प्रस, परवानीपुर, २७ पुस/
मिनी टेस्ट राष्ट्रिय क्रिकेट प्रतियोगिताको रूपमा चिनिने जय ट्रफीको अन्तिम चरणको लिग खेल वीरगंज र जनकपुरमा शनिवारदेखि शुरू भएको छ ।
दुई दिवसीय यो अन्तिम लिग खेलको हारजीतले १४ जनवरीदेखि हुने तीन दिवसीय फाइनल खेलमा सहभागी हुने टीम निश्चित गर्नेछ । आज पहिलो दिनको खेल समाप्तिपछि प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब नै पुग्ने सम्भावना देखिएको छ । वीरगंजमा त्रिभुवन आर्मी क्लब र मधेस प्रदेश टीमबीच भइरहेको खेलमा टस हारी पहिले ब्याटिङ गरेको आर्मीले ५९ दशमलव तीन ओभर खेल्दै नौ विकेटको क्षतिमा २२५ रन बनाइ पारी समाप्तिको घोषणा ग¥यो । जसमा आर्मीका वशिर अहमदले ५२ र इमरान शेखले ४२ रनको योगदान गरे ।
मधेस प्रदेशका रञ्जीत कुमारले १६ दशमलव तीन ओभर बलिङ गर्दै तीन मेडेनका साथ ४४ रन खर्चेर पाँच विकेट लिए । प्रदीप पासवानले दुई, कप्तान हरिशङ्कर साह र अभिषेक तिवारीले समान एक/एक विकेट लिए । आर्मीको पहिलो पारीपछि मधेसले ३५ दशमलव पाँच ओभर खेल्दै मात्र १०२ रनमैं सबै विकेट गुमाउन पुग्यो । आर्मीले फलोअन दिएर दोस्रो पारी खेल्न मधेसलाई मैदानमा बोलाएको छ । मधेसको पहिलो पारीमा कप्तान हरिशङ्कर साहले ३१ रन बनाए । अरू खेलाडीको ब्याटिङ खासै चलेन । मधेसका शैलेन्द्र साह र रूपेश सिंह शून्यमा आउट भएका थिए भने नीरज यादव आठ, साहिल पटेल नौ र विशाल पटेलले तीन रन मात्र बनाए । आजको खेल समाप्तिसम्म मधेस दोस्रो पारीमा एक ओभरमा विकेट क्षति नभई दुई रनकोे अवस्थामा छ । आइतवारको खेलमा आर्मीले चाँडै आउट गर्ने र मधेसका खेलाडीले टिकेर खेल्ने कोशिश गर्नेछन् ।
जनकपुरमा जारी बाग्मती प्रदेश र नेपाल पुलिस क्लब (एनपिसी)बीचको खेलमा पनि बाग्मतीले फितलो प्रदर्शन गरेको छ । टस हारी पहिले ब्याटिङ गरेको बाग्मतीले ३३ दशमलव दुई ओभरमा १० विकेटको क्षतिमा मात्र ११२ रन बनायो । जसमा बाग्मतीका इशान पाण्डेको सर्वाधिक ७१ रनको योगदान रह्यो । अन्य ब्याटरहरूको ब्याट खासै चल्न सकेन । बाग्मतीका खेलाडीहरूमा सन्दीप लामिछाने, सूर्य तामाङ, रोशन विक गरी तीनजना डकआउट भएपछि बाग्मतीको योगफल न्यून हुन पुग्यो । माथिल्लो क्रमका छजना ब्याटरले न्यून रन जोडेपछि बाग्मतीको अन्तिम लिग खेलमा प्रदर्शन फितलो भएको हो ।
बलिङतर्फ पुलिसका ललित राजवंशीले नौ ओभरमा दुई मेडेनका साथ २७ रन खर्चेर चार विकेट लिए भने श्रवण यादवले तीन, कुशल भुर्तेलले दुई विकेट लिए । नेपाल पुलिसले पहिलो पारीमा ४५ दशमलव पाँच ओभरमा १० विकेटको क्षतिमा २१५ रन बनाएको छ । जसमा पुलिसका अमित श्रेष्ठले ७९, अर्जनु साउदले ७७ र गुलशन झाले १७ रनको योगदान गरेका छन् भने बाग्मतीका सन्दीप लामिछानेले चार, नन्दन यादवले दुई, प्रतीश जिसीले दुई विकेट लिए । आजको खेल सकिंदा बाग्मतीले दोस्रो पारी अन्तर्गत चार ओभरमा विकेट नगुमाइ आठ रन बनाएको छ ।