प्रस, वीरगंज, ९ असोज/
वीरगंज महानगरपालिकाले अनुमतिविना सञ्चालित नौवटा शैक्षिक संस्थालाई दण्ड–जरिवाना र कारबाई गरेको छ ।
महानगरको शिक्षा समितिको हिजो बसेको बैठकले संस्थागत विद्यालय नियमन समितिले अनुगमनका क्रममा सिलबन्दी गरेका नौवटा शैक्षिक संस्थालाई रु एक/एक लाख जरिवाना गर्नुका साथै शैक्षिक कार्यक्रममा रोक लगाउने र व्यवसाय दर्ता गरेका शिक्षण संस्थाहरूको दर्ता पनि खारेज गर्ने निर्णय गरेको छ ।
शिक्षा समितिद्वारा गठित संस्थागत विद्यालय नियमन समितिले गत भदौ १३ गतेदेखि अनुगमन गर्ने क्रममा अवैधरूपमा सञ्चालित नौवटा शिक्षण संस्थामा सिलबन्दी गरेको थियो ।
नियमन समितिका संयोजक ईश्वरचन्द्र यादवले अनुमति नलिई सञ्चालनमा रहेका नौवटा कलेज, एउटा प्रिस्कूल तथा कलेज सञ्चालनका लागि आफ्नो अनुमति दुरुपयोग गर्न दिने नौवटा विद्यालयलाई कारबाई गर्नुपर्ने प्रतिवेदन पेश गरेका थिए । सोही प्रतिवेदनको आधारमा शिक्षा समितिको हिजो बसेको बैठकले अवैध शैक्षिक संस्थालाई जरिवाना तथा बन्द गरी कारबाई गर्ने निर्णय भएको शिक्षा महाशाका प्रमुख अरविन्दलाल कर्णले बताए ।
समितिले सङ्घीय शिक्षा ऐन २०२८ को दफा १७ (१) (क) तथा महानगर शिक्षा ऐनको दफा ४१ अनुसार दण्ड, सजाय एवं जरिवाना गर्ने निर्णय गरेको उनले बताए ।
वीरगंज महानगरले अवैधरूपमा सञ्चालन भएको ठहर गर्दै वीरगंज स्कूल अफ ल, युनिभर्सल कलेज, इम्पिरियल कलेज, अन्नपूर्ण पब्लिक कलेज, प्रिन्सटन कलेज, युनिभर्सल +२ कलेज, सत्यम पब्लिक कलेज, पर्सा म्यानेजमेन्ट कलेज, नेशनल कलेजलाई रु एक/एक लाख जरिवाना गरेको छ भने बिजीबिज किड्स प्रिस्कूललाई रु ५० हजार जरिवाना गरेको छ ।
यस्तै, आफ्नो अनुमतिपत्र दिएर अन्य विद्यालय सञ्चालन गराएर दुरुपयोग गरेको कसूरमा पिस जोन एकेडेमी, ओसिस मावि, ग्रीनल्यान्ड मावि, गोल्डेन वाटिका स्कूल, ज्ञान निकेतन मावि, न्यूवेभ एकेडेमी, एन्जल इन्टरनेशनल बोर्डिङ स्कूल, मूनलाइट इङ्लिश बोर्डिङ स्कूल र वीरगंज सेन्ट्रल स्कूललाई पनि रु ५०/५० हजार जरिवाना गर्ने निर्णय गरेको छ ।
बैठकले अनुमति नलिएका शैक्षिक संस्थालाई भवन/कोठा भाडामा दिने घरधनीलाई घरबहाल कर दाखिला गर्न लगाउने र अब उप्रान्त अनुमति नलिएका शैक्षिक संस्थालाई घर/कोठा भाडामा नदिन सचेत गराउने निर्णय गरेको छ ।
बैठकले सिलबन्दी भएका शैक्षिक संस्थाले तत्काल प्रक्रिया पुर्याइ अनुमति माग गर्न आएमा नियमानुसार शैक्षिक संस्थालाई अनुमति दिन सकिने शिक्षा महाशाखा प्रमुख कर्णले बताए ।