प्रस, परवानीपुर, १६ कात्तिक/

रक्सौलको साटो वीरगंजको श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालय बाटै ‘लुज कार्गो’ कोइला आयात हुन थालेको छ । रक्सौल रेलवे यार्डमा कोइला ह्यान्डलिङमा प्रतिबन्ध लागेसँगै नेपाली आयातकर्ताहरूको रोजाइमा सुक्खा बन्दरगाह भन्सार पर्दै आएको हो । भारत वा तेस्रो मुलुकसँग रेलमार्गबाट जोडिएको भन्सार नाका हो, श्रीसिया सुक्खा बन्दरगाह भन्सार । गत असोज १३ गतेदेखि नेपालको लागि आयात गरिने कोइला रक्सौल रेलवे यार्डमा ह्यान्डलिङमा रोक लागेपछि नेपाली सिमेन्ट उद्योगहरूले सुक्खा बन्दरगाह भन्सार नाकाबाट कोइला आयात गर्न थालेका हुन् । पहिलोपटक गत असार १६ गते झारखण्डबाट नेपालको लतिका कमोडिटीले रेलमार्ग हुँदै कोइला सुक्खा बन्दरगाह भन्सार नाकाबाट भिœयाएको थियो ।

तर भन्सार जाँचपासमा विवाद हँुदा आयातित ३,६५० टन कोइला करीब एक महीना सुक्खा बन्दरगाह भन्सार यार्डमैं थुप्रियो । पछि खरीद मूल्यमा जरिवाना थपेर जाँचपास भयो । त्यसपछि युनाइटेड सिमेन्टको एक र्याक र शिवम् सिमेन्टको दुई र्याक गरी कुल चार र्याक कोइला आएको बुझिएको छ । हाल सुक्खा बन्दरगाहमा नेपाली सिमेन्ट उद्योगहरूको प्रयोजनका लागि कोइला आयात गरिएको छ भने ट्रेडिङ प्रयोजनको लागि पनि कोइला आयात गर्ने व्यवसायीहरूले तयारी गरिरहेका छन् ।

सुक्खा बन्दरगाह भन्सार सञ्चालन गरिरहेको प्रिस्टिन भ्याली ड्राइपोर्टले अहिले पनि कोइलाका केही र्याक सुक्खा बन्दरगाह आउन पाइपलाइनमा रहेको बताएको छ । कम्पनीका सञ्चालन प्रमुख अधिकृत अतुल शर्माका अनुसार नेपाली कोइला आयातकर्ताको लागि सुक्खा बन्दरगाह भन्सार नाका सबैभन्दा उत्तम विकल्प हो । उनले भारतीय सीमावर्ती क्षेत्रमा कोइला ह्यान्डलिङ गरी भारतीय टिपरबाट सडकमार्गबाट भिœयाउनुभन्दा सुक्खा बन्दरगाह भन्सार नाकामा ह्यान्डलिङ गर्दा नेपाली ढुवानी व्यवसायीहरूले काम पाउने जिकिर गरे ।

यता, वीरगंज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष माधव राजपालका अनुसार रेलवे यार्ड रक्सौलमा कोइला ह्यान्डलिङ भई सडकमार्ग हुँदै नेपाल कोइला आइरहेकामा रक्सौलका बासिन्दाले स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै उच्च अदालत पटनामा रिट दिएकामा त्यसमाथि सुनुवाइ गर्दै उच्च अदालतले भारतीय रेलवेको मध्यपूर्वी रेलवे समस्तीपुरलाई रक्सौलमा डस्टी कार्गो ह्यान्डलिङ नगर्न रोक आदेश गरेको थियो । उक्त मुद्दामा अहिले अन्तिम फैसलामा आउन बाँकी छ । तर दिगोरूपमा नेपाली आयातकर्ताहरूको लागि सुक्खा बन्दरगाह भन्सारबाटै कोइला आयात गर्न सुक्खा बन्दरगाह भन्सारको लुज कार्गो यार्डमा पूर्वाधार विकास गर्नुपर्ने आवश्यकता रहेको छ । उपाध्यक्ष राजपालका अनुसार सुक्खा बन्दरगाहको यार्ड साँघुरो भएकोले रेलवे यार्डमा ह्यान्डलिङ हुने परिमाण जति सुक्खा बन्दरगाहमा गर्न सकिंदैन । सुक्खा बन्दरगाहमा अहिले एक र्याक कोइला ह्यान्डलिङ (अनलोडिङ–लोडिङ) गर्न करीब अढाई दिन लाग्छ । तर यार्ड ठूलो भएको भए एक दिनमा लुज कार्गोको यार्ड खाली गराउन सकिन्थ्यो ।

यसै विषयमा सुक्खा बन्दरगाह भन्सारका सूचना अधिकारी एवं भन्सार अधिकृत सुशील शर्माका अनुसार आफूहरूले भन्सार जाँचपासमा सहजीकरण गरिदिएर अहिले भटाभट कोइलाको जाँचपास भएर भित्रिन थालेको छ । उनले व्यवसायीले कोइला नियमित ल्याए अन्य पूर्वाधार विकास र सहजीकरणमा भन्सार कार्यालयले अन्य सरोकारवाला निकायसँग पहल गर्न समन्वय गर्ने जानकारी गराए । हाल सुक्खा बन्दरगाह भन्सारबाट दैनिक ८० देखि १०० टिपर कोइला लोडिङ भएर बाहिर व्यवसायीको गोदाममा गइरहेको उनले बताए ।

हाल भारतबाट खरीद भएको कोइलामा आयातकर्ताको बिलको आधारमा पाँच प्रतिशत भन्सार महसूल, १३ प्रतिशत मूल्य अभिवृद्धि कर लिएर जाँचपास भइरहेको उनले बताए । जाँचपासमा न्यूनतम भारु आठ हजार प्रतिटनको दरमा कोइलाको मूल्याङ्कन भइरहेकोसमेत उनले बताए । पहिलेको भारु १२ हजारको दर हाल संशोधन भएको छ । अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य घटेपछि भन्सार सन्दर्भ मूल्य पुस्तिकामा भन्सार विभागले मूल्य संशोधन गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here