प्रस, वीरगंज, २१ पुस/
मधेस प्रदेश सरकारका खेलकूद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले आइतवार पत्रकार सम्मेलन गरी आफूलाई केही पत्रकारले नियोजितरूपमा बदनाम गर्ने प्रयास गरिरहेको बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ, पर्साको सभाहलमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री जयसवालले केही पत्रकारले आफूलाई पेशेवर अपराधीको दर्जा दिएर समाचार प्रकाशन गरी मानमर्दन गर्ने प्रयास गरेकाले उनीहरूविरुद्ध न्यायालय जाने बताए ।
मन्त्री जयसवालले सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले आफूसहित १४ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा दिएको मुद्दामा जिल्लाबाट सफाइ पाइसकेको र वीरगंजस्थित उच्च अदालतको अस्थायी इजलासबाट पनि यही पुस १ गते सफाइ पाएको बताए । उनले गापाध्यक्ष यादवले १४ जनाविरुद्ध जाहेरी दिएकामा आफूसहित आठजनाले सफाइ पाइसकेको बताए ।
यसैगरी, आफूसहित सखुवाप्रसौनी गापाका पूर्वअध्यक्ष भाइ प्रदीप जयसवालसहित ४९ जनाविरुद्ध पर्सा राष्ट्रिय निकुञ्जमा चोरी शिकारी गरेको मुद्दामा पनि आफू र भाइले सफाइ पाइसकेको लामो समय भइसक्दा पनि सोही कुरालाई आधार प्रमाण बनाएर केही पत्रकारले आफूविरुद्ध नियोजितरूपमा विषवमन गरिरहेको आरोप लगाए ।
उनले निकुञ्जको मुद्दामा आफू र भाइ संलग्न नरही पोलिएको मात्र बताए । उनले अदालत र निकुञ्जमा आफू आरोपित रहेको तर कसूरवार नठहरिएको बताए । उनले पत्रकार सम्मेलनमा अदालत र निकुञ्जबाट पाएको सफाइको प्रमाण पेश गरेका थिए ।
मन्त्री जयसवालले आफूविरुद्ध समाचार प्रकाशन गर्ने पत्रकार जियालाल साहलाई आफू र आफ्ना मानिसहरूबाट कुनै पनि प्रकारको डर, धाक, धम्की दिने कार्य नभएको दाबी गरे । उनले समाचार लेखेकै आधारमा पत्रकारलाई धम्क्याउने कार्यको आफू पनि विरोधी रहेको बताए । पत्रकार साहले मन्त्री जयसवालविरुद्ध समाचार प्रकाशन गरेपछि उनलाई सामाजिक सञ्जालमार्फत धम्की दिने कार्य भएको भनी नेपाल पत्रकार महासङ्घ पर्सा, मधेस प्रदेश र केन्द्रीय कार्यालयले सो कार्यको विरोधमा विज्ञप्ति प्रकाशन गरेपछि मन्त्री जयसवालले पत्रकार सम्मेलन गरी सफाइ पेश गरेका हुन् ।