धेरैलाई किनमेल गर्न मन लाग्छ र हरेक हप्ता हजारौं रुपियाँ किनमेलमा खर्च गर्छन् । जसले गर्दा उनीहरूलाई किनमेल गर्ने बानी बस्छ र सधैं उनीहरू किनमेल गर्नेबारे सोच्छन् । आजभोलि मानिसहरू किनमेल गर्न बजार जानुपर्दैन । मोबाइल फोन प्रयोग गरेर घरबाट धेरै वस्तु किनमेल गर्छन् । आवश्यकताविना किनमेल गरेर यस्ता व्यक्तिहरू खुशी हुन्छन् । जसले गर्दा उनीहरूको जीवनमा नराम्रो असर पर्न थाल्छ ।
हालै एउटा रिपोर्ट अनुसार धेरै किनमेल गर्नु पनि एक रोग हो । साइन्स डाइरेक्टको रिपोर्ट अनुसार कम्पल्सिभ शपिङ डिसअर्डर भनेको एउटा मानसिक अवस्था हो, जसमा मानिसहरू अत्यधिक किनमेल गर्न थाल्छन् । यो डिसअर्डरका कारण मानिसहरू आवश्यकताविना सामान किन्ने गर्छन् । किनमेल गर्दा खुशी र सन्तुष्टि मिल्छ भन्ने सोच्छन् तर केही समयपछि फेरि त्यही बानीमा पर्छन् । यसलाई कम्पल्सिभ बाइङ डिसअर्डर (सिबिडी) पनि भनिन्छ । यस विकारका कारण मानिसलाई आर्थिक समस्याको सामना गर्नुका साथै मानसिक तथा भावनात्मक समस्या पनि हुन सक्छ । यो बानीले सम्बन्धमा तनाव पैदा गर्न सक्छ ।
अध्ययन अनुसार यस डिसअर्डरका कारण धेरै हुन सक्छन् । यदि व्यक्तिमा मानसिक तनाव, एक्लोपन वा नकारात्मक भावना छ भने यो विकार उत्पन्न हुन सक्छ । केही मानिस किनमेललाई आप्mनो भावना शान्त पार्ने तरीकाको रूपमा लिन्छन् । जब तिनीहरू दुःखी, तनाव वा चिन्तित हुन्छन्, किनमेलले तिनीहरूलाई केही अस्थायी राहत दिन सक्छ । तर यो राहत थोरै समयको लागि मात्र हो र किनमेल गरेपछि मानसिक दबाब झनै बढ्छ । यस कारण व्यक्तिले यो काम बारम्बार दोहो¥याउँछ । जसका कारण समस्याहरू बढ्न थाल्छ ।
कम्पल्सिभ शपिङ डिसअर्डरले मानिसको सम्बन्धमा अमिलो ल्याउँछ किनभने यो विकारबाट पीडित व्यक्तिहरू धेरै किनमेलका कारण परिवार र साथीभाइबाट टाढा हुन्छन् । उनीहरू आफ्नो आर्थिक समस्या लुकाउन पनि झूट बोल्न थाल्छन् । यदि यो बानी लामो समयसम्म जारी रह्यो भने यसले चिन्ता, डिप्रेशन र कम आत्मसम्मानजस्ता मानसिक स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ । यस विकारबाट छुटकारा पाउन, विशेषज्ञहरूले परामर्श र संज्ञानात्मक व्यवहार थेरापीको मदत लिन्छन् । गम्भीर अवस्थामा केही औषधिहरू पनि दिने गरिन्छ ।