सरकारले कदापि दाबी गर्न सक्दैन कि सङ्क्रमण देशमा छिरेको छैन। ऊसँग न कुनै तथ्याङ्क छ, न उपयुक्त उपकरण। आफ्नो सामथ्र्यमा भएको होल्डिङ सेन्टर त कहिले बन्छ भन्न नसक्ने सरकारले नयाँ भेरिएन्ट रोक्न के सक्ला ? अहिले त नागरिक पनि स्वास्थ्य सतर्कताबाट टाढिइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here