प्रस, वीरगंज, १६ भदौ/
मधेस जनजागरण अभियानले मधेसका मुद्दाप्रति मधेसी दलहरू संवेदनशील नभएको आरोप लगाउँदै खबरदारी गरेको छ ।

काठमाडौंस्थित मधेस मिडिया हाउसमा आइतवार अभियानले मधेसको मुद्दाप्रति मधेसी दलहरूको उदासीनता किन भन्ने विषयमा पत्रकार सम्मेलन गरी मधेसी दलहरूलाई खबरदारी गरेको हो ।

पत्रकार सम्मेलनमा अभियानका संयोजक रञ्जीतकुमार झाले मधेसी दलहरूलाई सम्झौताका सबै बुँदालाई तत्काल कार्यान्वयनमा ल्याउन जोडदार माग गरे । उनले सम्झौताका बुँदाहरूमा स्पष्टरूपमा उल्लेख भएका सङ्घीयता, समानुपातिक प्रतिनिधित्व, समावेशीकरण र मधेसी जनताका अधिकारहरूको पूर्ण सुनिश्चितताका लागि मधेसी दलहरूले तुरुन्तै आवश्यक कदम चाल्नुपर्नेमा जोड दिए ।

उनले मधेसवादी दलहरू मधेसको मुद्दाबाट विचलित भई ठूला दलहरूको पुच्छर भएको आरोप लगाए । उनले जसपा माओवादीको पुच्छर, लोसपा काङ्ग्रेसको पुच्छर, जनमत एमालेको पुच्छर बनेर बसेको आरोप लगाए । उनले मधेसवादी दलहरू मधेस आन्दोलनबाट स्थापित भएका तर अहिले परिवार र विदेशीका लागि काम गर्दै आएका र मूल मुद्दा छाड्दै गएको आरोप पनि लगाए । अध्यक्ष झाले २२ जिल्लाको मधेसलाई आठ जिल्लामा खुम्च्याउने काम भएको र अहिले केही दलाल प्रवृतिका मधेसी नेताहरूका कारण सबै नेपाली मधेसीको स्वाभिमान खस्केको बताए ।

पत्रकार सम्मेलनमा अभियानका नेता डा आदर्श नागवंशीले मधेसी जनता मधेसी दलबाट पीडित रहेको बताए । उनले गैरमधेसीबाट पीडित थियौं नै अहिले मधेसीबाटै पीडित हुन परेको दुःखेसो पोखे ।

पत्रकार सम्मेलनमा प्रकाश कट्टारी, पङ्कज देव, भरत सहनीलगायतका वक्ताहरूले मधेसी दलहरू नसुध्रिए उनीहरूविरुद्ध आन्दोलनको विकल्प नहुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here