प्रस, सिरहा, ९ साउन/

बितेको एक दशकमा सिरहा र सप्तरीका करीब पाँच हजार दलित तथा विपन्न परिवारले पक्की भवन पाएका छन् । जनता आवास कार्यक्रम अन्तर्गत उनीहरूले भवन पाएका हुन् ।

कार्यक्रम अन्तर्गत आर्थिक ०६६–०६७ देखि ०७७–०७८ सम्म सिरहाका २,३७७ र सप्तरीका २,५८६ गरी दुवै जिल्लाका चार हजार ९६३ दलित तथा विपन्न परिवारले पक्की आवास भवन पाएका छन् ।

सङ्घीय सरकारको बजेटबाट आव २०७६–०७७ मा मात्र सिरहाका २०० र सप्तरीका २८५ दलित विपन्न परिवारलाई पक्की आवास निर्माण गरी हस्तान्तरण गरिएको थियो । शहरी विकास तथा भवन कार्यालय राजविराजका प्रमुख कृष्णदेव झाका अनुसार सिरहामा ३१५ आवास भवन बनाउने योजना रहेकोमा २०० भवन निर्माण सम्पन्न भएर हस्तान्तरण भइसकेको छ ।

त्यसैगरी सप्तरीमा ५०३ आवास भवन निर्माण गर्नुपर्नेमा २८५ भवन निर्माण सम्पन्न भइसकेको छ । दुवै जिल्लामा गरी ३३३ वटा भवन निर्माणाधीन अवस्थामा छ ।

आर्थिक वर्ष ०७७–०७८ मा सिरहाको औरही गाउँपालिकामा ५०० आवास भवनबाहेक अन्य ठाउँमा भवन थपिएको छैन । बजेट अभावको कारण सिरहाको औरही–१ देखि ५ सम्म ५०० वटा आवास भवन बनाउन सम्झौता भएर निर्माण कार्य शुरू भएको र त्यसबाहेक सिरहा र सप्तरीमा कुनै आवास भवन बनाउने योजना नआएको प्रमुख झाले बताए ।

बरन्डासहित दुई कोठे पक्की भवनका लागि सरकारले प्रतिघर रु तीन लाख ३२ हजार ५०० बजेट छुट्याएको छ । यसका साथै घरसँगै शौचालय निर्माणका लागि थप रु १५ हजार विनियोजन गरिएको कार्यालय प्रमुख झाले जानकारी दिए ।

दलित तथा अति विपन्न समुदायलाई आवास उपलब्ध गराउने नेपाल सरकारको योजना अनुसार आर्थिक वर्ष ०६६–०६७ देखि सिरहा, सप्तरीलगायत जिल्लामा जनता आवास कार्यक्रम सञ्चालन भइरहेको छ ।

सो कार्यक्रम आव ०७३–०७४ सम्म सङ्घीय सरकारको मातहत सञ्चालन हुँदै आएकोमा आर्थिक वर्ष ०७४–०७५ देखि प्रदेश सरकारको मातहत सञ्चालन भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here