जिल्ला समन्वय समिति, बाराका प्रमुख नरेन्द्रकुमार साह नेतृत्वको टोलीले बिहीवार पनि नदीखोलाको अनुगमन गरेको छ। आज बालगङ्गा खोलाको उत्खनन रोक्दै नदीजन्य पदार्थ ओसारपोसारमा जिसस प्रमुख साहले रोक लगाएका छन्।
जीतपुरसिमरा उपमहानगरपालिकामा पर्ने पसाहा, बालङ्गा र दुुधौरा खोलाको स्थलगत अनुुगमन गर्दै बालगङ्ग खोलामा भइरहेको नदीजन्य पदार्थको चरम उत्खनन, दोहन भएको ठहर गर्दै प्रमुुख साहले जीतपुुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेललाई तत्काल उत्खनन रोक्न निर्देशन दिएका थिए।
उनले बालगङ्गा खोला ठेक्का साकार गर्ने कलैयाको जय मातादी कन्स्ट्रक्सनलाई हदैसम्मको कानूनी कारबाही गर्नुपर्ने देखिएको बताए। वातावरणीय परीक्षण प्रतिवेदनविपरीत नदीजन्य पदार्थको चरम दुरुपयोग भएको उनले बताए।
त्यसैगरी, अनुुगमनमा रहेका बाराका प्रमुुख जिल्ला अधिकारी शशिधर घिमिरेले पनि बालगङ्गा खोलाको उत्खननले चरम सीमा नाघेको प्रतिक्रिया दिए। उनले प्राकृतिक स्रोतको दोहन हुन नदिन पालिका गम्भीर नदेखिएको बताए।
बालगङ्गा खोलामा जीतपुुरसिमरा उपमहानगरपालिका प्रमुख राजन पौडेल र उपप्रमुख भोलाप्रसाद अधिकारी पनि पुुगेका थिए। उपप्रमुख अधिकारीले पसाहा र दुधौरामा समस्या नरहेको तर बालगङ्गामा भने ठेकेदारले हदै गरेको बताए। ठेकेदारहरूले कति परिमाणमा उत्खनन गरे पालिकाबाट सोको यकीन तथ्याङ्क लिएर यसबारेमा जिसस, बाराले थप कदम अगाडि बढाउने बताइएको छ। खोला उत्खननको अवधि जेठ मसान्तसम्म हुने र त्यसपछि भदौ मसान्तसम्मका लागि उत्खनन बन्द हुने भएकोले ठेकेदारहरूले तोकिएको मापदण्डविपरीत उत्खनन गरी नदीजन्य पदार्थ सञ्चय गर्ने गरेका छन्।