प्रस, सेढवा, २ भदौ/
पर्साको जीराभवानी गाउँपालिकाबाट करीब दुई सय काँवरियाहरू जल भर्न बुधवार बिहान ठोरी प्रस्थान गरेका छन् ।
जीराभवानी गाउँपालिका अन्तर्गतका सेढवा, जीतपुर, सहजानपुर, नौकाटोला, सुपौली, परसवा, महादेवपट्टि, पकडीटोल, भवानीपुर तथा जगरनाथपुर गाउँपालिकाका पिपडाढीका करीब दुई सय काँवरिया ठोरी पुगेको बाबा बटेश्वरनाथ काँवरिया सङ्घका सदस्य राजेश्वर यादवले बताए ।
ठोरी गाउँपालिकामा रहेका सीता गुफा तथा अन्य पर्यटकीय स्थलको अवलोकन गरी बिहीवार बिहान ठुटे खोलाबाट जल भर्ने कार्यक्रम रहेको यादवले बताए ।
जल भरी काँवर बोकेर ठोरीदेखि पैदलयात्रा गरी बाघमोर्चामा बास बस्ने कार्यक्रम रहेको छ ।
साउन महीनाको त्रयोदशीका दिन जीराभवानी मन्दिरमा जल चढाउने परम्परा रहिआएको छ ।
यसअघि नवलपरासीको त्रिवेणीबाट जल भर्ने गरिएको थियो । तर गत वर्षदेखि कोभिडका कारण लकडाउन लाग्दा काँवरियाहरूले स्थानीय खोलाबाट जल चढाउने गरेका छन् ।