नयाँ दिल्ली, १६ भदौ/एएनआई
भारतमा कोरोना भाइरसबाट मङ्गलवार थप ४१ हजार ९६५ जना सङ्क्रमित भएका छन् ।
सोही अवधिमा ४६० जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधवार जानकारी दिएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये अहिलेसम्म चार लाख ३९ हजार २० जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका सङ्क्रमितमध्ये केरलामा मात्रै ३० हजार २०३ जना सङ्क्रमित भएका अधिकारीले जनाएका छन् । सोही अवधिमा केरलामा ११५ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म कुल तीन करोड १९ लाख ९३ हजार ६४४ जना कोरोना भाइरसमुक्त भएका छन् । तीमध्ये ३३ हजार ९६४ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन् । भारतमा कोरोना सङ्क्रमितको कुल सङ्ख्याको ९७.५१ प्रतिशत कोरोना सङ्क्रमणबाट निको भएका छन्।
भारतमा अहिलेसम्म कुल सङ्क्रमित तीन करोड २७ लाख ६८ हजार ८८० जना पुगेका मन्त्रालयले बुधवार जनाएको छ । कुल सङ्क्रमितमध्ये तीन लाख ७८ हजार १८१ जना अहिले पनि सङ्क्रमित अवस्थामैं रहेका छन् । यो सङ्ख्या कुल सङ्क्रमितमध्येको १.१५ प्रतिशत हो ।
भारतमा कोरोना भाइरस शुरू भएदेखि हालसम्म ५२ करोड ३१ लाख ८४ हजार २९३ व्यक्तिलाई कोरोना भाइरसको परीक्षण गरिएको छ । मङ्गलवार एकै दिन १६ लाख छ हजार ७८५ जना कोरोना परीक्षण भएको समाचारमा जनाइएको छ ।
यहाँ गएको जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरू गरिएको थियो । सो समयदेखि हालसम्म ६४ करोड ४१ लाख कोरोनाविरुद्ध खोप लगाइएको समाचारमा जनाइएको छ । गत अगस्तभर मात्र १८ करोड तीन लाख डोज कोरोनाविरुद्ध खोप लगाइएको सरकारी अधिकारीले जानकारी दिएका छन् । रासस