- अनन्तकुमार लाल दास
कुनै पनि समाज वा राष्ट्रमा शिक्षा सामाजिक नियन्त्रण, व्यक्तित्व निर्माण र सामाजिक–आर्थिक प्रगतिको मापदण्ड हुन्छ, सँगसँगै हामी सबैलाई के थाहा छ भने शिक्षा हाम्रो जीवनको लागि अति आवश्यक छ । शिक्षा बेगर मानिस पशु सरह हुन्छ । शिक्षा कुनै पनि समाजको उन्नतिको आधारशिला हो । शिक्षाद्वारा नै योग्य र जागरुक नागरिकको निर्माण हुन्छ । यस्ता नागरिक जसले समाज र राष्ट्रको उत्थान र सुरक्षा गर्न सक्छ । शिक्षाबेगर व्यक्तित्व विकास हुँदैन र व्यक्तित्व विकासबेगर समग्र समाजको उत्थान सम्भव छैन । यस कारण कुनै पनि समाज वा राष्ट्रको चौतर्फी विकासका लागि शिक्षा आवश्यक छ र गुणस्तरीय शिक्षा त्यस बेला प्रदान गर्न सकिन्छ जब शिक्षा प्रणाली गुणस्तरीय हुन्छ ।
पहिले शिक्षा दिने काम गुरुकुलमा हुन्थ्यो, आजको आधुनिक युगमा शिक्षा विद्यालय र क्याम्पसमा शिक्षकहरूले दिन्छन् । पहिले र आजको शिक्षा प्रणालीमा कैयन अन्तर देख्र्न र अनुभव गर्न सकिन्छ । आधुनिक शिक्षाको एउटा पक्ष हेर्दा यो हाम्रो लागि लाभदायक छ भने अर्को पक्ष नियाल्दा वास्तवमा आधुनिक शिक्षाको कारण नै समाज र राष्ट्रमा समस्या देखा पर्ने गरेको छ । तर विडम्बना के छ भने हाम्रो शिक्षा प्रणाली दूषित बन्दै गएको छ । यसले गर्दा नै देश विकासको हरेक पाइलामा बाधा उत्पन्न हुने गरेको छ । एउटा भारतीय कविले बडो राम्रो पङ्क्ति लेखेका छन्–“होता है निर्माण देश का पाकर उत्तम शिक्षा/करें देश के सफल नागरिक निज कर्तव्य समीक्षा/क्या विस्मय यदि घिरी हुई हैं घोर घटाएँ काली/जबकि देश में शिक्षा की दूषित हो गयी प्रणाली ।”
दुई साता अघि माथि उल्लिखित कुरालाई पुष्टि गर्दै ‘प्रश्नको घेरामा सामुदायिक शिक्षा’ शीर्षक अन्तर्गत कान्तिपुरको एउटा लेखमा के लेखिएको थियो भने “यस वर्षको चिकित्सा शिक्षाको प्रवेश परीक्षा र शिक्षक सेवा आयोगको दुई वर्ष पहिलेको अध्यापन अनुमतिपत्रको नतीजाले सामुदायिक मात्र हैन, देशको समग्र शिक्षा नै कमजोर भएको सङ्केत गरेको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले कक्षा १० को विद्यार्थी सिकाइ उपलब्धिको राष्ट्रिय प्रतिवेदन मार्फत समग्र विद्यालय शिक्षा धेरै कमजोर भएको तथ्य सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार विज्ञानमा ६३, अङ्ग्रेजीमा ५१, गणितमा ४६ र नेपालीमा ३७ प्रतिशत विद्यार्थीले कक्षा १० को अन्त्यसम्म सिक्नुपर्ने न्यूनतम विषयवस्तु सिक्न नसकेको उल्लेख छ ।” यसैगरी प्याब्सन नगर समितिको निर्वाचन कार्यक्रममा नगर शिक्षा महाशाखाका प्रमुख अरविन्दलाल कर्णले भर्खरै सकिएको कक्षा ११ को छात्रवृत्ति परीक्षामा बहुसङ्ख्यक विद्यार्थीको प्राप्ताङ्कले महानगरको शिक्षा स्थिति दयनीय रहेको उल्लेख गरेका थिए ।
यहींनिर आधुनिक शिक्षा प्रणाली र गुरुकुल शिक्षा प्रणालीबीचको अन्तर बुझ्नु आवश्यक छ, किनभने यी दुवैबीच धेरै अन्तर छ । गुरुकुल शिक्षा प्रणालीमा शिक्षा हासिल गर्न विद्यार्थीहरू करीब २५ वर्षसम्म गुरुको सानिंध्यमा रहन्थे । गुरु नै उनीहरूका लागि सबैथोक थिए । उनीहरू आफ्नो जीविका चलाउनको लागि भिक्षा माग्थे जसबाट उनीहरूको पालन–पोषण हुन्थ्यो । ठूलो राजाका पुत्र भए पनि उनीहरूबीच कुनै भेदभाव हुन्थेन । सबैलाई धनुष–वाण चलाउनेदेखि महापुरुषहरूको ज्ञान, आफ्नो संस्कृतिको ज्ञानसहित अन्य धेरै प्रकारका ज्ञान दिइन्थ्यो जसबाट विद्यार्थीको भविष्य उज्ज्वल हुन्थ्यो र उनीहरू जीवनमा सुयोग्य नागरिक बन्थे । त्यहीं आधुनिक शिक्षामा गुरु–विद्यार्थीमा धेरै परिवर्तन भएको छ । आज आधुनिक शिक्षा प्रणाली विद्यालय र क्याम्पसमा दिइन्छ । विद्यार्थी ५/६ घण्टा त्यहाँ व्यतीत गरेर घर फर्कन्छन् । घरमा उनीहरू एउटा बेग्लै वातावरणमा बस्छन् । आमाबुवा आफ्नै काममा व्यस्त हुन्छन् र विद्यार्थी मोबाइल, टेलिभिजन वा खेलेर आफ्नो मनोरञ्जन गरिरहन्छन् ।
भन्न के खोजिएको हो भने विद्यार्थीहरू आफ्नो बहुमूल्य समय खेर फालिरहेका हुन्छन् । उनीहरूलाई सही दिशा दिने कोही हुँदैन । आधुनिक शिक्षा प्रणाली फरक प्रणाली हो जहाँ विद्यार्थीहरूलाई बढी मात्रामा मेशिनरी र वैज्ञानिक ज्ञान दिइन्छ, नैतिक ज्ञानमा खासै ध्यान दिइँदैन । वास्तवमा नैतिक शिक्षाले नै मानिसलाई सही अर्थमा मानिस बनाउने काम गर्छ । तर विडम्बना के छ भने आधुनिक शिक्षामा पैसा कसरी कमाउने तथ्यमा बढी ध्यान दिइन्छ, चरित्र निर्माणमा होइन । धेरैजसो शिक्षकहरूले पनि उनीहरूलाई आधुनिक शिक्षा नै प्रदान गर्छन् । आधुनिक शिक्षामा जबसम्म चरित्र निर्माणमा ध्यान दिइँदैन तबसम्म हाम्रो देश ‘समृद्ध नेपाल, सुखी नेपाली’ बन्न सक्दैन ।
आज नेपालको सामाजिक, राजनीतिक र आर्थिक परिदृश्यमा तीव्र गतिले परिवर्तन भइरहेको छ । त्यसलाई हेरेर देशको शिक्षा प्रणालीको पृष्ठभूमि, उद्देश्य, चुनौतीहरू र सङ्कटमाथि गहन अवलोकन गर्नु आवश्यक भइसकेको छ । आज आधुनिक शिक्षा भनेको अङ्ग्रेजी माध्यमले शिक्षा दिनु ठानिन्छ । यस कारण सरकारले पनि सामुदायिक विद्यालयमा अनिवार्य अङ्ग्रेजी शिक्षा लागू गरेको छ । यस शिक्षा प्रणालीले अङ्ग्रेजी पढ्ने वर्गलाई समाजबाट पृथक राख्न महŒवपूर्ण भूमिका निर्वाह गरेको छ । यस प्रणालीले मानिसलाई जीवनमा आफ्नो कामको लागि अयोग्य बनाइरहेको छ । आधुनिक पूँजीवादी अर्थ व्यवस्थामा शिक्षालाई पनि ‘उत्पाद’को दृष्टिले हेरिन थालेको छ जसलाई बाजारबाट खरीद गर्न र बेच्न सकिन्छ । यसबाहेक उदारीकरणको निहुँमा राज्य पनि आफ्नो दायित्वबाट विमुख भएको छ ।
वास्तवमा आधुनिक शिक्षा प्रणालीले गर्दा कैयन समस्या हाम्रो सम्मुख उपस्थित भएको छ । आज शिक्षाको प्रमुख उद्देश्य पैसा कमाउनु भएको छ चाहे त्यो पैसा जसरी पनि आओस् । यसबाट न कुनै शिक्षकलाई मतलब छ, न आमाबुवालाई नै । आज हाम्रो देशमा, यसै कारण भ्रष्टाचारको विकराल समस्या उत्पन्न भएको छ । आधुनिक शिक्षा अन्तर्गत पर्यावरणलाई कसरी सुरक्षित गर्ने, कसरी पर्यावरणलाई प्रदूषित हुनबाट जोगाउने विषय त पढ्छौं तर विद्यार्थीहरूले त्यो घोकेर परीक्षा दिनु आफ्नो कर्तव्य ठान्छन् । न शिक्षक, न विद्यार्थी पर्यावरण जोगाउनेबारे चिन्तन वा प्रयास गर्छन् ।
आधुनिक शिक्षा प्रणालीमा गुरु र शिष्य दुवैमा कर्तव्य पालनको भावना छैन । दुवै आफ्नो अधिकारपछि लागेका छन् जसले गर्दा दुवैबीच कुनै प्रकारको सम्बन्ध छैन । न शिष्यलाई गुरुप्रति श्रद्धा र विश्वास छ, न गुरुलाई शिष्यप्रति स्नेह । गुरु मात्र धनार्जनको लागि शिक्षा दिन्छ भने शिष्य शिक्षालाई किन्न चाहन्छ । यस परिप्रेक्ष्यमा विद्याजस्तो पवित्र वस्तुको आदानप्रदान सम्भव छैन । यसैगरी आधुनिक शिक्षा प्रणाली दातृ निकायको निर्देशानुसार तयार गरिन्छ जसको लक्ष्य सभ्य र योग्य नागरिक निर्माण नभई कर्मचारी वा शासनतन्त्रको पुर्जा तयार गर्नु हो । त्यहीं आज धेरैजसो विद्यार्थीहरू जागीर पाउनको लागि पढिरहेका छन् । पढाइ सकेपछि डिग्रीको बन्डल लिएर जागीरको खोजीमा लाग्छन् । बिस्तारै उनीहरूको विलासिता र पैmशनको आवश्यकता अनन्त हुँदै जान्छ तर उनीहरूसँग जागीर हुँदैन । यस प्रकारको उद्देश्यरहित शिक्षा अँध्यारोमा हाम्फाल्नु जस्तै हो ।
महात्मा गाँधीले भनेका छन्–“सही शिक्षाको अर्थ चरित्र निर्माण हो । यदि शिक्षक चरित्र निर्माणमा ध्यान दिंदैन भने त्यो शिक्षा मात्र पुस्तक ज्ञानसम्म सीमित रहन्छ ।” आधुनिक शिक्षामा नैतिक शिक्षाको ठाउँ नभएकोले चरित्र निर्माण हुँदैन । यसर्थ विद्यार्थीहरू चरित्रहीन हुने सम्भावना बढी हुन्छ । विद्यार्थीहरू दुव्र्यसनका शिकार हुने सम्भावना हुन्छ । मानवीय मूल्यमा ¥हास आउँछ । त्यहीं अर्कोतिर आधुनिक शिक्षा प्रणालीमा विद्यार्थीहरूको समयको दुरुपयोग हुन्छ। विद्यालय र क्याम्पसको पढाइपछि मोबाइलको काल्पनिक दुनियाँमा विचरण गर्नमा खर्च हुन्छ । शिक्षा प्रणालीको यसै दोषको कारण अनुशासनहीनताको समस्या उत्पन्न भइरहेको छ । भनिन्छ–‘खाली दिमाग, शैतानको घर’ हुन्छ । जब विद्यार्थीसँग कुनै काम हुँदैन तब उनीहरू अनुशासन विपरीत काम गर्न थाल्छन् ।
दुर्भाग्यको कुरो के हो भने प्रजातन्त्रको पुनस्र्थापनापछि उच्च शिक्षा र प्राविधिक शिक्षाको स्तरमा वृद्धि भएको छ तर प्राथमिक शिक्षाको आधार कमजोर हुँदै गएको छ । शिक्षाको लक्ष्य राष्ट्रियता, चरित्र निर्माण र मानव संसाधन विकासको ठाउँमा मेशीनीकरण हुन थालेको छ । परिणामस्वरूप ‘ब्रेन ड्रेन’ हुन थाल्यो । देशमा शिक्षा र साक्षरताको नाउँमा लूटखसोट शुरू भयो । यसरी सामाजिक संरचनाबाट वर्तमान शिक्षा प्रणालीको सम्बन्ध, पाठ्यक्रमको विश्लेषण र यसको मूलभूत कमजोरी विश्लेषण नगर्नाले नेपालको वर्तमान शिक्षा प्रणाली सङ्कटको चक्रव्यूहमा जेलिएको छ । हाम्रो वर्तमान शिक्षा प्रणालीले गैरप्राविधिक विद्यार्थीहरूको यस्तो सेना तयार गरिरहेको छ जो अन्ततः आफ्नै परिवार वा समाजमाथि बोझ बन्दै गइरहेको छ । यसर्थ शिक्षालाई राष्ट्र र चरित्र निर्माणसँग जोड्नु आवश्यक छ ।