प्रस, वीरगंज, १२ भदौं/
खानेपानीमन्त्री प्रदीप यादवले नेपाली जनतालाई शुद्ध र स्वच्छ खानेपानी वितरण गर्ने आफ्नो प्रमुख उद्देश्य भएको र यो लक्ष्यलाई हासिल गर्न मन्त्रालयका कर्मचारीहरूले निरन्तर मेहनत गर्नुपर्ने बताएका छन् ।

खानेपानी मन्त्रालयमा बुधवार आयोजित विकास समस्या समाधान समितिको बैठक र आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा कार्यक्रममा बोल्दै मन्त्री यादवले जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउनुपर्ने कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए । उनले भने– शुद्ध खानेपानी जनताको अधिकार हो, र यसलाई सुनिश्चित गर्न हामीबाट कुनै कसर बाँकी नराखौं ।

उनले चुरे दोहन र जलवायु परिवर्तनका कारण पानीका स्रोतहरू सुक्दै गएको र यसले गर्दा देशभर खानेपानीको आपूर्ति व्यवस्थामा चुनौती उत्पन्न भएको बताए । मधेसमा चुरे दोहनका कारण पानीका स्रोतहरू सुक्दै गएका छन्, जसले गर्दा चापाकलहरूमा पानी आउन छाडेको छ । यो समस्या समाधानका लागि देशभरि नै जलस्रोतको अध्ययन गरी आवश्यक कदम चाल्न उनले कर्मचारीहरूलाई निर्देशन दिए ।

बजेट अभावले जनतालाई आवश्यक पर्ने खानेपानी आयोजनाहरूको निर्माणमा अवरोध सिर्जना भइरहेको बताउँदै मन्त्री यादवले अर्थ मन्त्रालयको असहयोगप्रति असन्तुष्टि पनि व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here