प्रस, वीरगंज, १० माघ/
नारायणी क्रिकेट मैदानमा जारी नेशनल इन्फोटेक (एनआई) कप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधवारदेखि सेमिफाइनल चरणका खेल शुरू भएको छ ।
बुधवार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक नेशनल इन्फोटेक कलेजले हेटौंडा स्कूल अफ म्यानेजमेन्टलाई पराजित गर्दै फाइनलको यात्रा सुरक्षित गरेको छ । आज भएको खेलमा टस जितेर नेशनल इन्फोटेकले ब्याटिङ गरेको थियो । निर्धारित २० ओभरको खेलमा छ विकेट गुमाएर नेशनलले १४० रन बनायो । नेशनलका राहुल हकले ४५, सफवान अलीले ३६ र वशिम अली मन्सुरीले १८ रन बनाएका थिए । हेटौंडा स्कूलका प्राञ्जल उपाध्यायले चार विकेट लिए भने राजा अहमद र विवेक बानियाले एक/एक विकेट लिए ।
१४१ रनको विजयी लक्ष्य पाएको हेटौंडा स्कूल १६.४ ओभरमा सबै विकेट गुमाएर ७५ रनमा सीमित भयो । नेशनलका वशिम अली मन्सुरीले पाँच विकेट, अरबाज हुसेनले तीन र सलमान मन्सुरीले एक विकेट लिए ।
पहिलो सेमिफाइनल खेलको ‘म्यान अफ दी म्याच’ वशिम अली मन्सुरी घोषित भए र उनलाई पर्सा क्रिकेट सङ्घका पूर्वअध्यक्ष कृष्ण कन्हैयाले पुरस्कृत गरेका थिए ।
भोलि बिहीवार ग्लोबल बिजनेश कलेज र वीरगंज पब्लिक कलेजबीच दोस्रो सेमिफाइनल खेल हुने नेशनल इन्फोटेक कलेजका प्रबन्ध निर्देशक मनीष सिंहले बताए ।