विद्युत् अनियमित हुँदा दुर्ई दिनदेखि पिसिआर मेशिन बन्द

सर्लाही, २६ वैशाख/रासस

सर्लाही अस्पताल मलङ्गवामा जडान गरिएको पिसिआर मेशिन विद्युत् अनियमित हुँदा दुर्ई दिनदेखि बन्द रहेको छ।

जिल्लामा विद्युत् अनियमित हुँदा  पिसिआर मेशिन बन्द भएको हो। ल्याबमा बुधवार राति ९४ जनाको थ्रोट स्वाब जाँच गर्दा ४७ जनाको पोजिटिभ रिपोर्ट आएको थियो। त्यसपछि बिहीवार, शुुक्रवार र शनिवार दिनभर छिनछिनमैं बत्ती गइरहने समस्याले मेशिन चलाउनै नसकिएको जिल्ला अस्पताल सर्लाहीका जनस्वास्थ्य निरीक्षक श्रीप्रसाद साहले बताए।

उनले मेशिन सञ्चालन नभए पनि शुक्रवार ३० जनाको थ्रोट स्वाब सङ्कलन भएको बताए। बुधवार, बिहीवार र शुक्रवारको केही स्वाबको रिपोर्ट आउन बाँकी रहेको थियो भने शनिवारको स्वाब सबैको रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ। यता शनिवार सार्वजनिक बिदा परेकोले आज मात्रै रिपोर्ट आउन सक्ने जनस्वास्थ्य निरीक्षक साहले बताए।

अस्पतालमा जेनेरेटर र अन्य वैकल्पिक ऊर्जाको व्यवस्था नहुँदा ल्याबमा खटेएका कर्मचारी समस्यामा परेका छन्। जिल्ला अस्पतालमा वैशाख १७ गतेदेखि ल्याब सञ्चालन भएयता शनिवारसम्म ३९० जनाको स्वाब सङ्कलन भएको छ। सर्लाहीमा शुक्रवार बिहानसम्म जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या २४३ पुगेको स्वास्थ्य कार्यालय सर्लाहीका बलिराम यादवले जानकारी दिए भने चारजनाको कोरोना सङ्क्रमणबाट ज्यान गइसकेको यादवले बताए।

शुक्रवार र शनिवार सङ्कलित सबै स्वाबको रिपोर्ट आज आउने जिल्ला जनस्वास्थ्य कार्यालय, सर्लाहीले जनाएको छ। पिसिआर मेशिन चलाउन ९४ देखि ९६ जनाको थ्रोट स्वाब जम्मा हुनुपर्छ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्