प्रस, वीरगंज, २६ पुस/
राष्ट्रिय आविष्कार केन्द्रको टोलीले नारायणी अस्पतालका उपकरणहरू मरम्मत गरी सञ्चालनमा ल्याएको छ ।
वर्षौंदेखि अस्पतालका विभिन्न शाखाहरूमा बिग्रिएर राखिएका उपकरणहरूलाई मरम्मतसम्भार गरी अस्पतालको जिम्मा लगाएको र हाल ती उपकरणहरू सञ्चालनमा रहेको सूचना अधिकृत डा उदयनारायण सिंहले बताए ।
यही पुस ११ गते केन्द्र र अस्पतालबीच बिग्रिएका उपकरणहरू मरम्मत गर्ने विषयमा सम्झौता भएको थियो । केन्द्रले मासिक डेढ लाख रुपैयाँ मरम्मतसम्भारबापत लिने र उपकरणहरूमा आवश्यक सामग्रीहरू अस्पतालले व्यवस्थापन गर्ने सम्झौता भएको र सोही अनुसार केन्द्रले अस्पतालका बिग्रिएका ६० भन्दा बढी उपकरण मरम्मतसम्भार गरेको सूचना अधिकारी डा सिंहले बताए ।
आइसियू, एनआइसियू, अपरेशन थिएटर, रेडियोलोजी, डायलासिस, भेन्टिलेटर, वार्मर, मोनिटरलगायतका शाखाहरूमा रहेका ६० भन्दा बढी उपकरणको मरम्मतसम्भार गरिएको र ती उपकरणहरू सञ्चालनमा रहेको उनले बताए । उनले यी उपकरणहरू कोभिडपछि अनुदान सहयोगमा अस्पताललाई प्राप्त भएको र अधिकतम एक वर्षदेखि बिग्रिएर सञ्चालनमा नरहेको बताए ।
यसका साथै केही उपकरणहरूका पाट्र्सहरू खरीदका लागि केन्द्रले सूची बनाएर दिएको र ती पाट्र्सहरू अस्पतालले खरीद गरेपछि पुनः थप उपकरणहरूको मरम्मतसम्भार गरी सञ्चालनमा ल्याउने उनले बताए ।