प्रस, सप्तरी, ७ असोज/
सप्तरीका कोरोना सङ्क्रमित एकजना पुरुषको घरैमा मृत्यु भएको खुलासा भएको छ।
विष्णुपुर गाउँपालिका वडा नं १ का ४९ वर्षीय पुरुषको घरमैं मृत्यु भएको हो। स्वास्थ्य कार्यालय सप्तरीले भने उनको मृत्यु फरक–फरक अस्पतालमा भएको जनाएको छ। मृतकका परिवारका सदस्यले बिरामीको मृत्यु आफ्नै घरमा भएको बताएका छन्।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मत्यु भएको बताएका छन्। कोभिड–१९ बारे सप्तरी जिल्लाको तथ्याङ्क दुरुस्त राख्ने जिम्मेवारी पाएको जिल्ला स्वास्थ्य कार्यालयका मलेरिया निरीक्षक नारायणराउत बरैले भने गोल्डेन अस्पताल विराटनगरमा सङ्क्रमित पुरुषको मृत्यु भएको जानकारी दिएका छन्। एउटै कार्यालयका अधिकारीहरूबाट संवेदनशील विषय कोरोनाबाट मृत्यु हुनेको सम्बन्धमा फरक–फरक जानकारी दिइरहेको बेला मृतकका परिवारजनले भने उक्त कुराहरूलाई नकार्दै घरमैं मृत्यु भएको बताएका हुन्।
नरिवलको रूखबाट लडेर घाइते भएका पुरुषको भदौ २९ गते गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो। उनलाई गोल्डेन अस्पतालले राजविराज वा धरानस्थित आइसोलेशनमा बस्न सुझाव दिएको थियो। उनको परिवारजनले होम आइसोलेशनमा राख्ने बताएपछि घर पठाइएको अस्पतालले जनाएको छ।
घरमैं आइसोलेशनमा राखेको एक सातापछि सङ्क्रमितको मृत्यु भएको हो।
नेपाली सेनाको भीमदल गणको टोलीले मृतकको शव गाउँमैं व्यवस्थापन गरेको मृतकका भतिजा भुपेन्द्रप्रसाद यादवले सञ्चारकर्मीलाई बुधवार बताए। योसमेत कोरोनाबाट सप्तरीमा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ।