सम्झौता अवधि सकिंदासम्म १३ प्रतिशत काम

प्रस, सप्तरी, १२ भदौ/
सप्तरीको राजविराज–छिन्नमस्ता–सीमासम्मको सडक निर्माण अवधि सकिंदासम्म जम्मा १३ प्रतिशत मात्रै काम भएको छ । सडक डिभिजन कार्यालय, लहानलसँग ठेकेदार कम्पनीले गरेको सम्झौता अनुसार म्याद सकिंदासम्म पनि १३ प्रतिशत मात्रै काम भएको हो ।

राजविराजबाट १० किलोमिटर दक्षिणमा पर्ने यो सडकले भारतीय सीमाबाट सप्तरीको सदरमुकाम राजविराज हुँदै प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिर जोडिएको छ । बाटो नबिग्रँदा ३० रुपैयाँ भाडा लाग्नेमा अहिले बाटो खराब भएको कारण दोब्बरभन्दा बढी ७० रुपैयाँ टेम्पोले लिने गरेको छ ।

वर्षायाममा सडकका ठाउँठाउँमा खाल्डो हुनुका साथै पानी जमेर पोखरी बनेका छन् । यसले सडकमैं सवारी दुर्घटना हुने खतरा छ । सडकको दुर्दशाका कारण सवारीसाधनले ठाउँठाउँमा यात्रु ओराल्दै र चढाउँदै गन्तव्यतर्फ जाने गरेका छन् । जोखिम मोलेर सवारी चलाउनुपरेको उक्त सडकमा चल्ने टेम्पो चालकहरूको गुनासो छ । सडक बिग्रिएको कारण बर्खा लागेदेखि बससेवा भने बन्द छ ।

सडक डिभिजन कार्यालय लहानले २०७९ साल असार २३ गते साह इन्जिनीयरिङ प्रालिलाई २५ करोड ८८ लाख दुई हजार रुपैयाँमा दुई वर्षको अवधि राखेर ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार उक्त निर्माण कम्पनीले २०८१ असार ३० गतेसम्म यो सडक निर्माण पूरा गरिसक्नुपर्नेमा हालसम्म १३.३३ प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

हरेक वर्ष दशैं तथा दुर्गापूजाताका नेपाल र भारत दुवैतर्फबाट छिन्नमस्ता जोड्ने सडकमा भक्तजनको चाप बढ्ने गर्छ । सडक नबन्दा श्रद्धालु भक्तजनहरूको आवागमनमा नकारात्मक प्रभाव पर्ने भन्दै स्थानीय बासिन्दा चिन्तित छन् ।

यस सम्बन्धमा छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले निर्माण कम्पनीको लापरवाहीका कारण सडक नबनेको बताए । उनले आफूसहित गाउँपालिकाका जनप्रतिनिधिहरूले सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीदेखि विभागीय प्रमुख हुँदै अघिल्लो सरकारका प्रधानमन्त्रीसमेतलाई भेटेर सडक बनाउन ध्यानाकर्षण गराए पनि कतै सुनवाइ नभएको गुनासो गरे ।

अब सडकका लागि छिन्नमस्ताका जनप्रतिनिधिहरू सिंहदरबार पुगेर आन्दोलन गर्ने योजना रहेको अध्यक्ष चौधरीले बताएका छन् ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्