• सञ्जय मित्र

आनन्दको खोजी मानिसले अनेक किसिमले गर्दछन्। मलाई लाग्दछ सन्तुष्ट हुनुका आफ्नै आधारहरू हुन्छन्। त्यही आधारले अलिकति बढी सन्तुष्टि दिंदा मानिस खुशी हुँदा रहेछन्, आनन्दित हुँदा रहेछन्। त्यही आनन्द पाउनको लागि मानिस सम्भवतः आधारको आकारमा वृद्धि गर्न खोज्दा रहेछन्।

म यायावर त होइन, तर यस प्रवृत्तिको केही झल्को भने ममा पाइन्छ। स्वमूल्याङ्कन हो यो। घुम्न मन पर्छ र कहिलेकाहीं आसपास नै भए पनि घुम्न निस्कन्छु। कहिलेकाहीं केही घण्टाको लागि निस्कन्छु भने कहिलेकाहीं केही दिनको लागि। कहिले कामको भारीले थिचिएर अलिकति आराम गर्न डुल्न निस्कन्छु त कहिले कामबाट पन्छिन पनि यायावर बनेको हुन्छु। कहिले त एक पन्थ दुई काज गर्न पनि यात्रारत हुन्छु।

यात्रामा नयाँपन भएन भने यात्राको आनन्द सन्तोषजनक हुँदैन। यात्राले त सन्तोष पनि दिनुप–यो नि १ हो, यात्राको उद्देश्य अनुसार सन्तुष्टि प्राप्त हुन्छ।

आज बुधवार हो। भदौ महीनाको तेस्रो बुधवार, १५ गते परेको छ २०७९ सालको। बिहान अलिकति पानी परेको छ तर काम लाग्नेगरी भने होइन। सर्लाही पुग्नु छ। सर्लाहीको बरहथवामा एकजना प्रमोद झासित एक छिन बरहथवाको इतिहासबारे छलफल गर्नुछ। त्यसपछि गोडैता बजारमा एक जनासित बज्जिका भाषा र साहित्यबारे केही छलफल गर्नुछ। अनि मलङ्गवा पुगेर होटलमा खाना खाई बज्जिका साहित्यकार रामचन्द्र महतो कुशवाहासित बज्जी साहित्यिक त्रैमासिकबारे सल्लाह गर्नुछ। उहाँ यस त्रैमासिकका प्रकाशक सम्पादक हुनुहुन्छ। मलङ्गवामैं उर्दू र हिन्दी गजलका अब्बल रचनाकार डा. वसी मिकरानीलाई भेट्नु छ। फर्कने बेला छतौनामा साहित्यकार मनमोहन सिंह मनोहरसित पनि संवाद गर्नुछ।

बिहान सात बजे नै निस्कनुपर्ने हो तर चाडको दिन परेकोले साहित्यकार सारथि मित्र किशुनदयाल श्रीकृष्णलाई केही सांस्कृतिक कारणले घरबाट निस्कन ढिलो हुन्छ र करीब सवा आठ बजे निस्कन्छौं सर्लाही, बरहथवाको लागि। बरहथवाको इतिहास बुझ्न यो मेरो तेस्रो यात्रा हो। यस अघि एक दिन पूरै र अर्को एक दिनको आधा यसै विषयमा छलफल गर्न खर्च गरिसकेको छु। अलिअलि अवगत हुँदैछ। आजको गन्तव्यको पहिलो उद्देश्य बरहथवासम्बन्धी जानकारी राख्ने भनिएका एक पात्रलाई भेट्नु र त्यसपछि दिनभरिको समय बज्जिका भाषा र साहित्यसित सम्बन्धित व्यक्तिको सान्निध्य प्राप्त गर्नुछ।

किशुन सर र म हुँदा व्यक्तिगत र पारिवारिक कुराकानी निकै कम हुन्छ। एक दोस्राका परिवारका सदस्यहरूको स्वास्थ्यप्रति बढी चासो हुन्छ। खेतीपातीको विषयमा पनि कहिलेकाहीं अलिकति गफगाफ भइहाल्छ तर स्थायी गफ भनेको बज्जिका भाषा र साहित्य नै हो। अहिले यस्तै गफसँर्गै बाइक हुइँकिदै छ समनपुर हुँदै बरहथवातर्फ।

पहिले मनमा आएको थियो बरहथवा ठूलो कि गरुडा ? अनिसँगै उम्रेको प्रश्नको टुसो हो – गरुडा बजार पहिले कि बरहथवा ? एकपटक त समनपुर र बरहथवाको जन्मको विषयमा पनि तुलनात्मक प्रश्न नउठेको होइन तर समनपुर त हजारौं वर्ष पुरानो इतिहास बोकेको ठाउँ हो। बरहथवा भने मेरो लागि अन्धकारमा छ किनभने गरुडाको इतिहास मेरो अगाडि  घामझैं छर्लङ्ग छ।

बरहथवाको इतिहासबारे प्रमोद झा सरसित कुराकानी गर्नुछ भन्ने विषयमा किशुन सरलाई अलिकति पनि जानकारी छैन। बरहथवा पुगेर प्रमोद सरसित भेट्छौं, उहाँको घरमा चिया खान्छौं। राम्रो सत्कार र उत्साहपूर्वक गफगाफ हुन्छ। त्यहाँको लागि आधा घण्टा समय छुट्याएको थिएँ, त्यत्ति पूरा हुन्छ। झा सरको हार्दिकतालाई सम्मान गर्दछौं र त्यहाँबाट सोझै निस्कन्छौं मलङ्गवातर्फ। बीचमा गोडैता बजारमा जसलाई भेट्नुपर्ने हो, त्यो अब फर्किंदा सम्भव हुन्छ भने मात्र, किनकि मलङवा भने नपुगी भएको छैन। सोचेभन्दा समयले छिटो बाकटे हानेको छ।

फर्किने बाटोमा नै लक्ष्य हुन्छ भने जाँदा बरु समयको बचत गर्ने र भनिएको ठाउँमा तोकिएको समयमा पुग्दा राम्रो। गोडैतामा कोहीसित समय लिइएको छैन तर मलङ्गवामा त भनेको छु ः हामी दुई जना ११ देखि १२ बजबीच आइपुग्छौं। यसरी तोकेर कसैलाई समय दिएपछि, परिस्थिति आफ्नो काबू बाहिरबाहेक पुग्नुपर्छ भन्ने मलाई लागेको छ। यसभन्दा पहिले खाना पनि खानु छ। खाना होटेलमैं खाने योजना छ।

यसै परिस्थितिलाई मध्यनजर गर्दै बरहथवाबाट हीरापुर ब्यारेज पुग्छौं र गोडैता अहिले पुग्नुछैन भने सोझै पूर्वतिर हानिन्छौं एकजनालाई सोधेर। यो हाम्रो पूर्व परिचित बाटो हो। धेरैपटक आवतजावत भएको छ। तुलनात्मक रूपमा सुगम पनि हो। जति सुगम भए पनि सर्लाहीमा रौतहटको जस्तो सडकको अवस्था छैन। त्यहाँको हकमा बाटो राम्रो छ भन्न सकिन्छ। ग्रावेल बाटो, ठाउँ ठाउँमा खाल्डाखुल्डी, कतै ठूलो ढुङ्गा त कतै बाटो काटेर पानी लगेको र यत्तिकै छोडिदिएको। बाइकले चाहेको गति लिन सक्ने अवस्था हुने कुरै भएन। यद्यपि हामीलाई धेरै हतार भइसकेको छैन।

किशुन सरले शिवनगरको बाटो जान्छ भन्दा सुनेको त हुँ तर शिवनगर कहाँ पर्छ भन्ने थाहा छैन। सर्लाहीमा पनि शिवनगर छ र शिवनगर नाम शिवकै मन्दिरको नामबाट जुरेको हो भन्ने पनि बुझेको छु तर अहिलेसम्म पुगेको छैन। बाटैमा पर्छ भन्ने कुरा त अहिले पनि सुनें तर यो बाटोभन्दा भित्र हो कि कता हो वा त्यहाँ के कस्तो छ भन्ने बुझ्नेतिर मन गएन। दिमागमा केवल मलङ्गवामा आदरणीय रामचन्द्र महतो कुशवाहा सरलाई दिएको समयमा पुग्न पाइयोस् र उहाँसित अनेक विषयमा गर्नुपर्ने कुरालाई सार्थकता दिन सकियोस् भन्ने विचारको बादल मात्र मडारिइरहेको छ।

हाम्रो यात्रा पूर्वाभिमुख छ। पाङ्ग्रा गुडिरहेका छन्। सानोतिनो गफगाफ चलिरहेको छ। दृश्यहरू आइरहेका छन्, पछाडि परिरहेका छन्। खेतमा अधूरो हरियाली लिएर धानको अनुहारमा निराशाजनक उत्सुकता छ। धानको मुन्टोले आकाश हेरिरहेको भान हुन्छ। बादलले केही देला कि भन्ने आशा धानलाई रहेको छ। वास्तवमा असारले तिर्खा मेटाउन सकेको छैन, साउनले त झन् तिर्खा बढायो। आधा भदौ बित्न लाग्दा पानीको अभावमा धानको बोटलाई जन्डिस लागेजस्तो छ। धेरै धानको अनुहार पहेंलो देखिएको छ। यात्रुहरूतिर हेर्दै धानले प्रकृतिले आफूमाथि गरेको अन्यायको अमूक बयान गरेको अनुभूति हुन्छ। धानको पीडाले मन व्यथित नहुने कुरै भएन।

मेरै एउटा खेतमा नहरको पानी यति धेरै छ कि धानलाई हानि गरिरहेको छ। अर्को खेततिर भने धानमा गरिएको सम्पूर्ण लगानी खेर जाने परिस्थिति आइसकेको छ। कठ्ठाको झन्डै एक हजारको दरले अहिलेसम्म खर्च भइसकेको छ तर धान उब्जने छाँटकाँट भने छैन। तर अहिले हामी यात्रारत फाँटतिर भने धानको अवस्था मध्यम नै रहेको छ। आकाशे पानी नपर्दा अपेक्षा गरेजस्तो नहरको पानी लाग्ने ठाउँमा पनि धान छैन।

फाट्टफुट्ट घरहरूलाई छिचोलिरहेका छौं। मानिसहरू अहिले धानको खेततिर देखिएका छैनन्। यसको अर्थ हो गाउँमैं छन्। आजको मौसम त्यति धेरै घमाइलो छैन। तैपनि किसानलाई अहिले खासै काम छैन। यही भावना लिएर अगाडि बढ्दै गर्दा देब्रेतिर एउटा मन्दिर देख्छौं, आकर्षक। अन्य मन्दिरहरू पनि देखिन्छन्। मूल मन्दिरजस्तो लाग्नेमा लेखिएको देख्छु ः शिवनगर। अनि दुवै हातले किशुन सरको काँध थिच्दै भन्छु ः रोक्नुस् किशुन सर, शिवनगरको मन्दिर हेरौं। (क्रमशः)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here