खतरा अझै टरेको छैन

  • सञ्जय साह मित्र

अलिकति पनि खतरा टरेको छैन। सबैतिरबाट लगातार अनुरोध गर्दा पनि अलिकति छुटको फाइदा उठाउन खोज्ने प्रवृत्ति कम नहुँदा समस्या बढेको थियो। जहिले पनि निषेधाज्ञा लगाएपछि मात्र सुन्ने र समाजमा कोरोनाको अत्यन्त धेरै विस्तार भएपछि मात्र ‘हो कि’ जस्तो गर्ने प्रवृत्ति अझै पनि हामीबाट गएको छैन। समाजमा लापरवाही हद निकै बढेकै हो र लापरवाहीको परिणाम पनि समाजले नै भोगेको हो। अत्यन्त गम्भीर भएर बुझ्ने प्रयास गर्ने हो भने सजग र सतर्क रहेकाहरूले पनि गम्भीर परिणाम भोग्नुपरेको देखिन्छ, किनभने लापरवाहहरू ठ्याम्मै संवेदनशील भइदिएनन्। हुन सक्छ लापरवाह व्यक्ति सङ्क्रमित भएको उसलाई थाहा नहोस्, उसमा कुनै लक्षण पनि नदेखिएको होस् तर उसबाट अरूमा सरेको हुन सक्छ। अरूमा सर्दा पनि यसको लक्षण देखियोस् तर हानि पु–याइरहेको होस्। बेहद लापरवाहीको पनि समाजले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ र चुकाएको पनि छ। अझै समाजले ठूलो मूल्य चुकाइरहेको छ र पछि पनि चुकाउनुपर्नेछ।  कोरोनाले गर्दा देश अहिले कठिन घडीबाट जुग्रिरहेको छ, यो अवस्था यत्तिकै आएको होइन। यसमा समाजका सदस्यहरूकै लापरवाही हो भन्ने बुझ्न गाह्रो छैन। यसको उपचारमा संलग्न सबै चिकित्सक तथा उपचार पत्ता लगाउने वैज्ञानिकहरूले एक स्वरले के भनिरहेका छन् कि यो एक व्यक्तिबाट अर्को व्यक्तिमा त्यति बेलासम्म सरिरहन्छ जबसम्म दश दिन पुग्दैन। अर्थात् कुनै एक व्यक्तिमा कोरोना भाइरस सरेको छ भने त्यो भाइरस उसबाट दश दिनसम्म मात्र अरूमा सर्न सक्छ। दश दिनपछि ऊ सङ्क्रमित भए पनि वा पूर्ण निको भइसकेको अवस्था नभए पनि उसबाट अरूमा सर्दैन।

एक मान्छेबाट अर्को मानिसमा नसरोस् भन्ने कुराको निश्चितताको लागि नै निषेधाज्ञा वा बन्दाबन्दीको घोषणा गर्नुपरेको थियो र अहिले पनि त्यही कारण मुख्य हो। गत वर्ष एकसाथ देशभर बन्दाबन्दी भएको थियो तर यसपटक भने जिल्लाहरूको अवस्था हेरेर निषेधाज्ञा वा पूर्ण बन्दाबन्दी घोषणा गर्ने अधिकार दिइएको थियो। कतै पूर्ण र कतै आंशिक निषेधाज्ञा जारी भयो। देशका दुई जिल्लाबाहेक सबै जिल्लामा निषेधाज्ञा जारी भएको वर्तमानमा यो पनि स्पष्ट भएको छ कि अलिकति कमी वा बेसी देशका हरेक क्षेत्रका मानिसमा निकै चञ्चलता छ। यसै कारण केही दिनकै अन्तरालमा करीब देशभर नै कोरोनाको दोस्रो लहर फैलियो। गत वर्षभन्दा यस वर्ष कोरोनाको विस्तार पनि निकै तीव्र रह्यो भने गत वर्षको तुलनामा यस वर्ष धेरै क्षति पनि पु–यायो। यस वर्ष सामाजिक सञ्जालमा एकपछि अर्को समवेदना तथा श्रद्धाञ्जलिले भरिएको देख्दा कसको मन नरुँदो होला। को विचलित नभएको होला। हरेक संवाद तथा समाचार माध्यममा कोरोनाले नै प्राथमिकता पाइरह्यो। यतिसम्म त्रूmर समय आइदियो कि मानिस छिमेकीकहाँ पनि जान डराए। छिमेककै बिहेमा  गएनन्, छिमेकमैं मृत्यु हुँदा सामेल भएनन्। किन आएनौ भनेर बिहेघरबाट पनि प्रश्न आएन र मृत्युसंस्कार भएको घरबाट पनि प्रश्न आएन। यो अवस्था अहिले पनि छ। यद्यपि कतिपय अवस्थामा लापरवाह मानिस भने घरबाट निस्कन छाडेनन्। न मास्क, न कुनै सुरक्षा सावधानीस कोरोना प्रोटोकलको परिपालन नगरी निरन्तर भोजभेतर तथा अन्य गतिविधिमा सहभागी भइरहे। अझै पनि भइरहेका छन्।

कोरोनाको उपचार अहिलेसम्म नेपालमा छैन। केही हजार मानिसले मात्र पूर्ण कोरोना खोप लिएको हुनुपर्छ। नेपालमा कोरोना लागेर लाखौं मानिस निको भइसकेका छन्। कोरोना सङ्क्रमितहरू अधिकांश घरमैं बस्न मन पराएका छन्। स्वास्थ्य समस्या भएपछि बल्ल अस्पताल पुग्छन्। घरमैं बसेर उपचार गरेर धेरै निको भएका छन्। कति कोरोना सङ्क्रमितले आफ्नो वास्तविकता बताउँदै नबताएको पनि पाइएको छ। घरमा कोरोना सङ्क्रमितले जस्तो व्यवहार गर्ने तर समुदायमा निर्धक्क घुम्ने लापरवाहहरू पनि नदेखिएका होइनन्। यस्तै लापरवाहहरूका कारण समाजमा कोरोना निकै विस्तार भएको हो। यसकारण सकेसम्म घरबाट बाहिर ननिस्कन सबैतिर आग्रह गरिएको हो र निषेधाज्ञा लगाउँदा वा बन्दाबन्दी गर्दा राज्यका सबै अङ्ग तथा निकायलाई हुनसम्म घाटा हुने भए पनि मानिसको आवागमनको सञ्जाल तोड्न बाध्यकारी कदम चाल्नुपरेको हो। यो बाध्यकारी कदमको उद्देश्य नागरिकलाई परेशान गर्नु कदापि होइन, न कसैलाई व्यक्तिगत नोक्सानी पु–याउनु नै हो भन्ने कुरो सबैले बुझेका छन् तर कतैकतै निषेधाज्ञा पालन गराउने क्रममा प्रहरीमाथि नै स्थानीय जाइलागेको सुन्नमा आएको छ। प्रहरीले गर्दा निषेधाज्ञा लागेको देख्नु दुर्भाग्यपूर्ण हो। वास्तवमा कोरोना भाइरस एक मानिसबाट अर्को मानिसमा सर्ने भएकोले एक मानिसदेखि अर्को मानिसको सम्पर्क न्यून पार्न निषेधाज्ञा लगाइएको र निषेधाज्ञा लगाइसकेपछि त्यसको परिपालनमा प्रहरीले दायित्व निर्वाह गरेको कुरा बुझ्न आवश्यक छ। र, यो हाम्रो लागि हो भन्ने कुरो समाजले पनि बुझ्नु आवश्यक छ। वास्तवमा अरूको लागि नभई हाम्रो लागि, परिवारको लागि हो भन्ने बुझ्नु जरूरी देखिएको छ।

अहिले केही दिनदेखि सङ्क्रमणको दैनिक दर केही कम हुन थालेपछि दैनिक गतिविधि सामान्य बन्न थालेको छ। मानिस निर्धक्क बाहिर निस्कन थालेका छन्। अहिले बजारमा फेरि भीडभाड बढ्न थालेको छ। साइकल तथा बाइकमा यात्रा गर्नेहरूको सङ्ख्या सडकमा बढ्न थालेको छ। कृषकहरूले पहिलेदेखि नै कृषि उपज बजार पु–याइरहेका थिए। मुख्यगरी हरियो सागसब्जी, तरकारी र दूधको सवालमा यो देखिएको थियो तर अहिले फेरि धेरै नै लापरवाही हुन थालेको छ। बिस्तारै मानिसको मनबाट डर हट्न थालेर हो कि लापरवाही फेरि बढेको देखिन्छ। लापरवाही बढेको देखेर कतिपय मानिस फेरि डराउन थालेका छन्। अलिकति नियन्त्रणतिर जान लागेको समयमा फेरि लापरवाही बढ्ने हो भने सङ्क्रमण पनि उही मात्रामा बढ्ने डर हुन्छ। कोरोनाले समाजलाई पूरै हल्लाइदिएको वर्तमान अवस्थाले अझै पनि शिक्षा दिन नसकेको हो वा समाजले शिक्षा लिन नसकेको हो ? अबका मानिस यति स्वच्छन्द भइसकेका छन् कि एक अर्काको कुरा सुन्न वा बुझ्न चाहँदैनन्। विभिन्न सरकारी निकाय तथा सङ्घसंस्थाहरूले अनेक सन्देश दिएर जति सम्झाउँदा पनि केही लापरवाहहरूले बुझ्न चाहेका छैनन्। तिनको लापरवाहीको असर समाजमा परेको छ अर्थात् अरूले पनि देखासिकी गरिरहेका छन्। कहिलेकाहीं अरूको अनुकरण गर्नुपर्ने बाध्यता पनि हुन्छ आफूलाई निर्भीक देखाउन पनि मानिस कहिलेकाहीं बजार निस्किरहेका छन्। अर्कालाई देखाउन वा अर्काको देखासिकी गर्न अहिले जो लागिपरेका छन्, तिनीहरूले गर्दा नै समाजलाई बढी खतरा छ। समाजमा यस प्रकारको खतराको घण्टी बजाउनेलाई पनि समाजले नै सहेको छ वा समाजले सहनुपरेको छ किनभने आजका मानिस अत्यधिक स्वच्छन्द छन्, अत्यधिक स्वतन्त्र छन्। कोही कसैले भनेको मान्ने वा सुन्ने छैन बरु झन् प्रेरणा पाएको जस्तो गर्दछन्।

सधैं प्रहरीले नै कडाइ गरेपछि समस्या बढेको ठान्ने र प्रहरीले अलिकति ढिलाइ गरेपछि फेरि सामान्य जीवन शुरू भयो ठान्ने प्रवृत्ति बढ्दै गएको छ। अहिले मानिसमा संवेदनशीलता घटेको बुझिन थालेको छ। समाज विकराल समस्याबाट गुज्रिरहे पनि लापरवाही देखिएकै छ। यस लापरवाहीको लक्ष्य के ? कोही धन थुपार्न बेचैन छन्, कोही जति बाहिर निस्कँदा पनि केही हुँदैन भनेर देखाउन व्यस्त छन्। समाजले यस्ता गतिविधि रोक्न नसकेर नै सङ्क्रमितको सङ्ख्या अपेक्षितरूपमा घट्न नसकेको हो। गत वर्ष गाउँलेहरूले धेरै गाउँ स्वघोषित सिल गरेका थिए। सडकमा मूढा तेस्र्याएर, ढाठ लगाएर सडक नै बन्द गरेका थिए जसले गर्दा आवागमन हुन सकोस् तर यसको पनि फाइदा केही तस्कर र चोरीशिकारी गर्नेहरूले उठाए। जङ्गलबाट काठ तस्करी गर्ने र वन्यजन्तुको चोरीशिकारी गर्ने काममा बन्दाबन्दीको दुरुपयोग गरे। लुकीचोरी पसल खोलेर म्याद गुज्रेका, सडेगलेका वस्तु दोब्बर–चौब्बर नाफा लिएर बेच्नेहरू पनि देखिए। यस्ता द्रव्य–पिपासुहरूले गर्दा नै समाजको यो दुर्दशा भएको हो। अहिले पनि सामाजिक गतिविधिमा सबैभन्दा बढी आर्थिक गतिविधि नै बढेको देखिन्छ। यस्तो गतिविधिले सङ्क्रमण नियन्त्रणमा धेरै समय लाग्छ। यसर्थ आआफ्नो क्षेत्रमा सबैजना सावधान रहनु नै बुद्धिमानी हुने देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here