- कुमार रुपाखेती
वीरगंज, बिर्तास्थित त्रिजुद्ध हाई स्कूल जति चर्चित छ त्योभन्दा पनि चर्चित छ यसको स्थापनाको कथा–व्यथा। अहिलेको त्रिजुद्ध महावीरप्रसाद रघुवीर राम माध्यमिक विद्यालयको स्थापनाकालदेखि अहिलेसम्मको पूर्व नामहरू यस प्रकार रहेका छन्ः
१) नेपाल गवर्मेन्ट हाई इङ्गलिश स्कूल, वीरगंज
२) त्रिजुद्ध हाई इङ्गलिश स्कूल वीरगंज
३) त्रिजुद्ध हाई स्कूल वीरगंज
४) त्रिजुद्ध बहुउद्देश्यीय विद्यालय
५) त्रिजुद्ध व्यावसायिक माध्यमिक विद्यालय
६) त्रिजुद्ध माध्यमिक विद्यालय
७) त्रिजुद्ध महावीरप्रसाद रघुवीर राम मावि
सातौपटकको स्कूलको नामको पुच्छरमा एकाएक महावीरप्रसाद रघुवीर राम जोडिनुलाई केहीले विवादको विषय पनि बनाएका थिए। त्यसो त महावीर प्रसादका पिताको नाममा वीरगंजमा ठाकुरराम बहुमुखी क्याम्पससमेत सञ्चालनमा छन्। यही कलवार परिवारले नै नेपाल राष्ट्रिय विद्यापीठ श्रीपुरसमेत स्थापना गरेको भनिन्छ तर नेपाल राष्ट्रिय विद्यापीठको पुछारमा यस परिवारको कसैको नाम जोडिएको छैन। त्रिजुद्ध स्कूलको स्थापना वि.सं. १९९४ मा भएको हो। ठाकुररामका नाति, महावीरप्रसादका छोरा गोपालजीको निधन भएकोमा २०७८ वैशाख १३ गतेको प्रतीकमा ठाकुर राम कलेज, त्रिजुद्ध मावि र नेरामावि श्रीपुरका संस्थापक परिवार सदस्य भनी अघिल्लो पृष्ठमा जानकारी पनि थियो। महावीरप्रसाद र रघुवीर रामले यो स्कूल स्थापनार्थ सहयोग गरेको निकै चर्चा रहे पनि यो स्कूलको स्नापनामा हड्डी खियाउँदै जितोड मेहनत गर्ने पात्रको नाम श्री जीवनेश्वर मिश्र हो। मैट्रिक पास गरेपछि भारतको दरभङ्गाबाट जानकी मन्दिर दर्शन गर्न जनकपुर आएका जीवनेश्वर मिश्र पछि यतैको बनेर शिक्षाको दीप जलाएर बसे। मिश्रले जनकपुरको मटिहानीतिर पनि एउटा स्कूल स्थापना गरेपछि उनी वीरगंज आए। अहिले विशाल देखिने त्रिजुद्ध स्कूल क्षेत्रमा सुकुल, चटाइ र बोराले घेरेर यिनले त्यहाँ स्कूल चलाएका थिए। स्कूलले अलि अलि रफ्तार लिन थालेपछि उनले दरभङ्गाबाटै संस्कृत पढाउन सोमनाथ पण्डित र गणित र अङ्ग्रेजीका लागि भगवान् द्विवेदीहरूलाई यहाँ ल्याए। त्रिजुद्ध स्थापना गर्न उनले परसौनीस्थित बेंगा साह माविका स्नापनाकर्ता श्री बेंगा साहसँगसमेत आर्थिक सहयोग ल्याएका थिए। वीरगंजका प्रथम मेयर केशरबहादुर मानन्धर, डा मोहन लाखेहरू जीवनेश्वर मिश्रका शिष्य थिए। जीवनेश्वर मिश्र हिसाब र भूगोलमा पारङ्गत थिए। वीरगंज आएका जुद्ध शम्शेरलाई रिझाएर स्कूलको लागि सहयोग लिने कामसमेत जीवनेश्वर एक्लैले गरेका थिए। त्यतिखेरसम्म उनलाई नेपाली बोल्न पटक्कै आउँथेन। नेपालमा प्रवेशिका परीक्षाको जन्मदातासमेत उनै मिश्र हुन्।
भन्नेहरू त भन्छन् यो स्कूलको नाम पहिले दि जुद्ध हाई स्कूल थियो रे ! तर राजा त्रिभुवनको समेत नाम होस् भनेर जुद्ध शम्शेरले दि जुद्धलाई परिवर्तन गरी त्रिजुद्ध बनाएका थिए। यो स्कूलका लागि जीवनेश्वर मिश्रले रक्सौलबाट समेत चन्दा ल्याउने गर्दथे। दि जुद्ध हाई स्कूल नामाकरण गर्ने पनि जीवनेश्वर थिए भने जुद्धको आदेशमा त्रिजुद्ध नामाकरण गर्ने पनि उनी नै थिए। तर मैट्रिक पास भएकाले स्कूल स्थापना गर्ने जीवनेश्वर यो स्कूलको हेडमास्टर बन्न पाएनन्। उतिखेर पनि हाइस्कूलको हेडमास्टर बन्न बिए पास हुनुपर्दथ्यो।
२०६७ वैशाख १३ गते (२०१० अप्रिल २६) सोमवारको प्रतीकमा चर्चित शिक्षाप्रेमी अनन्तकुमारलाल दासले जीवनेश्वर मिश्रलाई नेपाली माटोमा उज्यालो रोप्ने व्यक्ति भनी सम्मान दर्शाएका थिए। दासका अनुसार शिक्षासेवी डा मोहनप्रसाद लाखेले जीवनेश्वर मिश्रका नाममा एउटा ट्रस्ट स्थापना गरेको पनि उल्लेख गरेका छन्। लेखमार्फत अनन्तकुमारलाल दासले जीवनेश्वरको प्रतिमा स्थापना गर्ने, उनको नाममा शिक्षा क्षेत्रमा स्तरीय पुरस्कार स्थापना गर्ने वा नेपाल राष्ट्रिय विद्यापीठको नाममा उनको नाम जोड्ने कि भन्ने अह्म प्रश्न उठाएको आज १२ वर्ष बितिसक्दा पनि कसैले ध्यान दिएको देखिंदैन। लक्ष्मीपुत्रहरूको बसोवास रहेको वीरगंजमा सधैं सरस्वतीपुत्रहरूको बिजोग हुँदै आएको सर्वविदितै छ। दरभङ्गामा समेत जीवनेश्वर मिश्रले नेपाली विद्यार्थीहरूलाई निश्शुल्क शिक्षा दिने गरेको कुरा उनका छोरा ताराचन्द मिश्रले २०७१ साल पुस १३ गते आइतवारको नेपाल पत्रिकालाई बताएका थिए। ताराचन्द मिश्र नेपालका पुरातत्वविद् मानिन्छन्। ताराचन्द मिश्रले नेपाल पत्रिकालाई बताए अनुसार त्यतिखेर रघुवीर राम रक्सौलका एक व्यापारीको पसलमा मैनेजर (मुन्सी) थिए। उनले सोही मितिको नेपाललाई बताए अनुसार वीरगंजका पशुपति घोष, गोपीकृष्ण श्रेष्ठ, भीमकृष्ण श्रेष्ठ आदिले म्याट्रिकको अन्तिम परीक्षा बिहारको मोतीहारीबाट पास गरेका थिए। किनकि त्यतिखेर एसएलसी बोर्ड स्थापना भएको थिएन। उनीहरू सबै जीवनेश्वरका शिष्य थिए। जीवनेश्वरकै जोडबलमा मोसफसलमा एकमात्र त्रिजुद्ध स्कूलमा एसएलसीको केन्द्र राखिन थालेपछि झापादेखि धनगढीसम्मका परीक्षार्र्थी वीरगंज आउँथे। धन्य थिए जीवनेश्वर मिश्र !
यसरी त्रिजुद्ध स्थापना गर्न, आर्थिक जोहो गर्न, विद्यार्थी खोज्न, दाता खोज्न, स्कूलको स्तरोन्नति गर्न आफ्नो मुलुक त्यागी बिरानो मुलुकमा आएर शिक्षाको ज्योति बाल्ने जीवनेश्वरको स्थान त्रिजुद्धको नालीबेलीमा कतै देखिंदैन। नेपालको त्यति बेलाको समयमा पाठ्यपुस्तकको कमीलाई पनि आफैंले पुस्तकहरू लेखी उनले सघाएका थिए। उनले आफैंले भूगोलको पुस्तक मात्र लेखेनन्, अरुलाई पनि पुस्तक लेख्न लगाएर नेपाली शिक्षा क्ष्Fेत्रलाई गुन लगाएका थिए। शिक्षाका एक अथक योद्धालाई ओझेलमा पार्नुमा धेरैको स्वार्थ रहेको होला। वीरगंजमा शिक्षाको उज्यालो छर्ने श्री जीवनेश्वर मिश्रलाई मेरो कोटी–कोटी प्रणाम !