विमला गुप्ता, वीरगंज, १४ असार/
हिल्याएर लतक्क गलेको खेतका गराहरू, मटका दही जमाएझैं ढपक्क देखिन्छ । खेतको एक किनारमा पुरुषहरू धानको बीउ उखेल्दैछन् भने महिलाहरू असारे गीत गाउँदै रोपाइँ गरिरहेका छन् । बीचबीचमा उनीहरू एकापसमा हाँसीमजाक, ठट्टा, रमाइलो पनि गर्दैछन् । आकाशमा बादललाई हतारो छ । अब बर्सु कि तब बर्सु गर्दैछ । त्यही बादलले किसानलाई शीतलता प्रदान गरेको छ ।
वृद्ध, युवा, किशोर, किशोरी होस् वा बालबालिका हिलोमा खेल्दै रोपाइँमा मस्त छन् । उमेर र क्षमता अनुसार उनीहरू जिम्मेवारी निभाइरहेका छन् । कोरोना महामारी र लकडाउनलाई बिर्साउने खेतमा एउटा छुट्टै माहोल छ ।
औपचारिकता पूरा गर्नेहरूका लागि असार १५ एक दिवस हो । यस दिनलाई धान दिवस वा कृषक दिवसको रूपमा पनि मनाइन्छ तर वास्तविक किसानहरूका लागि भने असार र साउनको महीना पूरै रोपाइँ महोत्सवकै रूपमा रहन्छ । खेती गर्ने किसानको लागि असार, साउन महीना ‘मानो रोपेर मुरी फलाउने महीना’को रूपमा मानिन्छ । खुशीसँगै यी दुई महीना किसानहरूको लागि परीक्षाका महीना पनि हुन् ।
कुनै पनि कारण समयमा रोपाइँ हुन नसके धानबाली सप्रदैन । सिंचाइ, मल, बीउ, औषधि आवश्यक मात्रामा उपलब्ध भए मात्रै धानको बाला राम्ररी झुल्ने हो । त्यसैले किसानहरू असारको बेला हरेक कामकाज स्थगित गरेर भएपनि खेतीपातीमा लागेका हुन्छन् ।
यस वर्ष समयमा नै मनसुन शुरू भएकोले सिंचाइको समस्या छैन । वर्षाले गर्दा रोपाइँमा हर्षित किसानहरूको मन बीउ र मलको अभावले भने दुःखित बनाएको छ । जहाँ उपलब्ध छ, त्यहाँ पनि महँगो मूल्यले समस्या देखिएको छ । किसानका लागि यो नौलो समस्या होइन तर बर्सेनि उनीहरूले भोगिरहेको यो समस्याप्रति तीन तहको सरकार मौन बस्दा “अब हाम्रोलागि कोही छैन” भन्ने भाव किसानको मनमा उत्पन्न हुँदै गएको छ । प्रदेश नं २ को पर्सा, बारालगायत प्रायः सबै जिल्लाको अवस्था उस्तै छ ।
वीरगंज महानगरपालिका–१९ श्रीसियाकी ३५ वर्षीया मेहरू नेसा हतारहतारमा रोपाइँ गर्दैछिन् । कालो बादल लागेकाले पानी परेपछि रोपाइँको काम रोकिन्छ कि भन्ने डरले उनलाई हतारहतार भएको हो । उनी एकल महिला हुन् । पति बितेको आठ वर्ष भयो । चार सन्तानकी आमा उनी खेतीकिसानी गरेरै परिवारको जीविकोपार्जन गर्दै आएकी छन् । उनको भागमा १६ कट्ठा खेत छ । दुईजना छोरा बाहिर काम गर्ने भएपनि लकडाउनले गर्दा उनीहरू खेतको काममा आमालाई सहयोग गर्दैछन् । नेसा र उनीसँगै रोपाइँ गरिरहेका किसानहरूलाई असार १५ र धान दिवस भनेको के हो केही जानकारी छैन । उनीहरूसँग यसबारेमा सोध्दा यो नेताहरूको दिवस हो भन्ने जवाफ दिए ।
नेसा भन्छिन्, “हामी किसानको समस्या बुझ्न कोही आउँदैनन्, उल्टै हाम्रो नाममा आएको पैसामा आफैंले घोटाला गर्छन् । चुनावको बेला मत माग्न आउँदा हामी किसानलाई सबैले राम्रा कुरा सुनाए तर अहिले किसानको समस्या समाधान गर्न कोही अगाडि आउँदैनन् ।” महानगरपालिकाले पनि किसानको लागि कुनै सहुलियत नदिएको उनले गुनासो गरिन् । “धानको बीउ सीमापारि रक्सौल बजारबाट किनेर ल्याएकी हुँ । मल यहाँ पाए पनि छोइसक्नु छैन । महँगो मूल्यमा किन्नुपरेको छ,” नेसाले भनिन् ।
किसानहरूका अनुसार सीमापारिका बजारहरूमा अहिले धानको बीउ भारु ४० मा बिक्री हुँदैछ भने सोही धानको बीउ नेपाली बजारमा दोब्बर मूल्य नेरु एक सयदेखि १ सय २० सम्ममा बिक्री हुँदैछ । युरिया र डिएपी मलमा पनि मनपरी मूल्य रहेको किसानहरूको गुनासो छ । समयमैं रोपाइँ र मल चाहिने भएकाले किसानहरू कोरोनाको कहरमा पनि भारतीय बजारमा जान बाध्य छन् ।
सोही गाउँकी ५० वर्षीया रोशन तारा खातुनले पनि आफ्नो अढाई कट्ठा खेतको लागि चाहिने धानको बीउ सीमापारिबाटै ल्याएकी छन् । नेपालको बजारमा गरीब किसानले दोब्बर मूल्य कहाँबाट तिर्ने भन्दै आफूहरूले मल र बीउ भारतको बजार बाटै ल्याउने गरेको उनले बताइन् ।
भारतीय बजार पनि सहज छैन । रोपाइँको लागि आवश्यक सामग्री लिन भारतीय बजार जाँदा पनि धेरै समस्या सहनुपरेको कृषक नजमा खातुनको गुनासो छ । भारत आवतजावतमा रोक लगाइएको बेला नेपाली बजारमा बीउको मूल्यमा खाद पसलेहरूको मनपरी छ ।
यस वर्ष आफ्नै घरमा धानको बीउ राखेकाले बीउको लागि विन्ध्वासिनीका चन्द्रिका साहलाई सहज भएको छ । बाहिरबाट बीउ किनेर ल्याउने धेरै किसानको बीउ अझै तयारी अवस्थामा नरहेको उनले बताए । साहका अनुसार यस वर्ष समयभन्दा पहिले नै धेरै पानी परेर पनि कतिपय किसानको बीउ खेतमैं गलेको र पुनः बीउ राख्नुपरेको छ । “किसानहरूले बर्सेनि बीउ, मल र खादको कठिनाइ सहिरहँदा पनि कसैले सुनुवाइ गर्दैनन् । हामी किसानको लागि आएको बजेट कता खर्च हुन्छ ?” साहको प्रश्न थियो ।
वर्षमा एकपटक किसानहरूलाई सम्झने दिवस असार १५ नै हो । यस दिन समाचारमाध्यम तथा सामाजिक सञ्जालहरूमा किसानलाई सम्झिने गरिन्छ । तर किसानहरूको समस्या बुझ्ने र समाधान गर्ने प्रयास भने कतैबाट पनि भएको पाइँदैन ।