ग्रामीण क्षेत्रबाट पनि बयलगाडा हराउँदै

0

ओमप्रकाश चौधरी, सेढवा, २७ माघ/

कृषि कार्यमा आधुनिक मेशिन तथा सवारीसाधन प्रयोग भएपछि ग्रामीण भेगको मुख्य सवारीसाधन बयलगाडा हराउन थालेको छ। एक ठाउँबाट अर्काे ठाउँमा सामान ओर्सान तथा मानिस आउजाउमा प्रयोग हुने बयलगाडा ग्रामीण क्षेत्रबाट पनि हराउँदै गएको छ।

खेत जोताइका लागि ट्याक्टरमा हलो, रोटाभेटर तथा आवागमनको लागि ग्रामीण क्षेत्रमा सवारीसाधन उपलब्ध हुन थालेपछि किसानहरूले गोरु पाल्न छाडेका छन्।  पटेर्वासुगौली गाउँपालिका–५ का शम्भु महतो थारूले कृषि कार्यका लागि विभिन्न आधुनिक मेशिनबाट खेतको खनजोत गर्न सहज, छिटो र सस्तो भएको कारण किसानहरूले गोरुलाई विस्थापित गरेको बताए।

उनले गोरु पाल्दा वर्षभरि एकजना कामदार लगाइरहनुपर्ने तथा कामदारको ज्याला निकै महँगो भएकाले किसानहरूले गोरु पाल्न छाडेको बताए। गोरु लगाएर बयलगाडाबाट सवारी गर्दा रमाइलो भएपनि यात्रा ढिलो हुने भएकोले बयलगाडा विस्थापित भएको उनले बताए।

जगरनाथपुर गाउँपालिका–३ का गुलाब राउत अहिरले गाउँमा गोरु कसैले नपालेकाले गाडाको प्रयोजन समाप्त भएको बताए। गोरु पाल्न र बयलगाडा चलाउन किसानका लागि आर्थिक हिसाबले झन्झटिलो भएकोले आधुनिक सवारीसाधनतिर किसानहरू लागेको उनले बताए।

जीराभवानी गापा–२ सेढवा निवासी शिवनाथ साह तेलीले एक वर्षअघिसम्म बयलगाडा सञ्चालन गर्दै आएका थिए। तर गत वर्ष उनले गोरु बिक्री गरेकाले अहिले घरमा गाडा मात्रै रहेको बताए। उनले आफ्नो गाईले दुईवटा बाछा जन्माएकाले आगामी दिनमा बयलगाडा सञ्चालन गर्ने बताए। उनले तीनवटा गाई पाल्दा थप दुर्ईवटा गोरु पाल्न समस्या नभएको बताए। गोरु भएकोले सानो जग्गामा जोताइ गर्न सहज भएको र कहिलेकाहीं बयलगाडाबाट पनि आम्दानी हुने गरेको बताए। अहिले उनको गाउँँमा आक्कलझुक्कल एक/दुई वटा बयलगाडा देख्ने गरिएको छ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here