प्रस, वीरगंज, २ वैशाख/
वीरगंज महानगरपालिकाले नौ महीनामा ३६ करोड ७६ लाख नौ हजार ३९८ राजस्व सङ्कलन गरेको छ । चालू आवमा महानगरले ७० करोड राजस्व सङ्कलनको लक्ष्य लिएकोमा नौ महीनामा ३६ करोड मात्र राजस्व सङ्कलन भएको छ ।
थप तीन महीनामा महानगरले लिएको राजस्व सङ्कलन लक्ष्य पूरा नहुने सङ्केत देखा परेको छ । आर्थिक मन्दीका कारण महानगरको आन्तरिक राजस्व पनि प्रभावित भएको यो तथ्याङ्कले देखाएको छ । यद्यपि गत वर्षको तुलनामा नौ महीने अवधिमा महानगरले तीन करोड बढी राजस्व सङ्कलन गरेको छ ।
राजस्व महाशाखा प्रमुख मनोज कर्णले गत वर्ष साउनदेखि चैत मसान्तसम्म ३३ करोड ८० लाख ५४ हजार ३६० राजस्व सङ्कलन भएको र चालू आवको सोही अवधिमा ३६ करोड ७६ लाख नौ हजार ३९८ राजस्व सङ्कलन भएको र यो तुलनात्मकरूपमा गत वर्षभन्दा तीन करोड बढी रहेको बताए । उनले चालू आवको तीन महीनामा लक्ष्य पूरा गर्नेगरी राजस्व सङ्कलनको तयारी भएको दाबी गरेका छन् । नौ महीनामा महानगरले सम्पत्ति करबाट १२ करोड ७० लाख ७३ हजार, भूमि/मालपोतबाट ७१ लाख १४ हजार, घरबहालबाट चार करोड ५५ लाख ७५ हजार, बहाल बिटौरी कर १५ लाख ४१ हजार, सवारीसाधन कर २१ लाख ६६ हजार, पूर्वाधार सेवाको उपभोगमा लाग्ने करबाट दुई करोड सात लाख १३ हजार, बाँडफाँटबाट प्राप्त हुने विज्ञापन करबाट ३९ लाख ३४ हजार, अन्य मनोरञ्जन करबाट चार लाख ८४ हजार, व्यवसाय रजिस्टे«शन दस्तुरबाट एक करोड ९५ लाख २३ हजार, अखेटोपहारमा लाग्ने करबाट एक करोड ९४ लाख ६० हजार, सरकारी सम्पत्ति बहालबाट प्राप्त आय तीन करोड २५ लाख ६८ हजार, अन्य स्रोतबाट बाँडफाँट नहुने रोयल्टी ८२ लाख ८० हजार, अन्य सेवा शुल्कबाट २ करोड २० लाख ९३ हजार, प्रशासनिक सेवा शुल्कबाट २३ लाख ४५ हजार, नक्शापास दस्तुर दुई करोड ६६ लाख ८५ हजार, सिफारिस दस्तुर एक करोड ७७ लाख ७९ हजार, व्यक्तिगत घटना दस्तुर २४ लाख २३ हजार, नाता प्रमाणित दस्तुर १७ लाख १५ हजार, प्रशासनिक दण्ड जरिवाना र जफतबाट ४८ लाख ३८ हजार, बेरुजु ६ लाख ९४ हजारसमेत गरी ७६ लाख ९ हजार राजस्व सङ्कलन भएको बताए ।