प्रस, सिराहा, १२ भदौ/
सिराहाको कर्जन्हास्थित नन्दबाबा खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको छ । कर्जन्हा नगरपालिका–१ स्थित बाल्टियामा रु एक करोड ६४ लाख ६८ हजारको लागतमा उक्त खानेपानी आयोजना निर्माण भएको हो ।
सम्पन्न खानेपानी योजनाबाट वडा नं १ का ६१९ परिवारलाई शुद्ध खानेपानी प्राप्त हुने नन्दबाबा खानेपानी आयोजनाले जनाएको छ ।
कर्जन्हा नगरपालिकासँगको सहकार्यमा सबल नेपालद्वारा सञ्चालित ‘सामाजिक परिवर्तनका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता सुशासन सबलीकरण परियोजना’ले आयोजना निर्माण गरेको हो । निर्माण सम्पन्न आयोजना स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ ।
विसं २०७६ फागुन २० गतेदेखि निर्माण शुरू भएको उक्त खानेपानी आयोजनामा सबल नेपालको रु ७० लाख पाँच हजार ९५५ र नगरपालिकाको ९० लाख ७४ हजार ३७३ साथै लक्षित समुदायले तीन लाख ८८ हजार ४८५ खर्च बेहोरेका छन् ।
खानेपानी वितरण गर्न कुल एक लाख ५० हजार लिटर पानी भण्डारण क्षमता रहेको ओभरहेड टङ्की जडान गरिएको सबल नेपालका पालिका संयोजक रोजी श्रेष्ठले जानकारी दिइन् ।
उक्त टङ्कीमा पानी शुद्धीकरणका लागि स्वचालित उपकरणसमेत जडान गरिएको छ । खानेपानीका इनार र कुवाहरू सुक्दै जान थालेपछि उक्त आयोजना निर्माण गर्नुपरेको वडा नं १ का अध्यक्ष फणिन्द्र पोखरेलले बताए ।
खानेपानीको दिगोपनका लागि प्रत्येक परिवारबाट न्यूनतम १० युनिट प्रयोग गरेबापत रु ८० महसूल सङ्कलन गर्ने र थप प्रतियुनिट रु छ महसूल निर्धारण गरिएको नन्दबाबा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।