कोरोना महामारी बढेपछि सरकारले लकडाउन लगाएको छ। घरमा बसेर खानपानबाट पनि शरीरको प्रतिरक्षा प्रणाली मजबूत बनाउन सकिन्छ। काढा र आयुर्वेदिक चियाबाट पनि सङ्क्रमण रोकथाममा मदत पुग्छ। तुलसी, अश्वगन्धा, मसला र कागती चियाले पनि रोगसँग लड्ने क्षमता बढाउँछ।
सेन्ट्रल इन्स्टिच्युट अफ मेडिसिनल एन्ड एरोमैटिक प्लान्ट्स, लखनऊका विज्ञ आशिष कुमारले घरमैं बसेर आयुर्वेदिक चिया कसरी बनाउनेबारे जानकारी गराएका छन्।
तुलसी चिया (कफ, रुघाखोकी र दममा फाइदा)ः तुलसीको पातको चिया बनाउनको लागि यसको ताजा पात, सुकेको पात वा धूलो पनि प्रयोग गर्न सकिन्छ। तुलसीको चियाले कफ, रुघाखोकी, दम र ब्रोन्काइटिसबाट राहत दिन्छ। तुलसीको चियामा यस्तो तत्व हुन्छ, जसले कफ र बलगमबाट छुटकारा दिन्छ। साथै तुलसीको चियामा एन्टिसेप्टिक, एन्टिअक्सिडेन्ट र एन्टिब्याक्टेरियल तत्व हुन्छन्।
चिया बनाउनको लागि सबैभन्दा पहिले एक गिलास पानी उमाल्नुपर्छ, त्यसपछि ८–१० वटा तुलसीको पात राखौं। त्यसपछि इच्छा अनुसार थोरै अदुवा र सुकमेलको धूलो पनि मिलाउन सकिन्छ। १० मिनेटसम्म उमालेर छानौं। यसमा स्वाद अनुसार मह वा कागतीको रस मिसाएर पिउन सकिन्छ। तुलसीको चियामा दूध वा चिनी राख्नुहुँदैन किनभने यसबाट औषधीय गुणमा कमी हुन्छ।
अश्वगन्धाको चिया (सुन्निने र सङ्क्रमणलाई घटाउँछ)ः अश्वगन्धा एउटा औषधीय बिरुवा हो, यसको जराको प्रयोग चिया बनाउन गरिन्छ तर आजभोलि यसको पातको पनि चिया बनाउने प्रचलन बढ्दै छ। आयुर्वेद अनुसार अश्वगन्धाको जरा वा पातबाट बनेको चिया पिउदा रोगसँग लड्ने क्षमता मजबूत हुन्छ। यसको जरामा एन्टिअक्सिडेन्ट, एन्टिभेनम, एन्टिइन्फ्लेमेट्री र एन्टिट्युमर हुन्छन्।
अश्वगन्धाको चिया बनाउनको लागि अश्वगन्धाको जरा, मह र कागती चाहिन्छ। एक गिलास पानीमा एक इन्च लामो अश्वगन्धाको जरा राखेर उमाल्नुपर्छ। पानी उम्लिएपछि त्यसलाई छानेरमा कपमा राखौं। अब यसमा एक चम्चा मह र स्वाद अनुसार कागतीको रस मिसाऔं। अश्वगन्धाको चियाले बच्चा, बुजुर्ग र महिला सबैलाई फाइदा पु–याउँछ।
कागतीको चिया (टाउको दुख्ने, घाँटीको खसखस मेटाउँछ)ः कागतीको चियामा एन्टिअक्सिडेन्ट तत्व पाइन्छ। यसले सुन्निएको, ब्याक्टेरियल र भाइरल इन्फेक्शनबाट जोगाउँछ। कागती चिया चियापत्ती, कागतीको रस र चिनी मिलाएर तयार गरिन्छ। कागतीले स्वाद मात्र बढाउँदैन चियाको रङ्ग पनि बदलिदिन्छ। कागतीको चियामा भिटामिन सी बढी मात्रामा पाइन्छ, जसले रोगबाट लड्ने क्षमता बढाउँछ। जाडोमा, खोकी, टाउको दुख्ने र घाँटी खसखसाउँदा राहत दिन्छ। लेमन ग्रासका पातबाट पनि लेमन टी बनाउन सकिन्छ।
मसला चिया (ढुसी र ब्याक्टेरियाको सङ्क्रमणबाट जोगाउँछ)ः यदि तपाईं चियाको शोखिन हुनुहुन्छ भने मसला चिया राम्रो विकल्प हो। यसले स्वस्थ राख्छ र चियाको आवश्यकता पनि पूरा गर्छ। मसला चिया बनाउन सजिलो छ। चियापत्ती र दूधलाई उम्लिएको पानीमा मरिच, सोंठ, तुलसी, दालचिनी, सुकमेल, ठूलो इलाइची, ल्वाङ, पिपरामूल, जायफल, जायपत्री राखिन्छ।
दालचिनीको चिया (इम्युनिटी बढाउँछ, पाचन सुधार्छ, मोटोपन घटाउँछ)ः दालचिनीमा पोलिफिनोल एन्टिआक्सिडेन्ट हुन्छ, जसले रक्तचाप नियन्त्रित गरेर मुटुको रोगको खतरालाई घटाउँछ। यसले सुगरको स्तरलाई पनि नियन्त्रित गर्छ। बिहानको समयमा दालचिनीको चिया पिउँदा मेटाबोलिज्म र पाचन सुधार हुन्छ र मोटोपन कम गर्न मदत गर्छ। दालचिनीको एउटा डाठलाई रातभरि पानीमा भिजाउने। बिहान दालचिनीसहित त्यसको पानीलाई दुई मिनेटसम्म उमाल्ने।
जैस्मिन चियाः जैस्मिन फूलमा पाइने एन्टिअक्सिडेन्टले शरीरमा बन्ने फ्रि रेडिकल्सलाई टाढा गर्छ। फ्री रेडिकल्सले कोशिकालाई नोक्सान पु–याउँछ। यो चिया विशेषगरी मोटोपन घटाउनेहरूको लागि निकै फाइदाजन छ। खानापछि जैस्मिनको चिया पिउँदा इम्युन सिस्टम मजबूत हुन्छ र मुटुरोगबाट जोगिन सकिन्छ। एक कप पानीमा जैस्मिनका चार/पाच वटा सुक्खा फूल राखेर पाँच मिनेटसम्म उमाल्नुपर्छ। चिया कपमा राखेपछि चिनी वा महको प्रयोेग गर्नुपर्छ।
कैमोमाइल चियाः कैमोमाइलको फूलबाट बनेको चिया पिउँदा त्वचा चम्किलो हुन्छ र निद्राको समस्या समाधान हुन्छ। राति निद्रा नलाग्ने समस्या छ भने सुत्नुभन्दाअघि यो चिया पिउनुपर्छ। रुघाखोकीबाट ग्रसितहरूको लागि यो चियाले जादूसरह काम गर्छ।
एक कप उम्लिएको पानीमा कैमोमाइलका पाँचवटा सुखेको फूल राखेर पाँच मिनेटसम्म उमाल्ने र त्यसपछि यसमा मह र एक चिया चम्चा कागतीको रस राखेर सेवन गर्नुपर्छ।
– प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)