• सम्पादकीय

अहिले कोभिड–१९ को प्रकोप समाप्त भइसकेको छैन । लामो समय बन्दाबन्दीमा रहेकोले प्रसार हुन नपाएको मात्र हो । तर चार दिन पनि बितेको छैन, बन्दाबन्दी खुकुलो हुनेबित्तिकै सङ्क्रमणदर बढेको खबर आइसक्यो । यस्तो हुनुमा सरकारभन्दा नागरिक दोषी हो भन्ने कुरा ठोकुवा गर्न सकिन्छ ।

सरकारको सबैभन्दा ठूलो दोष भनेको झन्डै दुई महीना लामो बन्दाबन्दीमा पनि नागरिकका लागि कोभिड–१९ विरुद्ध खोप उपलब्ध गराउन सकेन । त्यसको आस पनि छैन, किनभने सरकार त आफूलाई जोगाउन लागेको छ । देशमा पहिलो चरणको कोरोना सल्किएसँग सरकारलाई अर्कै भेरिएन्ट ‘सत्ता–सङ्क्रमण’ सरिसकेको थियो । कोरोनासँगै सत्ता–सङ्क्रमणको राप र ताप पनि बढ्दै गएको थियो, जसको अहिलेसम्म कुनै खोप फेला परेको छैन । निश्चय नै मानिस आप्mनो स्वाभाविक प्रवृत्ति अनुसार पहिले आफूलाई जोगाउँछ अनि मात्र अरूलाई जोगाउन अग्रसर हुन्छ । झन् नेपालका सत्ताधारीहरू, जसका लागि जनता भनेको आफ्ना लागि भोट दिने ‘एजेन्ट’बाहेक केही हुँदैन, उसको चिन्ता किन गरोस् ?

ज्यान नागरिकको जान्छ, दुःख नागरिकले पाउँछ र विनासित्ती अस्पतालसम्मको भागदौड, पैसाको खति सबै बेहोर्ने नागरिकले हो । अहिले असार मसान्तको बेला हो । सरकारलाई विभिन्न किसिमको राजस्व सङ्कलन गर्नुपरेको छ, यस्तो बेला बन्दाबन्दी जारी राख्ने हो भने काम चल्न गा-हो हुन्छ । यो स्वार्थको कुरा भयो, अर्को महत्वपुर्ण कुरा हो, मानिसलाई स्वेच्छा वा जबरजस्ती लामो समय थुन्न सकिंदैन । दैनन्दिनको कार्य व्यवहार चल्नैपर्छ, जसका लागि बन्दाबन्दी खारेज नै नगरे पनि खुकुलो त पार्नैपर्छ । यो विवशता हो ।

महीनौंदेखि, अझ धेरै हदसम्म वर्षभरि नै कलकारखाना बन्द रहे, उद्योग–व्यवसाय चलेन, बन्दाबन्दीको रापले मेहनतकर्मीहरूले काम गर्न पाएनन् । कोरोनाभन्दा यो भयावह अवस्था हो । यस्तोमा नागरिक आफैं सचेत नहुने हो भने सङ्क्रमणको दर मात्र होइन, मानवीय क्ष्Fति पनि बढ्न सक्छ । सङ्क्रमण भनेको रुघाखोकीको पनि हुन्छ । के रुघाखोकीका लागि सरकारले कुनै उपक्रम गर्दछ ? नागरिक आफैं सचेत हुन्छ, घरमा बस्छ, आराम गर्छ, तातो पेय र भोजन खान्छ । बढी ग्रस्त भयो भने चिकित्सकको सल्लाह लिन्छ । त्यसैगरी, सतर्कताका साथ कोरोनासँग बाँच्न सिकिएन भने अर्को उपाय छैन । हो खोपले धेरै हदसम्म यसको भय हटाउँछ तर रोग निमिट्यान्न भने पार्दैन ।

हामी मानव इतिहासको यस्तो कालखण्डमा उभिएका छौं, जहाँ एकातिर भीर अर्कोतिर गहिरो गल्छी छ । यी दुईमध्ये कुन रोज्ने त्यो हाम्रो इच्छा हो । लापरवाह भएर काम गर्दै सङ्क्रमित हुने कि काम पनि गर्ने, सतर्क पनि रहने जसले गर्दा कोरोनाबाट प्रताडित हुनु नपरोस् । यो निर्णय गर्ने काम सरकार र नागरिक दुवैको हो । तर सरकार अघि सर्दैन भने नागरिकले अघि सरेर रोकथामको उपाय गर्नुपर्छ । अब त शत्रु को हो, कसरी आउँछ, कसरी यसलाई आउन दिनुहुँदैन भन्ने कुरा व्यक्ति–व्यक्तिलाई थाहा भइसकेको छ । तर पनि कोही सङ्क्रमित हुन्छ भने त्यसलाई के भन्ने ? हिजोसम्म स्थिर रहेको सङ्क्रमणदर आज उकालो लाग्नु, त्यो पनि चार बित्न नपाउँदै, भनेको घोर लापरवाही हो । अझ बन्दाबन्दी खारेज नै गरिदिने हो भने के परिणाम होला अनुमान लगाउँदै कहाली लाग्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here