प्रस, परवानीपुर, २१ पुस/
नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा आइतवारदेखि मधेस प्रदेशमा जय ट्रफी मेन्स एलाइट कप शुरू भएको छ । वीरगंज र जनकपुरमा आयोजना भइरहेको प्रतियोगिताको औपचारिकरूपमा उद्घाटन हुँदै प्रतियोगिता शुरू भएको हो । वीरगंजको नारायणी क्रिकेट ग्राउन्डमा जारी दुई दिवसीय पहिलो लिग म्याच अन्तर्गत नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबबीच खेल भइरहेको छ । टस हारेर पहिला ब्याटिङ गरेको आर्मी जम्मा १२१ रनमा अलआउट भएको छ । नेपाल पुलिस क्लबका बलर ललित राजवंशीको घातक बलिड्ढो अगाडि आर्मीका ब्याटरहरू चल्न सकेनन् । कुनै पनि ब्याटरले २५ रनभन्दा बढी रन बनाउन सकेनन् । आर्मी ३४.४ ओभर खेल्दै १२१ रनमा अलआउट भएको थियो । कुशल मल्लले सर्वाधिक २५ रन बनाए भने भीम सार्कीले २२ र कप्तान विनोद भण्डारीले २१ रन बनाए ।

पुलिसका ललित एक्लैले सात विकेट लिए । ललितले १७.४ ओभरमा ४७ रन दिएर सात विकेट लिए । कुशल भुर्तेल, श्रवण यादव र राशिद खानले एक/एक विकेट हात पारे । ललितले सन्तोष कार्की, तीर्थराज दास, सोमपाल कामी, वशिर अहमद, विवेक यादव, साहब आलम र आकाश चन्दको विकेट लिएका थिए ।

त्यसैगरी, जनकपुरमा भइरहेको बाग्मती प्रदेश र मधेस प्रदेशबीचको अर्को खेलमा ‘टी ब्रेक’ हुँदासम्म मधेसले ३३ ओभरमा सात विकेट गुमाएर ९८ रन बनाएको छ । अभिषेक तिवारी १० तथा प्रदीप पासवान एक रन बनाएर खेलिरहेका छन् । बाग्मतीका सन्दीप लामिछानेले चार विकेट लिंदा नन्दन यादव, प्रतीश जिसी र सूर्य तामाङले एक/एक विकेट लिएका छन् ।

वीरगंजको खेलको उद्घाटन वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले गरेका थिए । मिनी टेस्ट म्याचको रूपमा चिनिने यो प्रतियोगिता पहिले एलाइट कपको नामले आयोजना हुन्थ्यो तर २५ वर्षपश्चात् क्यानका संस्थापक जयकुमार शाहको नामले यो प्रतियोगिता आयोजना भइरहेको छ । यस अघि २०३७ देखि २०५७ सम्म यो प्रतियोगिता आयोजना भएको थियो । लामो फम्र्याटको खेलबाट खेलाडीहरूमा टिकेर खेलने सीपको विकास भई एकदिवसीय र टेस्ट खेल खेल्न सक्ने यो प्रतियोगिताले मदत गर्छ ।

पर्सा क्यानका अध्यक्ष मनीष सिंहको अध्यक्षतामा भएको कार्यक्रममा वीरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, जय ट्रफीका निर्देशक सुवास जैसवाल, पर्साका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेललगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here