प्रस, गरुडा, २३ वैशाख/
दर्जनौंको सङ्ख्यामा झुन्डमा आउने नीलगाईले आफूहरूलाई गरीब बनाएको पीडित किसानहरूले बताउन थालेका छन्।
बाह्रै महीना जुनसुकै बाली खाइदिएर नीलगाईहरूले निकै अप्ठ्यारो पारेको किसानहरूको भनाइ छ।
सर्लाहीको धनकौल गाउँपालिका–६ छोटौलका ६८ वर्षीय किसान रामचन्द्र राय भन्छन्–घोंडगदहा त हमनीके बुझलजाओ गरीब बनादेलक।
सर्लाही र रौतहटबीच बग्ने बागमती नदीको विशाल बगरमा सयौंको सङ्ख्यामा जताततै नीलगाई देखिन्छन्। बाली कुरेर बसुन्जेल नआउने र घर फर्कनेबित्तिकै बालीमा पसेर नोक्सान पार्ने गरेको राय बताउँछन्। बागमतीको बगरमा नीलगाईकै कारण धेरै आम्दानी हुने तरकारीलगायत बाली लगाउन किसानहरूको आकर्षण कम हुँदै गएको बताउँदै बगरको उब्जाउ जमीनमा लगाइने मसुरो, आलस, गहुँ तथा आलुदेखि उखुसम्मको बाली नीलगाईबाट जोगाउन निकै समस्या भएको बताउँछन्। गाई र भैंसी चराउँदै गरेका राय कुनै उपायले नीलगाई नियन्त्रण गरिदिन आग्रह गर्छन्।
सर्लाहीको धनकौल गाउँपालिका–५ बखरीका ३२ वर्षीय प्रमोदसाह कानू पनि नीलगाईले किसानलाई हैरान पारेको बताउँछन्। किसानले उब्जाएको बाली नीलगाईले नोक्सान नपु–याउने हो भने बगरको बालीले पनि किसानलाई समृद्धि दिन सक्ने कानूको बुझाइ छ तर हरेक वर्ष र हरेक बाली नीलगाईले नोक्सान पु–याउने तथा नीलगाईबाट उब्रेको बालीमात्र किसानले भिœयाउनुपर्ने भएकोले बगरको जमीनमा किसानले उतिसारो मिहिनेत गर्न नचाहेको बताउँछन्।
बागमती नदीको किनारैकिनार उत्तरी जङ्गलदेखि दक्षिणमा भारतको बोर्डरसम्म नीलगाईले किसानलाई हैरान पारेको छ। बागमती नदीको बगरमा पूर्वतिर सर्लाही र पश्चिमतिर रौतहटका किसानको बाली वर्षौंदेखि नीलगाईले नोक्सान पु–याउने गरेको छ। यसैगरी लालबकैया नदीको बगरमा पनि उत्तरमा जङ्गलैदेखि दक्षिणमा निकै टाढासम्म नीलगाईले बालीमा नोक्सान पु–याउँदै आएको छ। किसानको वर्षौंदेखिको समस्याको रूपमा नीलगाई रहे पनि समाधान हुन नसक्दा किसानको चिन्ता बढ्नुका साथै समस्या पनि बढ्दै गएको छ।
गत वर्ष राजपाका नेता तथा पत्रकार रेवन्त झाको नेतृत्वमा प्रदेश मन्त्रालयमा नीलगाईको आतङ्क नियन्त्रणका लागि ज्ञापनपत्र पनि बुझाइएको थियो।