बलिराम शुक्ला, बडनिहार, १७ भदौ/
पर्सागढी नगरपालिका–७ रघुनाथपुरमा प्रथम मुखिया कप क्रिकेट प्रतियोगिताको फाइनल खेल सोमवार सम्पन्न भएपछि पुरस्कार वितरणको समयमा डिजे बाजा बन्द गरिएको विषयलाई लिएर दुई टोलबीच झडप भएर आधा दर्जन मानिस घाइते भएका छन् ।

रघुनाथपुर युवा समाजले साउन २६ गतेदेखि आयोजना गरेको प्रथम मुखिया कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा आज वीरगंजको मुर्लीलाई कालिकामाई गापाले पराजित गरेको थियो । जीतपछि कालिकामाई गापा र स्थानीयहरू डिजे बाजामा नाचिरहेका थिए ।

पुरस्कार वितरण गर्ने बेला डिजे बन्द गरिएपछि वडा नं ९ एकटाँगावासीले डिजे खुला गर्नुपर्ने माग गर्दै होहल्ला गरेका थिए । फाइनल खेलको लागि पुरस्कार वितरण समारोह हुँदा डिजे बाजा बन्द गरिएको आयोजकको आग्रहलाई एकटाँगावासीले स्वीकार गरेनन् र डिजे बजाउन हठ गर्दा रघुनाथपुर र एकटाँगा बासिन्दाहरूबीच कुटाकुट भएको थियो । दुवै पक्षले लाठीफाटा चलाए, कुर्सी हानाहान गरे, सो झडपमा आधा दर्जनभन्दा बढी घाइते भए ।

फाइनल खेलमा इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीबाट प्रहरी नायब निरीक्षक अरबिन्द यादवको नेतृत्वमा तीनजना प्रहरी मात्र खटेकाले परिस्थिति नियन्त्रणमा आउन सकेको थिएन । पछि इप्रका, पटेर्वासुगौली र बागेश्वरी सशस्त्र गणबाट थप सुरक्षाकर्मीहरू आएपछि परिस्थिति नियन्त्रणमा आएको थियो । क्रिकेट मैदानमा कुटाकुट भएपछि खेलाडीहरूलाई वडा कार्यालयमा लगेर नगद, शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य श्याम पटेल, वडाध्यक्ष शङ्कर रायभर, बहुदरमाई नपाका पूर्वप्रमुख नितेन्द्र साहले प्रतियोगिताको विजेतालाई नगद रु ६० हजार र उपविजेतालाई रु ३० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । नगरप्रमुख गोकर्ण पाठक भने कुटाकुट शुरू भएपछि कार्यक्रमस्थलबाट बाहिरिएका र वडामा आयोजित पुरस्कार वितरणमा पनि सहभागी भएनन् । प्रतियोगितामा कुल १२ वटा टीम सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here