प्रस, जनकपुरधाम, ८ साउन/
नेपाली काङ्ग्रेस धनुषाको जिल्ला पार्टी कार्यालय जनकपुरमा शुक्रवार पनि रिले अनशन जारी रह्यो । क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै काङ्ग्रेस केन्द्रीय कार्यालय काठमाडौंमा अनशनरत पार्टीका नेता तथा धनुषाका पूर्वसांसद चन्द्रमोहन यादवको समर्थनमा बिहीवारदेखि जनकपुरमा पनि अनशन शुरू गरिएको हो ।
धाँधली गरी पार्टी सदस्यता वितरण गरिएकाहरूको क्रियाशील सदस्यता खारेज गर्नुपर्ने अनशनकारीहरूको माग रहेको जनकपुरमा अनशनरत नेता नवलकिशोर यादवले बताए ।
विशेषगरी धनुषा क्षेत्र नं १ र ४ मा सदस्यता वितरणमा पक्षपात भएको र पुरानो कार्यकर्तालाई क्रियाशील सदस्यता नदिएको अनशनरत अर्का नेता सञ्जीव यादवको भनाइ छ । पार्टीका अधिकारीहरूले आफ्ना आसेपाले र नातागोतालाई मात्रै सदस्यता दिएको नेताहरूको आरोप छ ।
सोही कुराको विरोधमा पार्टीका केन्द्रीय सदस्य तथा पूर्वसांसद यादवको नेतृत्वमा केन्द्रीय कार्यालय काठमाडौंमा बितेको ६ दिनदेखि आमरण अनशन बसिएको छ । उनको स्वास्थ्य अवस्था बिग्रिन थाले पनि पार्टी नेतृत्वले माग सम्बोधन गर्न चासो नदेखाएपछि जनकपुरमा पनि रिले अनशन शुरू गरिएको नेका धनुषाका नेता परमेश्वर ठाकुरले बताए ।
अनशनरत पक्षले अगाडि सारेका मागहरूमा पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्रविपरीत वितरण गरिएका जिल्लास्थित सबै सदस्यता खारेज गर्नुपर्ने एक सूत्रीय माग रहेको रिले अनशनको नेतृत्व गरिरहेका नेता नवलकिशोर यादवले बताए ।
सदस्यता विवाद समाधान नभएसम्म अनशन जारी राख्ने उनले चेतावनीसमेत दिएका छन् । धनुषामा काङ्ग्रेसका १२ हजार क्रियाशील सदस्य छन् । यस वर्ष १२ हजार सदस्य थप्नुपर्नेमा ७ हजार मात्र थप गरिएपछि धनुषामा सदस्य सङ्ख्या करीब १९ हजार पुगेको छ ।