दिनेश मिश्र, वीरगंज, १० माघ/
पटेर्वासुगौली गाउँपालिकाको निचुटामा जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगिता–२०८० अन्तर्गत बुधवार भएको दोस्रो दिनको खेलमा बहुअरीपिडारी क्रिकेट क्लब विजयी भएको छ । बहुअरीपिडारी क्रिकेट क्लबले बगही युवा क्लबलाई नौ विकेटअन्तरले पराजित गरेको आयोजकले जानकारी गराएको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको बगहीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ८९ रन बनाएको थियो । प्रतिउत्तरमा बहुअरीपिडारी क्रिकेट क्लबले आठ ओभरमा एक विकेट मात्र गुमाएर लक्ष्य हासिल गरेको थियो । आजको खेलमा चार विकेट लिएका र २६ रन बनाएका बहुअरीपिडारीका कालु ‘म्यान अफ दी म्याच’ घोषित भए ।
भोलि बिहीवारको खेल कालिकामाई स्पोट्र्स र भारतको नरकटियागंज युवा क्रिकेट क्लब हरपुरबीच हुने सचिव ताहिरले बताए । निचुटा स्पोट्र्स क्लबको आयोजना र पटेर्वासुगौली गापाको सहयोगमा हिजोदेखि प्रतियोगिता शुरू भएको हो । गापाध्यक्ष दिनेश चौधरीले हिजो उद्घाटन गरेको प्रतियोगितामा आठ वटा क्रिकेट टीम सहभागी छन् ।