धनुषा, २६ वैशाख/रासस

कोरोना महामारीको दोस्रो लहरमा सङ्क्रमितको सङ्ख्या बढेपछि उपचार सहज बनाउन प्रदेश नं २ सरकारले प्रदेशका अस्पतालमा जनशक्ति थप गरेको छ। प्रादेशिक अस्पताल जनकपुरधाम, नारायणी अस्पताल वीरगंज, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजसहित अन्य अस्पतालमा जनशक्ति थप गर्ने निर्णय गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयले जनाए अनुसार छ महीनाका लागि जनशक्ति नियुक्त गर्न अस्पताललाई अधिकार दिइएको छ। यसै सन्दर्भमा प्रादेशिक अस्पताल जनकपुरधाममा १२८ जनशक्ति थप गरिएको हो। तीमध्ये आइसियु सञ्चालन गर्न ६८ थप गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

त्यसैगरी नारायणी अस्पताल वीरगंजमा कोरोनाको सघन उपचारका लागि प्रदेश सरकारले १९ र सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आठ जनशक्ति थप गरेको छ। सप्तरीको भारदह अस्पताल, पर्साको पोखरिया अस्पताल, सिरहा, जलेश्वर, मलङ्गवा, गौर, कलैया र लहान अस्पतालमा पनि कोरोनाको सघन उपचारका लागि थप जनशक्ति उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ।

प्रदेश नं २ सरकारले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका लागि ३३ जनशक्ति उपलब्ध गराएको छ। नवौं तहको माइक्रोबायोलोजिस्ट तीन, सातौं तहको मेडिकल टेक्नोलोजिस्ट नौ, सहायक पाँचौं तहको ल्याबटेक्निसियन चार, सहायक चौथो तहको ल्याब असिस्टेन्ट तीन, कम्प्युटर अपरेटर तीन, सवारी चालक दुर्ई, सुरक्षा गार्ड तीन, कार्यालय सहयोगी तीन र स्वीपर तीन जना उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here