हुलाकी सडक ः सिरहा खण्डमा कालोपत्र शुरू

लहान, २६ वैशाख/रासस

नेपालकै पहिलो राजमार्गका रूपमा रहेको हुलाकी सडक अन्तर्गत सिरहा खण्डमा कालोपत्र शुरू गरिएको छ। पूर्वमा बलान नदीदेखि पश्चिममा सदरमुकाम सिरहा बजारसम्म करीब २९ किलोमिटरको उक्त सडकमा कालोपत्र शुरू भएपछि स्थानीयवासी उत्साहित बनेका छन्।

सिरहा नगरपालिका–१९ देखि औरही गाउँँपालिका–४ लवटोलियासम्मको करीब पाँच किलोमिटर सडक कालोपत्र सकिएको सडक निर्माणको ठेक्का लिएको स्वछन्द, रोशन, महादेव खिम्ती जेभी कम्पनीका कन्ट्याक्ट म्यानेजर शशिकुमार यादवले जानकारी दिए। अन्य सडकखण्डमा समेत तीव्ररूपमा कालोपत्र भइरहेको जनाइएको छ।

दुर्ई लेनको उक्त सडक कालोपत्र गर्न रु एक अर्ब २० करोड २० लाखमा सम्झौता भएको ठेक्का कम्पनीका इन्जिनीयर चन्द्र यादवले जानकारी दिए। तीन वर्षभित्र काम सकिने गरी सम्झौता भएको र निर्धारित समयभित्रै सकिने गरी काम भइरहेको कम्पनीका म्यानेजर यादवले बताए।

मधेसकै लाइफलाइनका रूपमा मानिएको हुलाकी सडक निर्माणको काम आरम्भ भएपछि सो भेगका सर्वसाधारण खुशी भएका छन्। हुलाकी सडक निर्माण भएपछि मधेसको विकासले गति लिनाका साथै हजारौं युवाले रोजगारको विभिन्न अवसर पाउने स्थानीयवासीको विश्वास छ।

हुलाकी सडक जीर्ण हुँदा सर्वसाधारणले सास्ती बेहोर्दै आएका थिए। सडक निर्माण भएपछि सहजरूपमा सदरमुकाम पुग्न सकिने स्थानीयवासीको भनाइ छ। यस्तै पूर्व राजविराजदेखि पश्चिम बलानसम्मको सप्तरी खण्डमा करीब १८ किलोमिटर सडक कालोपत्र गरिसकिएको निर्माण कम्पनि रौता श्रेष्ठ दिवा जेभीका कन्ट्याक्ट म्यानेजर कमलप्रसाद यादवले जानकारी दिए। बाँकी सडकमा समेत कालोपत्र गर्न सकिनेगरी काम सकिसकेको र धमाधम कार्य भइरहेको कन्ट्याक्ट म्यानेजर यादवले बताए।

करीब २५ किलोमिटरको सो खण्डमा अहिले ११ वटा पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको उनको भनाइ छ।

डिभिएम सात मिटर र दुवै छेउको सोल्जर दुर्ई/दुर्ई मिटर गरी ११ मिटरको सडक निर्माण भइरहेको छ। विसं २०७७ असार मसान्तभित्र सडकको सबै काम सम्पन्न गर्ने लक्ष्य भए पनि सडक निर्माणका क्रममा विभिन्न स्थानका बासिन्दाले जग्गा विवादलाई लिएर अदालतमा मुद्दा हालेको र समयमा पुलहरू निर्माण नहुँदा काम अपेक्षाकृत अघि बढाउन नसकिरहेको कन्ट्याक्ट म्यानेजर यादवको कथन छ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्