- सञ्जय मित्र
आफ्नै भविष्य सपार्न टन्टलापुर घाममा हलो जोतिरहेको धरखनलाई अहिले के हुन गइरहेको छ, थाहै भएन, नत्र ऊ सतर्क भइहाल्थ्यो ।
लू चलिरहेको छ । तिर्खाले घाँटी सुकिसक्यो । अब एक कट््ठा जति मात्र जोत्न बाँकी छ । असारको आधाआधी बितिसकेको भए पनि बीउ खसाल्न पाएको छैन । धरखनले मात्रै होइन, गाउँका कुनै पनि किसानले बीउ छरेका छैनन् । हिजो राति गाउँमा भ्यागुतोको बिहे गराइएको छ । यसपटक चिन्ने र जान्नेहरूले नै भाले भ्यागुतो र पोथी भ्यागुती चिनेर उमेर तथा रङ मिलाई जोडी बनाएर धुमधामसित बिहे गराएका हुन् । बाजा बजाएर तरहारीसम्म बिदाई पनि गरेका छन् । गाउँका सबै ठूलाबडा, गण्यमान्य, पञ्चभलाद्मी र जान्नेहरूको एकमत भएपछि अहिलेसम्म गाउँको सबै सङ्कट टर्दै आएको छ । अब त पानी कसो नपर्ला ?
यही ध्याउन्नमा धरखन एकोहोरिएर ‘आऽ हट, दू फेरा आउर’ भन्दै हातमा लिएको लट्ठी हिर्काउन भनी उठाउँथ्यो तर गोरुलाई हिर्काउँदैनथ्यो ।
एक हुल आइमाईहरूले आफ्नो खेतको चारैतिरबाट आफूलाई घेरिसक्दा पनि उसले चाल पाएको थिएन । खेत जोतिरहँदा मोडमा पुगेपछि उसले अगाडि पतरकी भौजीलाई नजीकै आइसकेको देख्यो । अचम्भित हुँदै टाउको उठाएर हेर्दा धनेसरी भौजी, औकठवाली, दोकनदारनी, गाFओवाली, मधुआमतारी सबैबाट पूरै घेरिसकेको पाउँछ । आज दशा लाग्ने भयो भन्ने कुराले उसको अभ्यन्तर काँप्यो । उसले बुझ्यो – आज आइमाईहरूले मलाई न्वारानको सम्झना गराउँछन् । मनमनै नजीकै रहेको डिहकी देवीलाई गुहार्यो – ‘हे डिहबारिन माई १ आजु हमर इज्जत बचाद’ !
धरखनले जोतिरहेको हलो अगाडि पतरकी भौजी उभिइन् । गोरुहरू त्यत्तिकै उभिए । धरखनलाई भनी पतरकी भौजीले–“हो धरखनवा ! तपाईं आफ्नो धोती फुकाल्नुहोस् । तपाईंलाई हामी दशा पुर्याउँदैनFैं हैन भने छठी रातको दूध बकोरवाउँछौं ।”
पतरकी भौजी सबै आइमाईको मेठ बनेर उभिएर कडा उर्दी जारी गरेपछि धरखनको कटुमा पिसाब मात्रै भएन । डरले गोडा काम्न थाले । केही सोच्न नभ्याउँदै दोकनदारनीले हातको लठी खोसिहाली र सोझै भनी–तिम्रो पिछवाडामा यही बैलको गोबर लगाइदिन्छौं ।
धरखन दुइटै हाथ जोडेर अनुनयको स्वरमा बोल्यो–“मलाई कुनै दशा नगर्नुहोस्, तपाईंहरूले भनेको सबै म मान्छु । सबै शर्त म पूरा गर्छु । मलाई केही नगर्नुस् ।”
उसको कुरो पूरा हुन नपाउँदै गाँओवाली प्याच्च बोली–“तपाईं एक फेरा पूरै नाङ्गो भएर आफ्नो खेतको परिक्रमा गर्नुहुन्छ ? हामी केही गर्दैनौं । तपाईंसित बर्हम बाबाको पूजाको लागि पैसा पनि लिंदैनौं ।” ऊ पनि भाउजूको नातामा पर्ने । भाउजूलाई देवरसित र देवरलाई भाउजूसित जिस्कन पाउने छुट हुन्छ । गाँओवालीले जिस्केरै भनेकी भएपनि धरखन आफ्नो धोती समात्दै धनेसरी भौजीतिर दयाको नजर दौडायो । “भौजी हो, म दुई सय रुपियाँ पूजाको लागि दिने भएँ । एक पौवा लडु पनि बर्हम बाबालाई चढाउँछु ।”
त्यस्तो टन्टलापुर घाममा हलो जोत्दै गरेका मानिस खोज्न हिंडेका महिलाहरूको समूहले आफ्नो बोहनी बिगार्न चाहेन । एउटीले धरखनको मुरेठा उतारेर आफ्नो पसिना पुछ्न थाली । अर्कीले गोरूलाई हलोबाट फुकाइदिई । पतरकी भौजीले लठी हातमा लिइन् र धरखनलाई पाँजरमा घोच्न थालिन् । धरखनलाई काउकुती निकै लाग्थ्यो । ऊ छटपटिन थाल्यो । धरखनलाई काउकुती लागेको देखेर तीन चारजनाले उसलाई काउकुति लगाउन थाले । काउकुती लाग्दा अलिकति हाँसो उठ्छ । अरूहरूले उसलाई हाँसेको देखेर झन् हँसाउन खोजे । ऊ हाँस्दाहाँस्दा भुइँमैं लड्यो । यही बेला मधुआमतारीले उसको धोती तानिदिई र भनी–“हे पतरकी, किन धरखन बौआको धोती खोलेकी ?” धरखनले यो कुरो बुझिसकेको थियो ।
पतरकी भौजीले धरखनलाई माया गरेजस्तो अँगालोमा च्याप्प समातिन् र भुइँमा पछारिन् । धरखन अब बापबाप चिच्याउन थाल्यो । आइमाईहरूले के के गरे, गरे । कसैले जुँगामा माटो दलेर उखेल्न खोजे त कसैले आँखीभौंको इज्जत लुटे । कोहीले धोती फुकालेर रुनु न हाँस्नु बनाइदिए । धन्न उसले लगाएको कट्टु चाहिं खोलेनन् तर पिछवाडामा कटुमाथिबाटै गोबर दलिदिए । एउटीले दुईवटा चुरा निकालेर धरखनको हाथमा लाइदिई । उसले जिस्केर घोषणा गरी –“धरखनवा पदनालाई अब मौगी बनाइदिएँ र म मरदनवा भएर बिहे गरिलिएँ । अब धरखन होइन धरखनी भई मेरी पत्नी भइहाली ।”
लामो समयदेखि पानी परेको थिएन । खेतको माटो अररो भइसकेको थियो । टन्टलापुर घामको कारण माटो निकै तातो भइसकेको थियो । घामको रापले त्यसै पसिना चुहिरहेको थियो । यसैमा धरखनवालाई आइमाईहरूले घसेटिरहेका छन् । यस्तो सामूहिक बेइज्जत त उसले कहिल्यै भोगेको थिएन । यसपटकको अनिकाल आफ्नो लागि काल बनेर आएको महसूस गर्यो । आइमाईहरू के के बोलिरहेकी थिए, तिनै जानून् । अब त शरीरको कुन अङ्गमा कसले के गरिरहेको छ त्यो पनि छुट्टाछुट्टै अनुभूति गर्न सकिरहेको छैन । मानिसले मानसिक र शारीरिक पीडा एकसाथ भोगिरहँदा आहत सोलोडोलोमा अनुभव गर्दछ ।
धरखनलाई तिर्खा पहिल्यै लागिसकेको थियो । प्रकृतिको रुद्रावतार बेहोरिरहेको अवस्थामा आईमाईहरूको अचानक प्रहारले अकल्पनीय पीडा सिर्जना गरेको थियो । उसको सहने क्षमताले बिस्तारै जवाफ दिन थाल्यो । धरखन विस्तारै शिथिल बन्न थाल्यो । जब धरखनको प्रतिक्रिया न्यून हुन थाल्यो तब त्यहीं बखत एउटीले एक घैला चीसो पानी उसमाथि खन्याइदिई ।
उसको चेतना पुनर्जागृत भयो । उसले ताजापन अनुभूति गर्दै केवल विन्तीको स्वर निकाल्यो–“हे महारानी १ तपाईंहरू जे भन्नुहुन्छ त्यो म पूरा गर्छु । अब ममाथि दया गर्नुहोस् । म दयाको भीख माग्दैछु ।” धरखनको क्षीण र निरीह स्वरले प्रभाव जमायो । पतरकी भौजीले निष्कर्ष सुनाइन् –“सबा सय रोपइआ र सबा किलो लडु । रोपाइआ अहिले गएर दोकानवालीको दोकानमा जम्मा गर्न लगाइदिनुहोला र सबा किलो लडु लिएर बेर डुब्नु अघि बर्हम बाबा मन्दिरमा आउनुहोला ।”
पतरकी भौजीको वाणीले रामवाणको काम गर्यो । धरखनले मुक्ति पायो । आफ्नो जीउ झार्दै उसले ओठबाट फुसफुसायो – “हे इनरदेव महराज ! मलाई यति दशा भए पनि दुनियाँको कल्याण होस्, आजभोलिमैं बरखा भइहालोस् । एक दुईजनालाई अप्ठ्यारो परे पनि दुनियाँलाई सुख प्राप्त हुन्छ भने त्यस्तो अप्ठ्यारोलाई राम्रै मान्नुपर्छ ।”
पतरकी भौजीको समूहले बोहनी सार्थक भएको मान्यो । सबै काम उधारोमा थियो । एउटीले धरखनको गमछा लिई । सबैले सहमति जनाए । अनि अर्को शिकारको खोजीमा आँखा कुदाए धेरैले । गाउँकै सिमानभित्र सात आठ कोला टाढा अर्को हरवाहा हलो जोतिरहेको थियो । महिलाहरूको समूह धरखनकै खेतबाट यसरी तितरबितर भए मानौं सबैजना सबैतिर फरक उद्देश्यले गइरहेका छन् । सबैजना सबैतिरबाट त्यो हरवाहा नेर पुग्दा उसलाई शङ्का हुँदैन । यदि हरवाहाले अनुमान लगाउन सक्यो भने उनीहरूलाई दशा पुर्याउन सकिंदैन । यदि हरवाहालाई नै फेला पार्न सकिएन भने बर्हम बाबाको पूजा कहाँबाट गर्ने ? कसरी गर्ने ? आइमाईहरूले आफ्नो घरबाट गर्न मिल्ने संस्कृति रहेको भए हरेक दिन पूजा गर्न सकिन्थ्यो तर जबसम्म हरफरौडी हुँदैन तबसम्म यस धर्मको निर्वाह हुँदैन । धर्म र संस्कृतिको निर्वाह परम्परा अनुसार हुन सक्यो भने राम्रो । आइमाईहरू तितरबितर हुन थालेपछि धरखनलाई पछुतो भयो – म आफ्नै सुरमा हलो जोतिरहेकोले यताउति हेरिनँ अनि सतर्क हुन पाइनँ । कम्तीमा मानसिकरूपमा तयार हुन पाएको भए मलाई यत्ति गार्हो हुने थिएन ।
साँझ बर्हम बाबाको मन्दिरमा सबा किलो लडु लिएर पूजा गर्न गयो तब धरखनले देख्यो–सात आठजना पुगिसकेका छन् । सबै आइमाईहरू पूर्णतया भक्तिनी लागिरहेका छन् भेषभूषा र त्यहाँको वातावरणले ।
धरखनले बर्हम बाबाको अगाडि शिर निहुरायो । उसको मनमा छिट्टै वर्षा हुने आशाको उदय भइरहेको थियो ।