वाशिङ्टन, ७ फागुन/एएफपी

अमेरिकी राष्ट्रपति जो बाइडनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा आक्रमण गर्ने निर्णयमा पुगेको र आगामी दिनमा युक्रेनी भूगोलमाथि आक्रमण हुन सक्ने बताएका छन् ।

अमेरिकी गुप्तचर निकायले दिएको गोप्य जानकारीका आधारमा आफूले उक्त निष्कर्ष निकालेको र रूसले आक्रमण गर्दा सीमा क्षेत्रका युक्रेनी गाउँ तथा शहर मात्र निशानामा नरहने बाइडेनको भनाइ रहेको छ । रूसको आक्रमणको निशानामा राजधानी कीभ पनि पर्न सक्ने उनले बताए ।

यद्यपि केही युरोपेली मुलुक र अमेरिकाले भनेजस्तो रूसले आक्रमणको योजना बनाइरहेको भन्ने समाचारमा कुनै सत्यता नरहेको रूसी अधिकारीले बताउँदै आएका छन् । युक्रेनमाथि आक्रमण गर्ने रूसी योजना रहेको र यसलाई आफूले निस्तेज पारिदिएको भनी जस लिने दाउमा केही शक्तिराष्ट्र लागिपरेको र युक्रेन आक्रमणबारे अफवाह मात्र फैलाइरहेको रूसी अधिकारीले दाबी गरेका छन् । रूसले युक्रेनबाट टुक्रिएको पूर्वी क्षेत्रमा बनावटी सङ्कट खडा गरेर हमला गर्ने कारणका रूपमा प्रस्तुत गर्न सक्ने भय पश्चिमा राष्ट्रको छ ।

अमेरिकाले एक लाख ६९ हजारदेखि करीब दुई लाख रूसी सैनिक युक्रेन र वरपरका क्षेत्रमा भेला भइरहेको आकलन गरेको छ । त्यसमा पूर्वी युक्रेनका स्वघोषित डोनिएत्स्क र लुहान्स्क गणतन्त्रमा तैनाथ रूसी समर्थन प्राप्त लडाकूको सङ्ख्या पनि जोडिएको छ ।

यसैबीच ह्वाइट हाउसबाट गरेको टेलिभिजन सम्बोधनमा राष्ट्रपति बाइडनले रूसी फौजले युक्रेनमा आगामी दिन वा हप्तामा आक्रमण गर्ने योजना बनाएको विश्वास गर्ने आधार रहेको बताएका छन् । राष्ट्रपति पुटिनप्रति सङ्केत गर्दै उनले भने, “अहिलेको क्षणसम्म आइपुग्दा म विश्वस्त छु कि उनले त्यस्तो निर्णय गरिसकेका छन् ।”

यसअघि अमेरिकी राष्ट्रपति र उनका उच्च अधिकारीले यस्तो अवस्था रहे या नरहेको आफूलाई जानकारी नभएको बताउँदै आएका थिए । तर उनले रूसले अझै पनि कूटनीतिक बाटो रोज्न सक्ने र अहिले पनि तनाव कम गरेर वार्ताको टेबलमा फर्कन ढिला नभइसकेको बताए ।

यसअघि शुक्रवार रूसनिकट मानिने युक्रेनी नेताले युक्रेनले गोलाबारी बढाएको र हमला गरिरहेको भन्दै स्थानीयवासीको उद्धार गर्ने घोषणा गरेका थिए । उक्त समाचारलाई युक्रेनले बारम्बार आफूले आक्रमणको कुनै योजना नबनाएको बताउँदै खण्डन गर्दै आएको छ ।

रूसले युक्रेनको पूर्वी डोनबास क्षेत्रमा सन् २०१४ यता सशस्त्र विद्रोहलाई समर्थन गर्दै आएको छ । त्यहाँको द्वन्द्वमा १४ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here