मस्को २२ कात्तिक/सिन्ह्वा
रूसमा गएको २४ घण्टामा ३९ हजारभन्दा बढी नागरिकमा कोरोना भाइरसको सङ्क्रमण देखिएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरूले जानकारी दिएका छन्। साथै यो अवधिमा यहाँ एक हजार १७९ जनाको ज्यान गएको छ। यो समेतगरी यहाँ करीब ८८ लाख मानिसमा यो सङ्क्रमण देखिएको छ।
त्यसैगरी यहाँ अहिलेसम्म २ लाख ४६ हजार ८१४ जनाको ज्यान गएको पाइएको छ। यहाँ कोरोना भाइरसबाट हुने मृत्युदर करीब २.८१ रहेको पनि समाचारमा जनाइएको छ। यहाँका स्वास्थ्य अधिकारीहरूले रूसको मस्को शहरमा मात्र पछिल्लो २४ घण्टामा करीब पाँच हजारजनामा सङ्क्रमण देखिएको बताएका छन्।
भारतमा एकैदिनमा थप ११ हजार नयाँ सङ्क्रमित, २६६ को मृत्यु
नयाँ दिल्ली/एएनआई
भारतमा कोरोना भाइरसबाट एकै दिन थप ११ हजार ४५१ जना नयाँ सङ्क्रमित थपिएका छन्। सोही अवधिमा अरू २६६ जनाको कारोना भाइरसका कारण मृत्यु भएको सरकारी अधिकारीहरूले सोमवार जानकारी दिएका छन्।
केन्द्रीय स्वास्थ्य मन्त्रालय अनुसार पछिल्लो एक दिनमा १३ हजार २०४ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। एउटै अवधिमा नयाँ सङ्क्रमितहरूको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै भएकोले सङ्क्रमित अवस्थामैं रहेकाहरूको सङ्ख्या घट्दै गएको छ।
भारतमा अहिले सङ्क्रमित अवस्थामैं रहेकाहरूको कुल सङ्ख्या एक लाख ४२ हजार ८२६ छ। यो सङ्ख्या २६२ दिनपछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयले जनाएको छ। भारतमा अहिले पनि कोरोना भाइरसको महामारीको प्रभाव सबैभन्दा धेरै केरला राज्यमा देखिएको छ। केरलामा मात्रै पछिल्लो २४ घण्टामा सात हजार १२४ जना नयाँ सङ्क्रमित थपिएका छन् भने २१ जनाको मृत्यु भएको छ।
मङ्गोलियामा एक दिनमा सबैभन्दा थोरै नयाँ सङ्क्रमित
उलान बाटोर/सिन्हवा
मङ्गोलियामा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या सबैभन्दा थोरै देखिएको छ। सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मङ्गोलियामा ४५० जना नयाँ सङ्क्रमित थपिएका हुन्। यो सङ्ख्या मे १८ पछिकै सबैभन्दा थोरै भएको पनि स्वास्थ्य मन्त्रालयका अधिकारीले जनाएका छन्। मङ्गोलियामा अहिलेसम्म कुल सङ्क्रमितहरूको सङ्ख्या तीन लाख ६८ हजार ६०० पुगेको तथ्याङ्क मन्त्रालयसँग छ।
त्यसैगरी अहिलेसम्म कोरोनाका कारण एक हजार ७४४ जनाको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन्। कोरोना भाइरसविरुद्ध खोप अभियान र जनचेतनामूलक अभियान तीव्ररूपमा चलाइएकाले महामारीको प्रभाव कम हुँदै गएको बताइएको छ। मङ्गोलियाका चार लाख ४५ हजार ९०० भन्दा बढीलाई अतिरिक्त खोप लगाइएको छ। स्वास्थ्य मन्त्रालयले अहिले पनि भिडभाड नगर्न, मास्क प्रयोग गर्न, सेनिटाइजर लगाउन आह्वान गरिरहेको छ।
बीस महिनापछि अमेरिकी सीमा खुला हुँदै
वाशिंगटन, २२ कात्तिक/एएफपी
कोरोना भाइरसको पूर्ण मात्रा खोप लगाएका विदेशी यात्रुहरूलाई अमेरिकाले सोमवारदेखि आफ्नो सीमा खुला गर्दैछ। बीस महीना लामो आवागमन प्रतिबन्ध अन्त्य गर्दै अमेरिकामा सोमवारदेखि सो निर्णय लागू गर्न लागिएको हो। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड १९ का कारण सन् २०२० को मार्च महीनामा उक्त प्रतिबन्ध लगाएका थिए।
ब्रिटेन र युरोपेली सङ्घका देशहरूसहित ३० भन्दा बढी देश अमेरिकी नियमबाट प्रभावित हुँदा पारिवारिक पुनर्मिलन हुन पाएको थिएन। यस प्रतिबन्धको कारण पर्यटन क्षेत्रमा ठूलो धक्का पुगेको थियो। नयाँ नियमसँगै विमान सेवाहरूले आगन्तुकहरूको आउने जाने क्रम बढ्ने अपेक्षा गरेका छन्। आगन्तुकहरूको खोपको अवस्थालाई निकै सजगतापूर्वक हेरिने अधिकारीहरूले बताएका छन्। युनाइटेड एअरलाइन्सले अमेरिका आउने अन्तर्राष्ट्रिय यात्रु ५० प्रतिशतले बढ्ने अपेक्षा गरेको छ। डेल्टा एअरलाइन्सका प्रमुखले केही यात्रुहरू पालो पर्खेर बस्नुपर्ने अवस्था आउन सक्ने बताएका छन्।
अब यात्रुहरूले उड्नुअगावै पूर्ण मात्रा खोप लगाएको प्रमाणपत्र, यात्राको तीन दिन भित्रको कोभिड नेगिटिभ देखिएको परीक्षण र आफ्ना सम्पर्क विवरणहरू बुझाउनुपर्नेछ। अन्तर्राष्ट्रियरूपमा प्रयोगमा आएका सात मुख्य खोपहरूलाई त्यस क्रममा मान्यता दिइँदै छ। कोभिड फैलनबाट रोक्ने उद्देश्यले सन् २०२० को शुरूतिरै चिनियाँ यात्रुहरूलाई अमेरिका आउन रोकिएको थियो र त्यसपछि अन्य देशका नागरिकहरूमाथि पनि प्रतिबन्ध लगाइएको थियो। रासस