प्रस, ठोरी, ११ जेठ/

असार महीनाको तयारीको लागि ठोरीका किसानहरूले धानको बीउ राख्न थालेका छन्। दोस्रो लहरको कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि पर्सामा जारी निषेधाज्ञाको बेवास्ता गर्दै अधिकांश किसानले सीमावर्ती भारतीय बजारबाट धानको बीउ खरीद गरेर ब्याड राख्न शुरू गरेका छन्।

ठोरीमा चैते धान लगाएका र हिउँदे मकैखेती गरेकाबाहेक अन्य किसानहरूलाई जेठको दोस्रो साता बित्न नपाउँदै धानको बीउ छर्ने हतारो परेको छ। ठोरीमा अधिकांश किसानले भदौको अन्तिम वा असोजको पहिलो सातासम्म पाक्ने धानखेती गर्छन्। निरन्तर पानी बगिरहने कुलो भएको वडा २ र ३ का केही किसानले ढिलो पाक्ने धान लगाउने गरेका भएपनि अधिकांश किसानको खेतमा भने भदैया धानको खेती हुने गरेको छ। आकाशे पानीको भरमा खेती गर्ने किसानहरूलाई जेठको दोस्रो सातासम्म धानको बीउको ब्याड राख्नुपर्ने बाध्यता छ।

सामान्यतया असारमा मनसुन धेरै हुने आशामा सिंचाइ सुविधा नभएका ठाउँका किसानले करीब एक महीना अगावै ब्याड राख्ने गरेको ठोरी गापा–४ का किसान रत्नबहादुर श्रेष्ठ बताउँछन्। आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने भएकोले ढिलो बीउ छर्दा पानी नपरेर खेत बाँझो रहने श्रेष्ठले बताए।

ठोरीमा केही दिनअघि परेको पानीले किसानलाई धानको ब्याड राख्न सजिलो बनाएको छ। खेतमा चिस्यान भएकोले सजिलै बीउ उम्रने ठोरी गापा–४ का किसान रामचन्द्र रिसालले बताए।

ठोरीमा सिंचाइ सुविधा भएको खेतमा उन्नत प्रजातिका धानखेती हुने गरेको भएपनि सिंचाइ सुविधा नभएका खेतमा निश्चित प्रजातिको मात्र धानखेती हुने गरेको छ। ठोरीमा सावित्री, हर्दीनाथ, युएस ३१२, भदै मन्सुली, चाइना बोरु, लोकनाथलगायत प्रजातिका धानखेती हुन्छन्। तर सिंचाइ सुविधा नभएका ठाउँका किसानले चाइना बोरु, हर्दीनाथ र भदै मन्सुलीको खेती गर्ने गरेका छन्। छिटो पाक्ने तथा खेतमा पानी कम लाग्ने प्रजातिका धान भएकोले सिंचाइ सुविधा नभएका खेतका किसानले सामान्यतया यी तीन प्रजातिका धान मात्र लगाउने गर्छन्।

भारतीय बीउ नै किसानको रोजाइमा

निषेधाज्ञा भएपनि ठोरीमा यो वर्ष धानको बीउको अभाव छैन। पालिकाभित्र व्यापारीहरूले नेपालमा सिफारिश गरिएका विभिन्न प्रजातिका धानको बीउ बिक्री गरिरहेका छन्। यस्तै, यस वर्ष ठोरी गापाले समेत युएस ३१२ प्रजातिको धानको बीउ ५० प्रतिशत अनुदानमा बिक्री गरेको छ। तैपनि किसानहरूको आकर्षण भने भारतीय बीउमैं छ।

नेपालमा सिफारिश गरिएका धानको बीउभन्दा भारतीय धानको बीउ धेरै फल्ने सीमावर्ती भारतीय बजारमा बीउ लिन गएका ठोरी गापा–५ सुवर्णपुरका किसान हरिप्रसाद चौलागाईंले बताए। सुवर्णपुरमा नै धानको बीउ पाइने भएपनि चौलागाईंले भारतीय बजारबाट धानको बीउ ल्याएका हुन्।

पछिल्लो समय सिंचाइ सुविधा नभएको ठोरी गापा–४ मा भदै मन्सुली प्रजातिको धानको बीउ किसानको रोजाइमा छ। भदै मन्सुली धानको बीउ भारतीय बजारमा सहजै पाइने भएकोले निषेधाज्ञाको समयमा प्रहरीको आँखा छलेर नेपालीहरू सीमावर्ती भङ्गाहा, इनर्वालगायतका बजारमा जाने गरेका छन्।

कोरोनाको जोखिम भएपनि भदै मन्सुली धानको बीउ लिन भङ्गाहा जानुपर्ने बाध्यता भएको ठोरी गापा– ४ का किसान ठूलोकान्छा पाख्रिनले बताए। भारत, बिहारमा लकडाउनका कारण बिहान १० बजेसम्म मात्र अत्यावश्यक वस्तु बिक्री गर्ने पसल खुलेका हुन्छन्। त्यस कारण त्यहाँ धानको बीउ किन्ने नेपाली किसानहरूको घुइँचो लाग्ने गरेको भङ्गाहानजीकै सिमाना जोडिएको नेपाली गाउँ बलुवाका एकजना स्थानीयले बताए। उनका अनुसार भङ्गाहाका व्यापारीहरूले महँगोमा धानको बीउ बिक्री गर्ने गरेका भएपनि नेपाली किसानहरू भारतीय बीउ किन्न आउने गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here