प्रस, परवानीपुर, १६ भदौ/
प्रहरी प्रशासनको सहयोगमा वीरगंजका राजेन्द्र साह तुरहाको घर खाली गराइएको छ । वीरगंज–९ रानीघाटस्थित रेलवे माध्यमिक विद्यालयभन्दा सय मिटर पश्चिममा रहेको १ कट्ठा ६ धुर क्षेत्रफलको भोगचलन गर्दै आएको घर खाली गराइएको हो ।
सोही ठाउँ बस्ने जवाहरप्रसाद कलवारकी पत्नी मधुदेवी कलवारिनले उक्त जग्गा खरीद गरेको र भोगचलनको सवालमा अदालतमा मुद्दा चलिरहेको अवस्थामा अदालतले घर तथा जग्गा खाली गर्ने आदेश गरेको र सोही आदेश अनुसार जग्गा खाली गराइएको वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले जानकारी गराए ।
उक्त जग्गा स्व रूकुम शमशेर जबराको परिवारको भएको र केही वक्र्षअघि उक्त जग्गा कलवारिनले उनको नातेदारबाट खरीद गरेको तर भोगचलन गर्न नसकेकोले अदालतमा गएको बताइन् ।
यता, तुरहाले तीन पुस्तादेखि आफूहरूले उक्त जग्गामा बसोबास गरी गौशाला पनि सञ्चालन गर्दै आएको तथा पुनरावेदनको लागि अदालतमैं मुद्दा चलिरहेको अवस्थामा राजनीतिक दबाबमा घरजग्गा खाली गराएको भन्दै प्रहरी प्रशासनको प्रतिवाद गरेका थिए । तुरहाको परिवारले शुरूमा घर खाली गर्न मानेको थिएन ।
प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । साथै, घरभित्रका सामग्री निकालेर फालेको छ । घर खाली गर्न नमानेपछि प्रहरी र तुरहाको परिवारबीच झडपसमेत भएको थियो ।