असोज ५ गते मन्त्रिपरिषद्को बैठकले भारतसँगको बन्द नाका खुल्ला गर्ने निर्णय ग¥यो । कोरोना सङ्क्रमणको पहिलो लहरमा नेपाल सरकारले २०७६ चैतको पहिलो सातादेखि भारतसँगको खुला सीमा नाका बन्द गर्ने निर्णय गरेको थियो । नेपाल सरकारको निर्णयको केही दिनपछि भारतले पनि आफ्नो नाका बन्द गरेको थियो । नाका बन्द गरिए पनि मालवाहक सामान आवतजावतका लागि भने बन्देज फुकुवा थियो । कोरोनाको पहिलो लहरमा नाका बन्द भएपछि खुल्ला सीमा भएको र दुवैतर्फका नागरिकहरू यता र उता रहेकाले उनीहरूलाई आफ्नो देश जानका लागि १० दिन क्वारेन्टाइनमा बसेर पिसिआर, एन्टिजेन परीक्षण गरिसकेपछि घर फिर्ता जान पाउने व्यवस्था गरिएको थियो । त्यतिखेर केही महीना दुवैतर्फका सीमानाका वास्तवमा बन्द नै थियो । स्वास्थ्य सुरक्षाका मापदण्ड प्रयोग गरेर मात्र आवतजावत हुन्थ्यो । आममानिस त के सांसदहरू पनि आवतजावत गर्दा क्वारेन्टाइनमा बस्नै पर्ने बाध्यकारी नियम थियो । एकपटक पर्साका एकजना सांसद रक्सौल पुगेर आएको सूचना सार्वजनिक भएसँगै उनलाई होम क्वारेन्टाइनमा बस्नुपरेको थियो । देशभर लकडाउन लागेको थियो र यो अवधिमा बाहिरबाट आउनेहरूको निगरानी शहरमा भन्दा पनि गाउँतिर बढी हुने गरेको थियो । कोही पनि बाहिरबाट आउनेहरूका बारेमा प्रहरी, प्रशासनमा सूचना दिने प्रचलन बढेको थियो र सबै पालिकाले क्वारेन्टाइनको व्यवस्था गरेका थिए ।
समय बित्दै गयो, लकडाउन अवधि बढ्यो मानिसहरू घरमैं थुनिए । हुनेले खाए नहुनेले पेट काटेर बसे । कतिपयको रोजगार गुम्यो, आर्थिक व्यवस्था कमजोर हुँदै गयो । आज लकडाउन खुल्छ, भोलि खुल्छ भन्दाभन्दै लकडाउन छ महीनाभन्दा बढी लाग्यो । लकडाउन खुलेपछि बिस्तारै जनजीवन सामान्य बन्दै गयो । यो अवधिभर सीमानाकाहरू बन्द थिए । तर मानिसहरू खुल्ला सीमाका कारण लुकीछिपी आवतजावत गर्न शुरू गरे । बिस्तारै यस्तो अवस्था भयो कि मुख्य नाकाबाहेक सबैतिरबाट आवतजावत शुरू भयो । कोरोनाको पहिलो लहरको नौ महीनापछि सामान्य बनेको जनजीवन फेरि कोरोनाको दोस्रो लहर आएसँगै देशभर लकडाउन लाग्न शुरू भयो। लकडाउन पनि दुई महीनासम्म लम्बिएपछि पहिलो कोरोनाबाट थलिएका मानिसहरू घरमा भोकै मर्नुभन्दा बाहिर निस्केर काम गर्न शुरू गर्न थाले । लुकीछिपी सबै निस्कन थालेपछि लकडाउन पनि हरायो । यसबीच एक वर्षअघि भारतले आफ्नोतर्फको नाका खुला गरिदियो । तर नेपालले भने बल्ल असोज ५ गते खोलेको घोषणा ग¥यो । नाका खुला भएपछि होटल, पर्यटन व्यवसायमा राहत पुग्ने भयो भनी ती व्यवसाय गरेकाहरू खुशियाली मनाउन नपाउँदै मन्त्रिपरिषद्को निर्णय छलकपटपूर्ण भएको रहस्योद्घाटन भयो र फेरि सो क्षेत्रका व्यवसायीहरूमा निराशा छायो ।
सरकारले नाका खुल्यो त भन्यो तर कसरी खोलिएको छ भन्दा सबैजना दुःिखत हुन पुगे । नाकाबाट भारतीय निजी सवारीसाधनले प्रवेश नपाउने, ७२ घण्टाअघिको एन्टिजेन, पिसिआर नेगेटिभ रिपोर्ट, अनलाइन फाराम भर्नुपर्ने अनि प्रवेश बिन्दुको जुन होटलमा बसेको हो, त्यहाँ पनि एन्टिजेन परीक्षण गर्नुपर्ने । अब अहिलेसम्मको नेपाल–भारत खुला सीमामा यत्रो प्रक्रिया पूरा गरेर कोही प्रवेश गर्लान् त ? अनि खुला सीमा भएकोले पैदल प्रवेशीहरू आजसम्म आवतजावत गर्दै आएकै छन् । उनीहरूको लागि मन्त्रिपरिषद्को बैठक बसेर निर्णय गर्नुपर्ने कारण पनि थिएन ।