प्रस, गरुडा, २७ माघ/
वनबिरालो मारेको अभियोगमा रौतहटमा पाँचजना पक्राउ परेका छन्। रौतहटको गुजरा नगरपालिका जङ्गलसहियानजीकबाट सातवटा ढाडे वनबिरालो मारेको अभियोगमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सबै युवक छन्।
बुधवार साँझ करीब ६ बजेको समयमा जङ्गलसहिया चोकदेखि पश्चिमको बाटोमा रातो झोला बोकेर शङ्कास्पद अवस्थामा हिंडिरहेको अवस्थामा एउटा टोलीलाई इलाका प्रहरी कार्यालय, विजयपुर लक्ष्मीनियाको प्रहरी टोलीले चेकजाँच गर्दा मृत अवस्थाका सातवटा वनबिरालो बरामद भएको थियो। झोलामा मृत अवस्थामा सातवटा वनबिरालो मृत अवस्थामा फेला परेपछि प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिकाका १८ वर्षीय पप्पु बरै, ३५ वर्षीय सञ्जय बरै, १८ वर्षीय अक्षय बरै, १८ वर्षीय सुनील बरै र १८ वर्षीय नीरज बरै रहेका छन्।
पक्राउ पर्नेहरूलाई इलाका प्रहरी कार्यालय, विजयपुर लक्ष्मीनियाले जङ्गलसहिया सबडिभिजन वन कार्यालयलाई बुझाएको छ। पक्राउ परेका पाँचैजनालाई नियन्त्रणमा राखेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत अनुसन्धान तथा कारबाईको प्रक्रिया अगाडि बढाइएको डिभिजन वन कार्यालय, रौतहटका प्रमुख अमरदेव यादवले जानकारी गराएका छन्।