राधेश्याम पटेल, परवानीपुर, १३ भदौ/
वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह सञ्चालन गर्न पाँच वर्षको ठेक्का पाएको प्रिस्टिन भ्याली प्रालिले चाँडै आफ्नै रेल सञ्चालन गर्ने योजना अघि बढाएको छ ।
कम्पनीले नेपाली आयातकर्ताको मालसामान ढुवानीका लागि कोलकाता, हल्दिया र विशाखापट्टनमबाट आफ्नै रेलसेवा शुरू गर्नेगरी योजना अघि बढाएको चिफ अपरेशन अफिसर अतुल शर्माले जानकारी गराए । एक महीनाअघि नेपाल–भारत सरकारबीच भएको रेलवे सर्भिस एग्रिमेन्ट (आरएसए) अनुसार अब निजी कम्पनीहरूले पनि यो रूटमा रेलसेवा सञ्चालन गर्न सक्ने व्यवस्था भएकोले प्रिस्टिनले यो योजना अघि बढाएको हो ।
उनका अनुसार कम्पनीले भारतका पाँचवटा बन्दरगाह सञ्चालन गरिरहेको अनुभव र आफ्नै रेलवे सेवाले भारतमा मालसामान ढुवानी गरिरहेकोले आगामी दिनमा खासै समस्या नआउने उनले बताए । यसअघि भारतीय रेलवेको भगिनी संस्थाको रूपमा रहेको कन्टेनर कर्पाेरेशन अफ इन्डियन रेलवे (कंकर)ले मात्र नेपालको आयात–निर्यातको लागि मालसामान ढुवानी गर्ने गरेको थियो ।
सन् २००० देखि निर्माण शुरू भएको सुक्खा बन्दरगाह सन् २००४ देखि सञ्चालनमा आएको हो। करीब १७ वर्षदेखि अहिले पनि एकमात्र रेलवे कम्पनी कंकरले नै आफ्नो रेलबाट मालसामान ढुवानी गर्दै आएको छ । गत वर्षदेखि प्रिस्टिनले सुक्खा बन्दरगाह सञ्चालन गर्न ठेक्कामा लिएपछि आफ्नो रेल चलाउन खोजिरहेको थियो । यससम्बन्धी भारत सरकारसँग आरएसए भएपछि कंकरको १७ वर्षको एकाधिकार हट्ने विश्वास लिइएको छ ।
वीरगंजका उद्योगी प्रदीप केडिया रेल सुविधामा प्रतिस्पर्धा भएपछि आयात–निर्यात भाडामा पनि कमी आउने दाबी गर्छन् । “अहिले एकलौटी रेलसेवा प्रदायक संस्था कंकर छ, भोलि प्रिस्टिनसँगै नेपाली र भारतीय अन्य निजी कम्पनीले मालसामान ल्याउन थाल्छन्,” उनले भने, “यसरी विकल्प धेरै भएपछि व्यवसायीलाई कम भाडा पर्छ ।”
प्रिस्टिनका चिफ कमर्शियल अफिसर विकाश शर्माका अनुसार कम्तीमा कंकरभन्दा २० देखि २५ प्रतिशतसम्म कम भाडामा मालसामान अझै सुरक्षित किसिमले नेपाली व्यवसायीलाई ल्याएर दिन सकिन्छ ।
उनका अनुसार बाइरोड टेलरमा राखेर आइसिपी मार्गबाट आउने कारहरूलाई पनि अटोमोबाइल फ्रेट कन्टेनर (कार ढुवानी गर्ने विशेष कन्टेनर) मा राखेर ल्याउने लक्ष्य छ । त्यसैगरी, पाम, सोयाबिन र सनफ्लावर कच्चा तेल पनि ट्याङ्करमा लोड गरी सडक मार्गबाट वीरगंज भिœयाउँदै आइएकोमा रेलबाटै कसरी ल्याउन सकिन्छ, कम्पनीले योजना बनाइरहेको बताइएको छ ।
रेलबाटै कार र तेलको ढुवानी हुन थालेपछि सडकमार्गको ट्राफिक जाम, बढी भाडाको तनाव र बाटोमा कारमा क्षति पुग्ने वा ट्याङ्करबाट तेल चोरी हुने समस्याबाट मुक्ति पाउन सकिन्छ । पछिल्लो एक वर्षमा सुक्खा बन्दरगाहमा ६२ हजार २० फिटे कन्टेनर अर्थात् ७ सय ¥याक, २४० ¥याक बोराबन्द सामान र १८० ¥याक फलामको कच्चा पदार्थ यो बन्दरगाहबाट भित्रिएको छ ।
अहिले एउटा ¥याकमा दुर्ई/चार वटा कन्टेनरमा कार आयात हुन्छ भने कम्पनीले ९० वटा कन्टनेर भएको कार ढुवानी गर्ने विशेष खालको कन्टेनरयुक्त रेलसेवा र तेल ढुवानीका लागि ९० वटा ट्याङ्कर भएको रेल चलाउने सोच बनाएको छ ।