काठमाडौं, ११ भदौ/रासस
विगत केही दिनअगाडिबाट सक्रिय रहेको मनसुन शनिवारदेखि केही कमजोर हुने भएको छ । न्यूनचापीय रेखा शुक्रवार रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो ।
शनिवारदेखि नेपालको पूर्वी भागबाट मौसम क्रमिक सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए । “मौसममा सुधार हुने भनेर पानी नै नपर्ने हुँदैन, मनसुनको समय अझै बाँकी छ, विगत केही दिनअगाडिको जस्तै लगातारको झरी भने कम हुनेछ,” उनले भने ।
देशभर सामान्यदेखि पूर्ण बदली तथा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षाको सम्भावना कायमै रहनेछ । हाल वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा सामान्य बदली रहेको छ । त्यस्तै, प्रदेश नं १, वाग्मती, गण्डकी तथा कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।
देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १, २, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १७ दशमलव दुर्ई डिग्री र सबैभन्दा धेरै धनगढीको अधिकतम तापक्रम ३३ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।