प्रस, वीरगंज, २७ पुस/
जगरनाथपुर गाउँपालिका–४ मा रहेको राँगाभैंसी बजारका व्यापारीहरूले शनिवार वीरगंजमा पत्रकार सम्मेलन गरेर सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिखमपुरमाथि गम्भीर आरोप लगाए।
नेपाल पत्रकार महासङ्घको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा हासिम सप्लायर्सका सञ्चालक हासिम मियाँले बिओपी प्रमुख एवं सशस्त्र प्रहरी नायब उपरीक्षक रमेश गुरुङले आफूसँग मासिक दुई लाख घूस माग गरेको र नदिएपछि शुक्रवार एक ट्रक पाडा नियन्त्रणमा लिएको आरोप लगाए।
उनले ट्रकमा लोड पाडासम्बन्धी सबै कागजात भएको अवस्थामा नियन्त्रणमा लिएर चालकसमेतलाई भन्सार चलान गरिएकोमा आपत्ति जनाए। व्यापारी मियाँले पर्सा जिल्लाका किसानहरूले पालेका पाडाहरू खरीद गरेर बिक्रीका लागि काठमाडौं लाने क्रममा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर भन्सार चलान गरेको बताए।
उनले सप्रनाउ गुरुङले आफूलाई काम गर्नु अघि भेट्न सूचना गरेको र आफूले भोलिपल्ट भेट्ने योजना बनाएकोमा सोही दिन राति पाडा लोड ट्रक नियन्त्रणमा लिएर चालकसमेतलाई भन्सार चलान गरेको आरोप लगाए। उनले सात वर्षदेखि आफूले सशस्त्र तथा जनपद प्रहरीलाई मिलाएरै पशुहरूको कारोबार गर्दै आएको दाबी पनि गरे।
उनले भने– सशस्त्रका घुमुवाहरूसँग मेरो परिचय छ, उनीहरूमार्फत घूसको कारोबार हुन्थ्यो तर मैले सप्रनाउ गुरुङलाई भने चिनेको छैन र उनै घुमुवाहरूले सप्रनाउ गुरुङ नाम लिएर रकम माग गरेका हुन्। पत्रकार सम्मेलनमा जगरनाथपुर गापाका पूर्वअध्यक्ष एवं एमाले नेता जालिम मियाँ पनि सहभागी थिए।